व्यवसाय छोडेर अकबरे खेतीमा रमाएका जीतबहादुर

व्यवसाय छोडेर अकबरे खेतीमा रमाएका जीतबहादुर

गोरखा : गोरखाको फुजेलमा अति लाभदायक भनेर चिनिएको अकबरे खुर्सानी (डल्ले खुर्सानी) को व्यवसायिक खेती गर्न सुरु गरिएको छ । गण्डकी गाउँपालिका ४ फुजेलका जीतबहादुर भट्टले ढाबेको एक सय १७ रोपनी जग्गामा अकबरे खुर्सानीको व्यवसायिक खेती सुरु गरेका हुन् । उनी भूपू सैनिक संघका केन्द्रीय उपाध्यक्ष समेत हुन् ।

वर्षौँअघि देश, विदेश बसाइँ सरेका इष्टमित्रको बाँझो जग्गा जोतेर खुर्सानी खेती गरेको भट्टले बताए । आफ्नो १६ रोपनी पुख्र्यौली बारीमा र एकसय एक रोपनी भाडामा लिएको जग्गा थपेर उनले अकबरे खुर्सानी खेती गरेका हुन् ।

‘मैले थाहा पाएअनुसार यति ठूलो क्षेत्रफलमा अकबरे खुर्सानी लगाइएको नेपालको यो सबैभन्दा ठूलो अकबरे खेती हो,' उनले भने, ‘अब यसलाई अकबरे खुर्सानीको पकेट क्षेत्र बनाउने ध्याउन्नमा छु ।’

अकबरे खुर्सानी खेतीको बारेमा धेरै अध्ययन गरेको उनी बताउँछन् । भट्टले विगत दुईवर्षदेखि ३५ लाख रुपैयाँभन्दा धेरै लगानी गरेर खुर्सानी खेती सुरु गरेको जनाएका छन् ।

उत्पादन भने गत भदौदेखि मात्र सुरु भएको उनको भनाइ छ । यसअघि उनले बाख्रा पालन गर्दै आएका थिए । ‘कृषि क्षेत्र अध्ययन भ्रमण गर्न पालुङ जाँदा पूर्व मेचीतिरका किसान साथीहरुले गण्डकी क्षेत्रमा खुर्सानी हुँदैन भनेर अल्लि खसालेर बोले । त्यही इखले मैले अकबरे लगाउने अठोट गरेको हुँ,' उनले भने, ‘पहिलो वर्ष ७५ हजार वटा बिरुवा रोपेँ । २५ हजार जति बिरुवा मर्‍यो ।’

यो वर्ष पनि बेमौसमी वर्षाले उत्पादनमा ह्रास आएको उनको गुनासो छ । ‘बेमौसमी वर्षातले धेरैठूलो नोक्सानी भयो,' उनी भन्छन्, ‘यो बेला ३० लाख रुपैयाँको खुर्सानी बेच्ने लक्ष्य थियो तर जम्मा एक लाख ५० हजारको मात्रै बेचेँ ।’

अहिलेसम्म पाँच क्विन्टल मात्र खुर्सानी बिक्री गरेको उनले बताए । अकबरे खुर्सानीका लागि बजारको भने कुनै समस्या छैन । ‘अहिले प्रतिकिलो दुईसय २५ रुपैयाँमा हारालुछ हुन्छ,' उनले भने, ‘मुग्लिनको थ्री सिस्टर अचार उद्योगको डिमाण्ड पूरा गर्न पनि सकेको छैन । वाईवाई चाउचाउसित पनि सम्पर्क भएको छ तर उनीहरुको डिमाण्ड झन पूरा गर्न सकेको छैन ।’

खुर्सानी खेतीका लागि मात्रै उनले ऋण गरेर ३७ लाख रुपैयाँ खर्च गरेका छन् । ‘वर्षातले नबिगारेको भए पहिलो लटमै खर्च उठ्थ्यो,' उनले भने, ‘तर अहिले व्यवसाय सुरु गर्दा लागेको ऋण तिर्न सक्ने अवस्था छैन । कतैबाट सहयोग भयो भने खुर्सानीको पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना पनि बनाएको छु ।’

यहाँको हावापानीमा अकबरे खुर्सानी राम्रो फल्ने उनले बताए ।  भट्टले नेपाली सेनाको जागिरबाट निवृत्त भएपछि गोरखा नगरपालिका १३ देउराली रामशाह टोलमा दूध (डेरीका सामान) को व्यवसाय सुरु गरेका थिए।

त्यतिबेला टोल विकास संस्था तथा गोरखकाली रबर उद्योग बचाउ समितिको संयोजक रहेर काम पनि गरेका थिए । तर भूकम्पले व्यवसाय लथालिंग बनाएपछि पैत्रिक थलोमा फर्केर बाँझो जग्गाको सदुपयोग गर्न थालेका हुन् ।

२०७४ सालमा गाउँ फर्किएका उनले सुरुमा कालिका कृषि समूहमा आवद्ध भएर बाख्रा र लोकल कुखुरा पालन सुरु गरे । २०७५ सालमा २२ वटा बाख्राबाट व्यवसाय सुरु गरेका उनले एकै पटक ५३ वटा बाख्रा मरेपछि ठूलो क्षति व्यहोर्नु पर्‍यो ।

‘बाख्रापालन व्यवसायमा  क्षति भएपछि खुर्सानीको सम्भावना देखेँ,' उनी भन्छन्, ‘एकपटक रोपेको खुर्सानीको बोटले तीन वर्षसम्म उत्पादन दिने उनी बताउँछन् । वर्षमा दुईदेखि चार पटक टिप्न मिल्छ ।’

उनले स्थानीय छ देखि १० जना महिलाहरुलाई रोजगारी दिएका छन् । बाँझो जग्गा जोतेर व्यवसाय सञ्चालन गरेपनि कृषि क्षेत्रमा लगानी गर्ने वडा, पालिका, प्रदेश, ज्ञान केन्द्र, संघीय सरकार कहिँकतैबाट हौसला नपाएको उनको गुनासो छ ।

‘बाँझोबारी जोत्न दुई वर्षअघि कृषि ज्ञान केन्द्रले केही अनुदान सहयोग गरेको थियो । त्यसपछि सबै ऋण लिएर काम गरेको छु,' उनी भन्छन्, ‘अनुदान दिने कार्यालयहरु राजनीतिक सोर्सफोर्स भएका गैरकिसानलाई कोटाको आधारमा अनुदान दिँदैमा व्यस्त छन् ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.