अध्यक्षले लाखौं रकम हिनामिना गरेको आरोप
![अध्यक्षले लाखौं रकम हिनामिना गरेको आरोप](https://annapurnapost.prixacdn.net/media/albums/Mugu_20190610114103_3CKQqrSXX5.jpg)
मुगु : सोरु गाउँपालिकाका अध्यक्ष लोकबहादुर शाहीले गाउँपालिकाको विभिन्न शीर्षकको रकम हिनामिना गरेको आरोप लागेको छ। आइतबार सोरु गााउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा हाल उक्त गाउँपालिकाको शिक्षा अधिकृत विरेन्द्र मल्ल र लेखापाल जेठबहादुर बुढाद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत लाखौं रकम हिनामिना गरेको आरोप लागाइएको हो।
शिक्षा अधिकृत मल्ल र लेखापाल बुढाले विज्ञप्तिमा आफूहरुलाई कार्तिक ३० गते अध्यक्ष शाहीले पत्रकार सम्मेलन गरी गाउँपालिकाको रकम हिनामिना गरेको भनी लगाएको आरोप निराधार र झुटो भएको बताएका छन्।
अध्यक्ष शाहीले गाउँपालिका स्थापनाकालदेखि नै आफ्नो व्यक्तिगत स्वार्थका लागि आफू अनुकुल योजना, कार्यक्रम, भ्रमण खर्च सचिवालय व्यवास्थापन लगाएत शीर्षकमा कार्यालयलाई अनावश्यक आर्थिक भार पर्ने चेक काट्न दवाव दिंदै आएका छन्। अध्यक्षले दिएको निर्देशन नमाने प्रमुख प्रशासकीय तथा लेखापाल लगाएत अन्य कर्मचारीलाई बेलाबेलामा विज्ञप्ति निकालेर बेइज्जत गर्ने गरेको आरोप दुबै जनाले लगाए।
आर्थिक वर्ष ०७६ देखि ०७८ सम्म कर्मचारीलाई राजनितिक दवाव दिंदै विभिन्न शीर्षकमा अध्यक्ष शाहीले बीस लाख आफैंले पेश्की लगेर बेरुजी देखिएका कारण आफ्नो पेश्की रकम बाहिर आउने भएकाले कर्मचारीविरुद्ध विभिन्न आरोप लगाउन बेला-बेलामा पत्रकार सम्मेलन गर्ने गरेका शिक्षा अधिकृत मल्लले बताएका छन्।
उक्त विज्ञप्तिमा आर्थिक वर्ष ०७६/ ७७ मा सोरुकोट बृहत खानेपानी योजनाको रकम उपभोक्ता समितिसँग मिलोमतो गरेर रकम भुक्तानी गरेको, गाउँपालिकाको कुलाहमा रहेको कृषि भवन आफ्नो छोरालाई बिना शर्त होमस्टे तथा होटल सञ्चालन गर्न लगाएको, आब ०७४/०७५ मा सोरु गाउँपालिकाको भौतिक पूर्वाधार सम्बन्धी योजनामा ह्याभी डोजर लगाएर कार्य सम्पन्न कामदारको डोर हाजिर बनाउन लगाएर उपभोक्त समितिबाट आर्थिक लाभ लिन खोज्दा अख्तियार अनुसन्धान आयोगमा उपभोक्ता समितिले मुद्धा खेप्नु परेको छ। सोही गाउँपालिका—६ पुरुमुरुमा खोप केन्द्रको भवन निमार्ण नगरी कुटानी पिसानी मिलको भवनको फोटो खिची ३० लाख भुक्तानी लिएको आरोप अधिकृत मल्ल र लेखापाल बुढाले बताए।
अध्यक्ष शाहीले गाउँपालिकाबाट सवारी साधनको नाममा एक घोडा, तीन मोटर साइकल, एक गाडी, चार ल्यापटप कम्तिमा सात थान सोलार सेट गरी विभिन्न समयमा बुझेको जिन्सी खातामा रेर्कड भएको र सो सामान हालसम्म कहाँ कुन अवस्थामा छ कार्यालयलाई केही खबर नगरी आफ्नो व्यक्तिगत प्रयोजनमा छोरा तथा आफन्तलाई प्रयोग गर्न लगाएको आरोपसमेत लगाएका छन्।
प्रत्येक आवमा ३५ लाखदेखि ५० लाखसम्मको समानीकरण अनुदानबाट कोष निमार्ण गरी आफ्नो व्यक्तिगत स्वार्थको लागि आफ्नो छोराको नाममा रहेको कुलाह ह्याचरी फर्म ब्यवस्थापन मर्मत तथा सम्भार र आफन्त लगाएत आफूले दिनु पर्ने ठाँउमा ऋण तिरे जस्तैगरी बाँडफाड गरेको विज्ञप्तिमा उल्लेख छ।
सचिवालय व्यवस्थापन भनी राजश्व बाडफाँडको रकम विभिन्न बिल भरपाइ बनाइ भुक्तानी लिनुका साथै कोरोनाले देश तथा विश्व नै थलिएको समयमा कोरोना कोषमा आवश्यक रकम नछुटाइ अध्यक्ष शाहीले आफू खुसी भम्रण गर्ने मनसायले ०७७ असार ४ गतेका दिन लकडाउनको बेलामा सोरु गाउँपालिकाबाट ५ लाखमा हेलिकप्टर र्चाटर गरी हेलिकप्टरको भाडाको लागि रु १० लाख, आव ०७८/७९ को समीकरण अनुदान रकम छुट्टाइ भुक्तानी लिएको विज्ञप्तिमा बताएका छन्।
यता गाउँपालिकाका अध्यक्ष लोकबहादुर शाहीले शिक्षा अधिकृत विरेन्द्र मल्ल र लेखापाल जेठबहादुर बुढाले लगाएका सबै आरोप प्रमाण बिनाका भएको बताएका छन्।
'मैले निर्णय गर्ने र कार्यन्वयन गर्ने स्थान हो, भुक्तानी गर्ने र चेक काट्ने तीनै कर्मचारी हुन्। मबाट आर्थिक लेनदेनका कुनै काम हुँदैनन्। भुक्तानी दिने र लिने म नभएकाले कसरी मबाट रकम हिनामिना भयो', उनले भने, ' शिक्षा अधिकृत मल्लले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा-हुँदै पालिकाको लेटर प्याड र छापको दुरुपयोग गरी मेरो विरुद्धमा झुटा कुरा उल्लेख गरेकाले कीर्ते सम्बन्धी अख्तियार अनुसन्धान आयोगमा मुद्धा दर्ता गराइ सकेको छु।'
गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीविरुद्ध शिक्षा अधिकृत बिरेन्द्र मल्ल र लेखापाल जेठबहादुर बुढाले जारी गरेको विज्ञप्ति।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)