११७ रोपनीमा अकबरे खुर्सानी
गोरखा : गण्डकी गाउँपालिका–४ फुजेलमा अकबरे खुर्सानी (डल्ले खुर्सानी)को व्यावसायिक खेती गर्न सुरु गरिएको छ। जितबहादुर भट्टले १ सय १७ रोपनीमा अकबरे लगाएका हुन्।
आफ्नो १६ रोपनी पुख्र्यौली बारी र सय एक रोपनी भाडामा लिएर अकबरे लगाएको उनले बताए। ‘नेपालमा कसैले पनि यति ठूलो क्षेत्रफलमा अकबरे लगाएको छैन,’ भूपू सैनिक संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका भट्टले भने, ‘यो गाउँलाई नै अकबरेकोे पकेट क्षेत्र बनाउने योजना छ।’ धेरै अध्ययनपछि यो व्यवसायमा हात हालेको उनी बताउँछन्। वर्षौंअघि बसाइँ सरेका इष्टमित्रको बाँझो जग्गामा अकबरे फलाएका छन्। 
दुई वर्षअघि ३५ लाख रुपैयाँ लगानी गरेर खेती थालेका हुन्। उत्पादन भने भदौदेखि मात्र सुरु भएको हो। यसअघि बाख्रापालन गर्दै आएका थिए। ‘पालुङमा कृषि क्षेत्र अध्ययन भ्रमण गर्न जाँदा पूर्वका साथीहरूले गण्डकीमा खुर्सानी हुँदैन भनेर अल्ली खसालेर बोले। त्यही ईंखले मैले अकबरे लगाउने अठोट गरें,’ उनले भने, ‘पहिलो वर्ष ७५ हजार वटा बिरुवा रोपेँ। २५ हजार जति बिरुवा मरे। तर निराश भइनँ।’ यो वर्ष पनि उत्पादनमा ह्रास आएको उनको गुनासो छ। ‘बेमौसमी वर्षात्ले ठूलो नोक्सानी भयो’, उनी भन्छन्, ‘यो बेला ३० लाख रुपैयाँको बेच्ने लक्ष्य थियो तर १ लाख ५० हजारको मात्रै बेचेँ।’ उनले हालसम्म पाँच क्विन्टल मात्र खुर्सानी बिक्री गरेका छन्। अकबरेको बजार समस्या छैन। ‘अहिले प्रतिकिलो २ सय २५ रुपैयाँमा हारालुछ छ’, उनले भने ‘मुग्लिनको थ्री सिस्टर अचार उद्योगलाई मागेअनुसार दिन सकेको छैन।’
खुर्सानी खेतीका लागि मात्रै उनले ऋण गरेर ३७ लाख रुपैयाँ खर्च गरेका छन्। ‘वर्षात्ले नबिगारेको भए पहिलो लटमै खर्च उठ्थ्यो’, उनले भने, ‘यसरी नै मौसमले साथ दिएन भने ऋण तिर्न हम्मे हुने भयो।’ यहाँको हावापानीमा अकबरे राम्रो फल्ने उनले बताए। 
नेपाली सेनाको जागिरबाट निवृत्त भएपछि उनले गोरखा–१३ मा डेरी व्यवसाय गरे। त्यतिबेला टोल विकास संस्था तथा गोरखकाली रबर उद्योग बचाउ समितिको संयोजक बने। भूकम्पले व्यवसाय लथालिंग बनाएपछि २०७४ सालमा पैत्रिक थलो फर्किए। कालिका कृषि समूहमा आबद्ध भएर बाख्रा र लोकल कुखुरापालन सुरु गरे। एकै पटक ५३ वटा बाख्रा मरेपछि ठूलो क्षति व्यहोर्नुपर्यो।
‘बाख्रापालनमा क्षति भएपछि खुर्सानीको सम्भावना देखें’, उनी भन्छन्, ‘एकपटक रोपेको खुर्सानीको बोटले तीन वर्षसम्म उत्पादन दिन्छ,’ वर्षमा चार पटकसम्म टिप्न मिल्छ।’ १० जनालाई रोजगारीसमेत दिएका छन्।
कृषि क्षेत्रमा लगानी गर्ने वडा, पालिका, प्रदेश, ज्ञान केन्द्र, संघीय सरकार कतैबाट हौसला नपाएको उनको गुनासो छ। ‘बाँझो बारी जोत्न दुई वर्षअघि कृषि ज्ञान केन्द्रले केही अनुदान दिएको थियो। 
प्रतिक्रिया दिनुहोस !