गोरखा नगरपालिकाका सतप्रतिशतले लगाए कोरोना खोप
गोरखा : सरकारले निर्धारण गरेको मापदण्डभित्र परेका गोरखा नगरपालिकाका सबैले कोरोना खोप लगाएका छन्। लक्षित सबैले कोरोना विरुद्धको खोप लगाएका गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले जानकारी दिए।
‘यही मंसिर २ गतेभित्र गोरखा नगरपालिकाभित्रका १८ वर्षभन्दा माथिका ३१ हजार जनालाई कोभिड १९ को खोप लगाउने हाम्रो लक्ष्य हो’, रेग्मीले भने, ‘तर हामीले टार्गेटभन्दा धेरै ३४ हजार जनालाई लगायौँ। कोही छुटेका छन् कि भनेर अझै खोजी गरिरहेका छौँ।’ खोज्ने क्रममा मंसिर २ गतेपछि पनि करिब पाँचसय जनाले कोभिडविरुद्धको खोप लगाएको उनले बताए।
जिल्ला सदरमुकामसमेत रहेको गोरखा नगरपालिकामा नगरपालिकाबाहिर तथा जिल्ला बाहिरका समेत बसोबास गर्छन्। गोरखा नगरपालिकामा गत माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो। पहिलो चरणमा अग्रपंत्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई यो खोप लगाइएको थियो।
कोभिडविरुद्धको खोप अभियानलाई सघन रुपमा सञ्चालन गर्न गोरखा नगरपालिकाले घरदैलोमा पुगेर खोप लगाएको थियो। ‘सबै कामभन्दा पहिले त नगरबासीको ज्यान बचाउनु पर्छ भनेर हामीले खोप अभियानलाई सघन रुपमा सञ्चालन गरेका छौँ’, गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले भने, ‘अपांग, असक्त, बूढाबूढी र छुटेका सबैलाई घरघरमा पुगेर खोप लगाइयो। ठूला आयोजना सञ्चालन भएका ठाउँमा पुगेर मिस्त्री, कुल्ली तथा मजदुरहरुलाई खोप लगाएको थियो।’ लक्षितमध्ये ११५ प्रतिशतलाई खोप लगाएको उनले बताए।
गोरखा नगरपालिकामा दोस्रो मात्रा खोप भने १४ हजार जनाले मात्र लगाएका छन्। अब छिट्टै सबैलाई दोस्रो मात्रा लगाउने अभियान पनि सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ।
गण्डकी प्रदेशका ११ जिल्लाका पालिकामध्ये गोरखा नगरपालिकाको स्वास्थ्य शाखा प्रदेशकै उत्कृष्ठ भएको छ। खोपको कभरेज, कोभिड व्यवस्थापन, पिसिआर आदि सूचकको आधारमा गरिएको स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीमा ८५.५३ प्रतिशत अंका ल्याई गोरखा नगरपालिका प्रदेशकै उत्कृष्ठ भएको नगरपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !