लोकभाका गाउँदै, भोट माग्दै
काठमाडौं : कांग्रेसको १४औं महाधिवेशनको तेस्रो दिन। राष्ट्रिय सभागृह अगाडि सकड छेउछाउमा उम्मेदवारका ठूल्ठूला फोटोसहितका ब्यानर राखिएका छन्। तिनै फोटोमध्येका आफूनिटकका एक उम्मेदवारका लागि भोट माग्नमा व्यस्त थिए, अछामका अर्जुनकुमार बटला। उनी सुदूरपश्चिमको देउडा गाएर भोट मागिरहेका थिए। ‘यसले संस्कृति पनि जोगिन्छ। हामीलाई रमाइलो पनि हुन्छ। उम्मेदवारको प्रचारप्रसार पनि राम्रोसँग फैलिएको छ,’ डेउडा गाउँदागाउँदै उनले भने।
कांग्रेस महाधिवेशनमा थरीथरीका परम्परागत भाषा, संस्कृति, लोकबाजा र भाकाले प्रचारप्रसारलाई उल्लासमय बनाएको छ। डेउडा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको संस्कृति झल्काउने विशेष लोकभाका हो। यहाँ पुग्ने जोकोहीलाई पनि डेउडा भाका सुनेर गाउगाउ/नाचौंनाचौं लाग्थ्यो।
बिहानदेखि साँझसम्म चुनावी प्रचारका फरक–फरक दृश्यहरूले प्रचारप्रसार मात्रै नभई नेपालमा हराउँदै गएका संस्कृतिलाई पनि उजागर गर्ने अवसर प्रदान सहभागीहरूको भनाइ थियो। भृकुटीमण्डपमा मौलिक पोसाकमा सजिएकाहरूसँग फोटो खिच्नेहरूको लर्को पनि उस्तै देखिन्थ्यो। कञ्चनपुरका रानाथारू चेलीहरू आफ्नो मौलिक पहिरनमा सजिएर उम्मेदवारको फोटोसहितको बिल्ला भिरेर प्रचारप्रसारमा व्यस्त थिए। उनीहरू घँघरीया, अँगियालगायत गरगहनामा सजिएका थिए। उनीहरूको उक्त परम्परागत पहिरनले सबैलाई लोभ्याइरहेको देखिन्थ्यो। त्यहाँ पुग्नेहरू उनीहरूका कुरा सुन्थे र सँगै उभिएर फोटो खिचेर जान्थे।
त्यस्तै, लक क्याम्पस अगाडि नेवारी समुदायले आफ्नो परम्परागत बाजागाजासहित उमेदवारलाई चिनाइरहेका छन्। कञ्चनपुरका पदम देउवा भन्छन्, ‘पुनारो बाजागाजा, गीतले प्रचारप्रसार प्रभावकारी बनेको छ।’ उमेदवारको मात्रै होइन संस्कृति र संस्कारको पनि प्रचारप्रसार भइरहेको उनले बताए। महाधिवेशनको अवसरलाई जातजातिहरूले आफ्नो कला, संस्कृति, पहिरन आदिलाई प्रदर्शन गर्ने थलोका रूपमा समेत प्रयोग गरेका छन्।