छुट्टै जिल्ला बनाउनुपर्ने एजेण्डा लिएर डा. भट्टराई उत्तरी गोरखामा

छुट्टै जिल्ला बनाउनुपर्ने एजेण्डा लिएर डा. भट्टराई उत्तरी गोरखामा

गोरखा : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उत्तरी गोरखाका धार्चे र चुमनुब्री गाउँपालिकालाई समेटेर अलग्गै जिल्ला बनाउनुपर्ने एजेण्डा लिएर उत्तरी गोरखा पुगेका छन्।

संगठन सुदूढीकरण र जनपरिचालनका ‘सुज’अभियानअन्तर्गत उनी अलग्गै जिल्लाको एजेण्डा सुनाउँदै धार्चेका विभिन्न गाउँमा पुगेका हुन्। अलग्गै जिल्ला बनाउन सके उत्तरी गोरखाको विकासमा कायापलट हुनेबारे स्थानीयलाई जगाउँदै उनी बिहीबार धार्चे गाउँपालिकाको केन्द्र माछाखोला पुगेका थिए। शुक्रबार उनी वडा नं. ४ को लाप्राक र शनिबार बारपाकको कार्यक्रममा सरिक हुन पुगेका हुन्।

स्थानीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै डा.भट्टराईले उत्तरी क्षेत्रका दुई वटा गाउँपालिकालाई छुट्टै जिल्ला बनाउनुपर्ने बताएका हुन्। 

भौगोलिक रुपमा विकट रहेको उत्तरी क्षेत्रको विकास र समृद्धिका लागि यी दुई गाउँपालिकालाई छुट्टै जिल्ला बनाउनुपर्ने डा.भट्टराई बताए। ‘गोरखाको उत्तरी भेगलाई एउटा छुट्टै जिल्लाको बनाउने अभियान हामीले चलाउनुपर्छ’, उनले भने, ‘त्यसको निम्ति विशेष क्षेत्र बनाउन सक्ने भनेर संविधानमै उल्लेख गरिएको छ। यो स्वायत्त क्षेत्र विशेष क्षेत्र वा अलग्गै जिल्ला जे गर्दा पनि हुन्छ तर जनताले बुझने भनेको जिल्ला नै हो।’ राज्यको हरेक तहमा पहुँच बढाउन र प्रतिनिधित्वका लागि छुट्टै जिल्ला हुनुपर्ने उनका तर्क छ।

यसअघि माछाखोलामा सम्पन्न कार्यक्रममा जसपाका चुमनुब्री गाउँपालिका अध्यक्ष गणेश कार्की र धार्चे गाउँ पार्टी कमिटीका अध्यक्ष विश्वकुमार गुरुङले यी दुई जिल्लालाई छुट्टै जिल्ला बनाउनु पर्ने माग राखेका थिए। स्वायत्त क्षेत्र, विशेष क्षेत्र वा अगल्लै जिल्ला हुनुपर्ने उनीहरुको जोड थियो।

स्थानीयबासीको मागलाई डाक्टर भट्टराईले नाराको रुपमा अघि बढाउनु पर्ने बताएका हुन्। ‘आफ्नो सत्ता आफ्नो हातमा नआएसम्म यहाँको विकासका निम्ति जति चिच्याएर कराए पनि तपाईंहरुले केही पाउनुहुन्नँ’, उनले भने, ‘जनता समाजवादी पार्टीले त पहिलेदेखि यो संघीयता मिलेको छैन भन्दै आएको छ। यसको निम्ति कांग्रेस, माओवादी, एमाले लगायतको सबै पार्टीहरु एकजुट भएर आउनुपर्छ। उत्तरी गोरखा आर्थिक, सामाजिक र राजनैतिक रुपमा धेरै पछाडि परेकाले यहाँको विकासका निम्ति सबै पार्टी एकजुट भई अर्को जिल्ला बनाउन छुट्टै अभियान नै चलाउनुपर्छ।’ 

त्यसका लागि अगुवा कार्यकर्ताले अग्रसरता लिनुपर्ने उनको भनाइ थियो। ‘हामीले पहिलेदेखि नै पहिचान र अधिकारसहित संघीय पुनसंचरना हुनुपर्ने भनेर माग गर्दै आएका छौं। त्यसैले यसलाई साझा मुद्धा बनाएर अभियान चलाउन हामी सबैले संघर्ष र आन्दोलन गर्‍यौँ भने यो सम्भव छ’, उनले भने। भट्टराईसँगै दुर्गम गाउँ अभियानमा नेतृ हिसिला यमी पनि सहभागी छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.