भित्र्याउन ठिक्क पारेको धान खेतमै डुब्यो
दाङ : वर्षाले दाङमा भित्र्याउन ठिक्क पारेको धानमा क्षति पुगेको छ। तयार भएको धानमा क्षति पुगेपछि किसान चिन्तित छन्। जिल्लाका विभिन्न स्थानमा काटेको धानबालीमा आइतबारदेखि परेकोअविरल वर्षाका कारण ठूलो क्षति पुगेको हो।
किसानले काटेर घरमा भित्र्याउने तयारी अवस्थाको धान अविरल वर्षाका कारण खेतमै डुबानमा परेपछि किसान चिन्तित बनेका हुन्। खेतमा पानी जमेपछि काटेको धान काम नलाग्ने गरी बिग्रिएको र त्यसले ठूलो क्षति पुगेको तुलसीपुर उपमहानगरपालिका किसान स्यामलाल चौधरीले बताए।
काटेको धानबाली बाढीले बगाएको र काटेको धान भित्र्याउन नपाएकोले उनी दुखी थिए।जिल्ला कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी रुद्र पौडेलले काटेको धानबालिमा अबिरल वर्षाका कारण ठूलो क्षति पुगेको बताए। तर, क्षतिको विवरण भने प्राप्त भइ नसकेको उनले भनाइ छ।
जिल्लाका दशवटै पालिकाका कृषि इकाइमा वर्षाले धानबालिमा पुगेको क्षतिको विवरण संकलन गर्न आग्रह गरिएको भए पनि वर्षा जारी रहेका कारण क्षतिको विवरण कतैबाट पनि आइनसकेको सूचना अधिकारी पौडेलले बताए।
यो वर्ष दाङ जिल्लामा कुल ३९ हजार हेक्टरमा धान खेती भएको छ। जिल्लामा धान उत्पादन समेत बढ्ने अनुमान गरिएको थियो। दसैं अगाडिसम्म झन्डै २० प्रतिशत धान काटेको अनुमान भइरहेको केन्द्रका सूचना अधिकारी पौडेलले बताए। ‘अहिले नै रकममा यति नै क्षति भयो भन्न सक्ने अवस्था छैन,’ पौडेलले भने, ‘जिल्लाका सबै पालिकाबाट विवरण संकलन भएपछि हामी क्षतिको विवरण सार्वजनिक गर्ने छौं।’






प्रतिक्रिया दिनुहोस !