बारपाक सडक ‘गफैमात्र’
गोरखा : भूकम्प (२०७२) ले क्षतविक्षत बनाए लगत्तै बारपाक पुगेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘दुई वर्षभित्र बारपाकलाई कालोपत्रे सडकले जोडिनेछ।’ तर, ६ वर्ष बितिसक्दा जोडिन सकेको छैन।
गोरखा बाह्रकिलोदेखि बारपाक ४६ किलोमिटर सडक स्तरोन्नति ६५ प्रतिशत मात्र पूरा भएको योजना प्रमुख पशुपति ज्ञावलीले बताए। सम्पन्न भएको सडक पनि मापदण्डअनुसार नरहेको उनको भनाइ छ। ‘जति सम्पन्न भएको छ, त्यो पनि बायोइञ्जिनियरिङ र सडक सुरक्षाका हिसाबले बेठीक छ’, ज्ञवालीले भने, ‘अहिले सबैतिर कम्तीमा दुई लेनका सडक बनेका छन्। तर, यहाँ त्यो पनि छैन।’ राङरुङदेखि मान्द्रेसम्म उकालोमा ग्रेडिङ, घुम्तीलगायतका इञ्जिनियरिङ नमिलेको उनले बताए। सो सडक स्तरोन्नतिका लागि एघारकिलो–छेपेटार–भालुस्वाँरा– बारपाक सडक योजनाले चारवटा प्याकेज बनाएर ठेक्का लगाएको थियो। जसमध्ये २२ देखि ३० किलोमिटर खण्डमा ७५ प्रतिशत प्रगति भएको इञ्जिनियर सुवास गुरुङले जानकारी दिए। ‘आठमध्ये सुरुको पाँच किलोमिटरमा फस्टकोट र ३० देखि ३६ किलोमिटरमा डबलकोट भएको छ,’ गुरुङले भने।
ठेकेदारको लापरबाहीका कारण कालोपत्रे पूरा हुन नसकेको हो। योजना कार्यालयले पनि ताकेदा नगर्दा बारपाकवासी वर्षामा यातायात सेवाबाट बञ्चित छन्।
सरकारले आँखामा छारो हाल्ने काम गरिरहेको स्थानीय जितबहादुर घलेले सुनाए। ‘भूकम्पबाट बाँचेकाहरूको पीडा भुलाउन कालोपत्रे हुनुपर्ने हाम्रो माग थियो। नेताहरू आउँछन्। आश्वासन मात्रै दिएर जान्छन्,’ घलेले भने।
प्रतिक्रिया दिनुहोस !