कांग्रेस दैलेखको सभापतिमा मणिराम रेग्मी निर्वाचित
दैलेख : नेपाली कांग्रेस जिल्ला कार्य समिति दैलेखको सभापतिमा मणिराम रेग्मी निर्वाचित भएका छन्। रेग्मी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका पक्षधर हुन्।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत भएको जिल्ला अधिवेशनमा जिल्ला कार्य समिति चयनका लागि संस्थापन समुह (कांग्रेस सभापति शेरबहादुर देउवा पक्ष) र संस्थापनइतर (कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष) चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। सभापतिमा संस्थापन समुहबाट कांग्रेस दैलेखका युवा नेता घनश्याम भण्डारी र संस्थापन इतरका मणिराम रेग्मी चुनावी मैदानमा थिए।
जिल्ला कार्य समिति चयनका लागि शनिबार मतदान भएको थियो। शनिबार साँझदेखि नै सुरु भएको मत गणनाको अन्तिम परिणाम आइतबार साँझ सार्वजनिक भएको हो। सार्वजनिक मत परिणाम अनुसार कुल सदर मत एक हजार पाँच सय ४५ मध्ये सभापतिमा निर्वाचित मणिराम रेग्मीले ७ सय ९१ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी संस्थापन समुहका घनश्याम भण्डारीले ७ सय ५४ मत प्राप्त गरेका छन्। रेग्मीले भण्डारीलाई ३७ मतान्तरले पराजित गर्दै सभापतिमा विजयी भएका हुन्।
कांग्रेस जिल्ला कार्य समिति दैलेखको उप–सभापतिमा पौडेल पक्षधरका नवराज शाही र रीताकुमारी शाही निर्वाचित भएका छन्। उनीहरुले क्रमशः ७ सय ४१ र ७ सय ५८ मत प्राप्त गरे। सचिवमा पनि पौडेल पक्षधरकै खेमराज ओली र नारायणप्रसाद रेग्मी निर्वाचित भएका छन्। जिल्लाको गुराँस गाउँपालिकाका अध्यक्ष समेत रहेका ओली र चामुण्डाविन्द्रासैनी नगरपालिका–५ का वडाध्यक्षसमेत रहेका रेग्मीले समान ७ सय ७६ मत प्राप्त गरेका छन्।
त्यसैगरी सह–सचिवमा पनि पौडेल पक्षधरका कनकबहादुर सेन ठकुरी र महेन्द्रबहादुर शाही (चट्टान) निर्वाचित भएका छन्। सहसचिवमा निर्वाचित ठकुरीले ७ सय ५३ मत प्राप्त गरे भने शाहीले ७ सय १० मत प्राप्त गरे।
प्रदेश महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पनि पौडेल पक्षधरकै उम्मेदवार विजयी भएका छन्। प्रदेश महाधिवेशन प्रतिनिधिमा ७ सय ७३ मतसहित बिमलविक्रम शाही निर्वाचित भए। उनका निकटतम् प्रतिस्पर्धी रामप्रसाद रिजालले ६ सय ८६ मत प्राप्त गरे। यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ७ सय ७६ मतसहित नरबहादुर खड्का निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी रणबहादुर कार्कीले ६ सय ७६ मत प्राप्त गरेका छन्। निर्वाचन समितिका अनुसार जिल्ला कार्य समिति सदस्यहरुको मत गणना जारी छ।
प्रतिक्रिया दिनुहोस !