चेपाङ संग्रहालय निर्माणको काम तीन वर्षदेखि डीपीसीमै सीमित
गोरखा : सीमान्तकृत चेपाङ समुदायको कला, संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले निर्माण गर्न लागिएको चेपाङ संग्रहालय तीन वर्षदेखि अलपत्र परेको छ। गण्डकी गाउँपालिका- ६ तोमनडाँडामा सुरु गरिएको चेपाङ संग्रहालय डीपीसी गरेपछि अलपत्र बनेको नेपाल चेपाङ, गोरखाका अध्यक्ष भीमलाल चेपाङले जानकारी दिए। संग्रहालय २०७५ सालमा डीपीसी ढलान गरी पिलर उभ्याएर राखिएको छ। छ कोठे संग्रहालय निर्माणको काम आर्थिक अभावले विगत तीन वर्षदेखि अवरुद्ध भएको उनले बताए।
गण्डकी गाउँपालिकाको गाउँसभाले चेपाङ संग्रहालय निर्माणका लागि आर्थिक वर्ष २०७५।०७६ को बजेट तथा कार्यक्रममा पाँच लाख रुपैयाँ विनियोजन गरेको थियो। ‘विनियोजन भएको बजेटले डीपीसी गरियो। अन्य निकायबाट पनि बजेटको जोडजाम गर्ने लक्ष्य थियो तर कतैबाट पनि जुटाउन सकिएन’, अध्यक्ष चेपाङले भने, ‘प्रदेश सांसदलाई पनि बोलाएर देखाएका हौँ। प्रतिनिधिसभाका सांसदलाई पनि बारम्बार अनुरोध गरेका छौँ। त्यसपछि न गाउँपालिकाले बजेट थप गर्यो, न संसदहरुबाट बजेट पाउन सकियो।’ आफ्नो संग्रहालय निर्माण भएको हेर्ने चेपाङ समुदायको रहर डीपीसीमै सीमित भएको उनको भनाइ छ।
तोमनडाँडा माध्यमिक विद्यालयसँगै चेपाङ संघको नाममा ३ रोपनी जग्गा छ। सोही जग्गामा संग्रहालय निर्माण गर्ने संघको योजना छ।
संग्रहालयमा चेपाङ समुदायको साँस्कृतिक पहिचान झल्कने सामग्री राखिने उनको भनाई छ। ‘विश्वभर वर्चश्व जमाएको पश्चिमी संस्कृतिको प्रभाव चेपाङ समुदायमा पनि छ। ‘हिजो आज हाम्रो समुदायको जीवनशैली पनि फेरिएको छ’, संघका अध्यक्ष चेपाङले भने, ‘त्यसैले हाम्रो कला, भेषभुषा जस्ता सांस्कृतिक सम्पदा, हाम्रो जन्मदेखि मृत्यु संस्कारसम्म प्रयोग हुने सामग्रीहरु संग्रहालयमा संरक्षण गरी राख्ने हाम्रो योजना हो।’
चेपाङ समुदायले जीविकोपार्जनका लागि आदि अनादिदेखि प्रयोग गर्दै आएका सामग्रीहरु, भाषा, भेषभुषा लोप भएका स्थानीयबासी बताउँछन्। साँस्कृतिक, सामाजिक र आर्थिक हिसाबले चेपाङ समुदायको अस्तित्व रक्षाका लागि पनि संग्रहालय जरुरी रहेको तोमनडाँडा माविका शिक्षक समेत रहेका स्थानीय बेदबहादुर चेपाङको भनाइ छ। ‘चेपाङहरुको पहिचान झल्कने सबै सामग्री राख्छौं’, उनले भने, ‘चेपाङका भावी पिढीले पनि आफ्नो मौलिक संस्कृतिको बारेमा जान्न पाउनेछन्।’
चेपाङ संघले सो संग्रहालय निर्माण सम्पन्न गर्न ३० लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ।
प्रतिक्रिया दिनुहोस !