गठबन्धन चुनावसम्म लम्ब्याउने सहमति भएको छैन : डा.भट्टराई
गोरखा : जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले अहिलेको गठनबन्धनलाई आसन्न चुनावसम्म लम्ब्याउने कुनै सहमति नभएको बताएका छन्। कांग्रेस, माओवादी, नेकपा(एस)का नेताहरुले यो गठनबन्धन चुनावसम्म जाने बताइरहँदा नेता भट्टराईले भने यसबारेमा कुनै सहमति नभएको बताएका हुन्।
संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियानअन्तर्गत १५ दिने कार्यक्रम लिएर गोरखा आएका उनले गठबन्धन भएमा राम्रो हुने तर्क गरेका छन्। ‘सरकारमा रहेको पाँच दलीय गठबन्धन चुनावसम्म लैजाने विषयमा अहिलेसम्म सहमति भएको छैन’, उनले भने, ‘म यता आएपछि एकदुईदिन यता भएको भए मलाई थाहा छैन। तर गठबन्धन भइदिए हुन्थ्यो भन्नेचाहिँ मलाई पनि लागेको छ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानलाई ध्वंश पार्ने ढंगले विध्वंशात्मक दिशातिर लम्किरहेकाले उनलाई रोक्न अन्य पार्टीको तालमेल आवश्यक रहेको उनले बताए। ‘प्रतिगमनको हर्कत रोक्नका लागि पाँचै दल एकमत हुन नसके पनि जो सहमति हुन्छ ती दलहरु गठबन्धन गरेर प्रतिगमन शक्तिलाई टाउको उठाउन दिनु हुन्न’, उनले भने।
अहिले स्थायी किसिमको संयन्त्र बनाएर गठबन्धनलानई अघि बढाउने प्रक्रिया भने अघि बढेको उनले बताए। ‘तर अहिलेसम्म यही गठबन्धन चुनावसम्म जाने भन्ने निर्णय छैन’, उनले भने।
हाल मुलुकमा न्यायपालिकाको विवाद गिजोलिएर गएकाले व्यवस्थापिकाबाट समाधान खोज्नुपर्ने उनको तर्क छ। ‘राज्यलाई अपाङ्ग बनाएर लामो समय राख्नु हुँदैन। कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एक एकअर्काबीच समस्या ग्रस्त हुँदा त्यसलाई समाधान गर्नको निम्ति राजनीतिक दलहरुले समाधानको पहल लिनुपर्छ’, उनले भने, ‘आफै भित्रबाट मात्रै हल भएन भने व्यवस्थापिकाबाट समाधान गर्नुपर्छ, जो न्यायपालिका र कार्यपालिकाभन्दा माथि हुन्छ त्यसले चाँही आवश्यक पहल गर्नुपर्छ।’
‘सुज’ अभियान लिएर कात्तिक २२ गतेदेखि भट्टराई गोरखामा छन्। दुर्गम गाउँमा पैदल हिँडेर र तल्लो भेगमा गाडीमार्फत टोलटोलमा पुगेर उनी जनता भेटघाट गरिरहेका छन्। स्थानीय स्तरको समस्या, जनताको गुनासो सुन्ने, घरघरमा पुगेर सल्लाह लिने गरी अभियान संचालन गरेको डाक्टर भट्टराईले बताए।
गाउँगाउँमा पुग्दा र जनतासँग भेट्दा, राजनीतिक दलप्रति बितृष्ण बढेको, विकास निर्माणको काम स्तरीय नभएको, पूर्वाधारको व्यवस्थित विकास नभएको, अधिकांश मावि तहका विद्यालयमा प्रावि र निमावि मात्रको दरबन्दी रहेको, शिक्षाको गुणस्तर बढ्न नसकेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !