एमाले सचिवमा ५ गुना बढी आकांक्षी

एमाले सचिवमा ५ गुना बढी आकांक्षी

काठमाडौं : एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सचिव पदका आकांक्षी अत्यधिक देखिएका छन्। नयाँ विधानले सात सचिवको व्यवस्था गरेको छ। आकांक्षी भने पाँच गुना बढी देखिएका छन्। 

नवौं महाधिवेशनबाट पाँच सचिव निर्वाचित भएका थिए। जसमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य छन्। यीमध्ये गुरुङले महासचिव वा उपाध्यक्षमा दाबी गरेका छन्। ज्ञवाली महासचिव नभए उपमहासचिव पदका आकांक्षी छन्। विष्ट, भट्टराई, आचार्य सचिवमै दोहोरिने सम्भावना छ। 

भट्टराईले चितवन पुगेर पुनः सचिवमा उम्मेदवार हुने बताएका छन्। उनले माथिल्लो पदमा जान नखोजेको प्रतिक्रिया दिए। ‘लामो यात्रामा हिँड्दा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ। म अहिले चौतारीमा बस्दै छु। सचिव पदमा उठ्ने तयारी गरेको छु’, उनले अन्नपूर्ण पोस्ट्सित भने। अहिले नै माथिल्लो पदमा जान खोज्नु लुडोमा छिटोछिटो माथि चढेर तल झर्ने सम्भावना भएझैं हुने उनले बताए।

उपाध्यक्ष, महासचिव, उपमहासचिवमा धेरै आकांक्षी भएकाले गुरुङ र ज्ञवाली पनि सचिवमै दोहोरिनुपर्ने अवस्था आउने सक्ने नेताहरू बताउँछन्। पाँच जना दोहोरिए दुई जना मात्रै नयाँ आउने सम्भावना छ। विधानले समावेशी हुनुपर्ने भनेका कारण महिला, दलित, जनजाति, मधेसीलगायतलाई समेट्नुपर्ने अवस्था छ।

त्यसका लागि दलितबाट छविलाल विश्वकर्मा, मधेसीबाट रघुवीर महासेठ, महिलाबाट पद्माकुमारी अर्याल, डा. शिवमाया तुम्बाहाङफे, डा. विन्दा पाण्डे, राधा ज्ञवालीमध्ये आउन सक्ने सम्भावना छ। यस्तै, विष्णु रिमाल, खगराज अधिकारी, लालबाबु पण्डित, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहलगायत सचिवका दाबेदार देखिएका छन्। रायमाझी, भट्टले उपाध्यक्ष नभए सचिवको आकांक्षा राखेका छन्। यसका साथै सचिवमा नयाँ अनुहारले पनि दाबी गरेका छन्।  

यस्तै, शेरधन राई, भानुभक्त ढकाल, पार्वत गुरुङ, शेरबहादुर तामाङ, कर्ण थापा, गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, मणि थापा, राजेन्द्रप्रसाद गौतम, ठाकुर गैरे, यज्ञराज सुनुवार, अरुण नेपाल, डोरमणि पौडेल, यमलाल कँडेल, हिक्मत कार्की, विशाल भट्टराईलगायत पनि सचिव पदका आकांक्षी देखिएका छन्। तर, उम्मेदवारी घोषणा गर्न भने धेरैले अध्यक्ष केपी शर्मा ओलीकै मुख ताकिरहेका छन्। यद्यपि, भित्रभित्रै तयारी भने गरिरहेका नेताहरूको भनाइ छ। 

ओलीनिकट महेश बस्नेतले भने पत्रकार सम्मेलन गरी उम्मेदवार बन्ने घोषणा गरेका छन्। उनले अध्यक्ष ओलीबाट संकेत गर्ने वा आशीर्वाद दिने अवस्था नरहेको स्पष्ट पारे। ‘सबैलाई वस्तुस्थितिको विश्लेषण गरी अगाडि बढ्न सुझाव दिनुभएजस्तो लाग्छ’, उनले भने, ‘मेरो हकमा उहाँको सधैं सदासयता छँदै छ। भोलि त्यस्तो अवस्था आयो भने मैले पक्कै पनि उहाँले शुभेच्छा दिनुहुनेछ।’ 

नेता नेपालले सहमति गर्ने प्रत्यन्त भइरहेको बताए। ‘अधिकतम सहमित गर्ने प्रत्यन्न भइरहेको छ’, नेपालले भने, ‘कोहीले जित्ने हार्ने नहोस्, अन्तिममा पनि सहमति भएन भने हार्दिकतापूर्वक लोकतान्त्रिक प्रणालीबाट नेतृत्व चयन गर्छौं।’ 

