गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु
गोरखा : गोरखाको गण्डकी गाउँपालिका २ ताङ्लिचोकमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। साँधीखोला निवासी २८ वर्षीय टिकाराम थापाको करेन्ट लागेर आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
घरनजिकै रहेको विद्युत मेन लाइनमा तारमा छुन पुग्दा थापाको मृत्यु भएको डिएसपी प्रकाश दाहालले बताए। ‘घ्याप्रिङ गाउँ स्थित ठाकुर गुरुङको घरमा फलामको रेलिङ हाल्न गएका रहेछन्। डण्डी मिलाउँदै गर्दा घर नजिकै रहेको विद्युतको मेन लाइनको तारमा छुन पुगी करेन्ट लागेर गम्भीर घाइते भएछन्’ उनले भने।
थापालाई तत्काल उद्धार गरी गोरखा अस्पताल ल्याइएको थियो। अस्पतालले थापालाई मृत घोषणा गरेको चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। मृतक थापाको शव पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइएको छ।
प्रतिक्रिया दिनुहोस !