पक्की पुल हेर्दै झोलुंगे पुलबाट तर्दै

पक्की पुल हेर्दै झोलुंगे पुलबाट तर्दै

गोरखा : पृथ्वीराजमार्गको फिस्लिङ र गण्डकी गाउँपालिका-६ भुम्लिचोक जोड्ने त्रिशुली नदीमाथिको पक्की पुल निर्माण सम्पन्न भएको चार महिना बित्यो, तर अहिलेसम्म सञ्चालनमा आएको छैन। पक्की पुल सञ्चालनमा नआएपछि गोरखातर्फ गाडी तार्न ३० किलोमिटर पर रहेको बेनिघाट पुग्नुपर्ने भएको छ। पैदल यात्रुहरु भनेसँगै रहेको झोलुंगेपुलको बाटो हिड्नु परेको छ। 

गत असोजमा पुल निर्माण सम्पन्न भएको हो तर ठेकेदार कम्पनी सपना कन्स्ट्रक्शनले पुलको मुखमा बाँसका तगरा तेर्स्याएर राखेको छ। कोही अटेरी गरी सो पुलबाट हिँडेमा रोक्न चौकीदारसमेत राखेको छ। ‘यहाँबाट गाडी तार्न नदिनू भनेर मलाई रेखदेख गर्ने जिम्मा लगाएको छ’, चौकीदार तुलबहादुर थापा भन्छन्, ‘राती म निदाएका बेला हिँडाए भने त थाहा हुँदैन तर अरुबेला मैले थाहा पाएसम्म यहाँबाट गाडी वारपार गर्न दिएको छैन।’ 
सो पुल गत असोजमा निर्माण सम्पन्न भएको हो। ‘दशैंअघि नै ढलान भइसकेको हो तर अहिलेसम्म चालु गरिएको छैन,’पुल जीपका बिमल श्रेष्ठले भने, ‘मान्छेहरु पक्की पुल हेर्दै झोलुंगेपुल तर्छन्, कोही जोखिम मोलेर झोलुंगे पुलबाट बाइक तार्छन्।’

पक्की पुल खुल्ला नहुँदा भरियाले फिस्लिङबाट दैनिक उपभोग्य सामग्री बोकेर तार्ने गरेका छन्। ‘पारि पुलजीपसम्म पनि गाडी आउँछ, वारि पुलजीपसम्म पनि गाडी आउँछ तर पुल चालु नहुँदा भरियाले बोकेर झोलुंगेपुलबाट तार्नुपर्छ। यत्तिले गर्दा उपभोक्तालाई प्रतिकिलो दुई रुपैयाँ थप ढुवानी भाडाको भार लागेको छ।’

गण्डकी गाउँपालिकाका किसानले उत्पादन गरेर काठमाडौं कालिमाटी लैजाने तरकारी पनि डोकोमा बोकेर तार्नुपर्ने बाध्यता छ। ‘सिजनमा यहाँ दैनिक २० गाडी तरकारी आउँछ’, अर्का स्थानीय बलराम सुनार भन्छन्, ‘तर सबै तरकारी मान्छेले बोकेर तार्नुपर्ने बाध्यता छ। यो पुल खुलाइदिएको भए तरकारी ढुवानी गर्न पनि सजिलो हुन्थ्यो। सर्वसाधारण किसानलाई दुई रुपैयाँ भनेपनि सुपथ हुन्थ्यो।’ ठेकेदारले अझै खुलाएन भने स्थानीयबासी स्वयंले खुलाउने उनले बताए।

सर्वसाधारणलाई समस्या हुने गरी निर्माण कम्पनीले किन रोकिरहेको हो भन्ने आफूपनि आश्चर्यमा परेको गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर राना बताउँछन्। ‘बनिसकेको पुल किन चालु नगरेको हो, म पनि आश्चर्य चकित भएको छु’, अध्यक्ष रानाले भने, ‘ठेकेदारले अझै पनि खुलाएन भने गाउँपालिकाले खुलाइदिन्छ।’
उक्त पुलबाट गाडी तार्न पाएमा १५ मिनेटमा गण्डकी गाउँपालिकाको केन्द्रसम्म पुग्न सकिन्छ। तर सो पुल नचल्दा सिउरेनीटार, दर्बुङ, दलभञ्ज्याङ हुँदै घण्टौँको बाटो घुमेर कार्यालय आउजाउ गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष रानाको भनाइ छ। पुल नखुल्दा सेवाग्राही, जनप्रतिनिधि, कर्मचारीलाई पालिकाको केन्द्र पुग्न समस्या भएको उनी बताउँछन्। 

निर्माण कम्पनीलाई यसअघि पनि पुल सञ्चालन गरिदिन आग्रह गरेको अध्यक्ष रानाको भनाइ छ। ‘तीन–चार महिना यता काम गर्ने मान्छे नै छैनन्’, उनले भने।

पुल महाशाखा काठमाण्डौंले त्रिशुली नदीमाथि विभिन्न चारवटा पुल निर्माणको ठेक्का लगाएको थियो। उक्त ठेक्का सपना जेभीले लिएको हो। फिस्लिङ पुलको लागत करिब १५ करोड रुपैयाँ छ। कम्पनीका प्रतिनिधि हरि ढकालले नदीमा पानीको बहाब बढेकाले कामदार डराएको बताए। ‘पुल तयार भइसक्यो, फर्मा खोल्न बाँकी छ। नदी माथि झुण्डिएर काम गर्नुपर्छ’, उनले भने, ‘केही दिनभित्र काम सुरु गर्ने योजनामा छौं।’ पुल निर्माण कम्पनीले गण्डकी गाउँपालिका तर्फको पुल जीपमा करिब दुई सय मिटर ग्राबेल गर्ने काम बाँकी छ। 
चार महिनाअघि नै निर्माण सम्पन्न भएर सञ्चालनमा नआएको फिस्लिङ पुलमा चौकीदार।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.