नेता सुनुवारले लोकतान्त्रिक विधि होस् वा सर्वसम्मत सबैलाई सँगै लगेर न्याय दिनुपर्ने बताए। एमालेविरुद्ध चौतर्फी घेराबन्दी भएकाले सर्वसम्मत नेतृत्व चयन गर्नु सबैभन्दा राम्रो विकल्प रहेको उनको भनाइ छ। ‘पार्टीप्रति अहिले बाह्य चुनौती र घेराबन्दी छ। यो बेला सुदृढ एकताका लागि सर्वसम्मत नेतृत्व नै आजको जबरजस्त आवश्यकता हो’, उनले भने, ‘तर, सर्वसम्मत सही हुनुपर्छ, सामाजिक बनोटअनुसार नै पार्टी देखिनुपर्छ।’ 

उपाध्यक्षमा को को ? 
एमालेको आसान्न महाधिवेशनमा उपाध्यक्ष पदमा पनि दाबेदार बढ्दै छन्।  विधानमा एक वरिष्ठ उपाध्यक्ष र चार उपाध्यक्षको व्यवस्था छ। वरिष्ठ उपाध्यक्षमा महासचिव ईश्वर पोखरेल प्रबल दाबेदार देखिएका छन््। उनका अतिरिक्त संसदीय दलका उपनेता सुवास नेम्बाङले वरिष्ठ उपाध्यक्षका लड्ने संकेत गरेका छन्। 

वरिष्ठ नभए उपाध्यक्षमा नेम्बाङको सम्भावना प्रबल छ। नवौं महाधिवेशनबाट विद्यादेवी भण्डारी, वामदेव गौतम, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली उपाध्यक्ष निर्वाचित भएका थिए। जसमा गौतम एमालेबाट टाढा छन्। रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। शाक्य र ज्ञवाली उपाध्यक्ष दोहोरिन चाहन्छन्। महिला एक मात्र भएकाले शाक्यको सम्भावना प्रबल छ। ज्ञवालीको पनि व्यवस्थापन गर्नुपर्ने चुनौती छ। उनलाई अनुशासन आयोग वा अन्य कुनै स्थानमा व्यवस्थापन गर्न खोजेको जनाइएको छ। 

महाधिवेशन आयोजक समितिका संयोजक रामबहादुर थापा पनि उपाध्यक्ष पदमा प्रबल दाबेदार हुन्। स्थायी समिति सदस्य रघुजी पन्त, गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङ र प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले पनि उपाध्यक्षमा दाबी गरेका छन्। सचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे महासचिव नभए उपाध्यक्षमा आकांक्षी देखिएका छन्। नवौं महाधिवेशनमा उपाध्यक्षमा पराजित लालबाबु पण्डितले पनि उपाध्यक्ष वा पदाधिकारीमा दाबी गरेका छन्। टोपबहादुर रायमाझी र लेखराज भट्टले उपाध्यक्ष इच्छा देखाएका छन्।   

पुराना नेता घिमिरेले समकालीन नेता र कार्यकर्तासँगको सल्लाहमा उपाध्यक्षमा दाबी प्रस्तुत गरेको बताए। ‘२७ वर्षदेखि निरन्तर पार्टीको केन्द्रीय सदस्य छु। विगतमा समकालीन साथीहरूलाई पदाधिकारीमा सहयोग गरेँ’, उनले भने, ‘अब मलाई सहयोग गर्नुहुन्छ भन्नेमा विश्वस्त छु।’ 

उनी चौथो महाधिवेशनबाट प्रतिनिधि र पाँचौं महाधिवेशनदेखि निरन्तर केन्द्रीय सदस्य छन्। माओवादीसँग पार्टी एकीकरण भई नेकपा बनेपछि उनले प्रदेश १ अध्यक्षको जिम्मेवारी पाएका थिए। उनी मेची अञ्चल इन्चार्ज भएका बेला २०५१ सालमा मेचीका सबै निर्वाचन क्षेत्रबाट एमालेले चुनाव जितेको थियो।  ‘पार्टीले हालसम्म दिएका सबै जिम्मेवारी मैले सफलतापूर्वक निभाएको छु। उमेर, पार्टीमा गरेको लगानी, निष्ठा, इमान्दारिता र क्षमताको हिसाबले अब पदाधिकारीमा बसेर काम गर्नुपर्छ भनेर उपाध्यक्षमा दावेदारी प्रस्तुत गरेको हुँ,’ उनले भने। एमालेले दसौं महाधिवेशनलाई सहमतिको महाधिवेशन बनाउने भनिरहेको समयमा आफ्नो उम्मेदवारीले सहमतिको वातावरण बनाउन सहज हुने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.