जनगणनामा समेटिए लोपोन्मुख राउटे

जनगणनामा समेटिए लोपोन्मुख राउटे

दैलेख : २०७५ असार ३० गते दैलेखको गुराँस गाउँपालिकाबाट पहिलोपटक परिचयपत्र प्राप्त गरेका राउटेहरूको जनगणना गरिएको छ। बाह्रौँ राष्ट्रिय जनगणना–२०७८ अन्तरगत राउटे नागरिकको गणना गरिएको हो। 

कर्णालीको दैलेख, सुर्खेत, सल्यान लगाएतका जिल्लामा फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख जाति राउटे समुदाय बसोबास गरिरहेको बस्तीमै पुगेर पहिलोपटक जनगणना गरिएको सल्यानका जिल्ला जनगणना अधिकारी धर्मराज ढकालले बताए। 

सल्यानको बनगाड कुपिन्डे नगरपालिका–२ स्थित काँडागाउँ क्षेत्रमा उनीहरु बसोबास गरिरहेको स्थानमै पुगेर गणना गरिएको ढकालले बताए। प्रारम्भिक गणनामा राउटेको जनसंख्या १ सय ४६ पुगेको उनले बताए। गणक टोलीले दुई दिन लगाएर राउटेको गणना गरेको थियो। उनीहरु पाँच दिनअघि सुर्खेतको सिम्ता गाउँपालिका–४ भेरी किनारमा बसाइ सरिसकेका छन्।

‘राउटे नागरिकको गणनाका क्रममा हामीले सोचेजत्तिकै असहज भएन, उनीहरुले आफ्नो विवरण खुलाउँदैनन् कि भन्ने डर थियो तर दैलेखको सोसेक नेपालले सञ्चालन गरेको राउटे परियोजनाबाट सहजीकरण भएपछि जनगणना गर्न सहज भयो’, ढकालले भने। राउटे समुदायमा कार्यरत परियोजनाका कर्मचारीले सहजीकरण गरेपछि सहज भएको ढकालले बताए। 

सोसेक नेपालले राउटे बालबालिकालाई पढाउन परियोजनामार्फत लालबहादुर खत्री र दुर्गा खत्रीलाई ‘जोडी शिक्षक’नियुक्ती गरेर खटाइरहेको छ। परियोजनाले एक जना स्वास्थ्यकर्मी (अहेव) समेत राउटे बस्तीमा खटाएको छ। 

शिक्षक लालबहादुर खत्रीका अनुसार यसपालिको जनगणनामा राउटे नागरिकहरुले नाम, उमेर सबै खुलाएर विवरण दिएका छन्। ‘गणकहरू बस्तीमा आउनुभएको थियो, हामीले राउटेको सबै घरपरिवारको विवरण उपलब्ध गराउन सहजीकरण गर्‍यौं’, खत्रीले भने।

राउटे जाति मानव सभ्यताको इतिहास बोकेको समुदाय हो। त्यतिमात्र होइन दक्षिण एसियाको एकमात्र अन्तिम भ्रमणशील समुदाय हो। लोपोन्मुख मध्येको पनि अति लोपोन्मुख जाति राउटे कर्णालीमा घुमन्ते जीवनयापन गरिरहेका छन्। आफ्नै मान्यता तथा मौलिकताभित्र रही जीवनयापन गरिरहेका राउटे आधुनिक मानव समाजबाट टाढै छन्। 

उनीहरु जंगल, बन्यजन्तु र प्रकृतिसँग निकट छन्। समुदायभित्र विभेद र वर्ग विभाजन छैन। यो नै राउटेको पहिचान हो। राउटेहरु पैसा छोए पाप लाग्छ भन्ने मान्यता राख्थे। तर, अहिले राउटेका लागि पनि पैसा अनिवार्य जस्तै भइसकेको छ। स्थायी बसोबास लेखपढ र खेतीपाती गर्नुलाई महाशत्रु ठान्छन्। यद्धपि राउटे समुदायका बालबालिका र युवाहरु लेख्न र पढ्न थालेका छन्।  

नेपाल सरकारले राउटे नागरिकलाई २०६३ बाट सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आइरहेको छ। २०७५ असार ३० गते दैलेखको गुराँस गाउँपालिकाबाट परिचय पत्र प्राप्त गरेका राउटे नागरिकलाई कर्णाली प्रदेश सरकारले मासिक २ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिन सुरु गरिसकेको छ। 

सिकार गर्नु, काठका सामान निर्माण गरी खाद्यान्नसँग साट्नु नै राउटेको जीविकोपार्जनको मुख्य स्रोत हो। स्थायी रुपमा एकै ठाउँमा नबस्ने र बस्ती सरिरहने राउटेको अर्को विशेषता हो। धार्मिक, सांस्कृतिक र मौसमअनुसार राउटे एक ठाउँबाट अर्कोठाउँमा बसाइ सरिरहन्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.