प्रथम रक क्लाइम्बिङको उपाधि दिपेन र पञ्चलाई
गोरखा : तनहुँको विमलनगरस्थित चुनपहरामा आइतबार सम्पन्न पहिलो रक क्लाइम्बिङ प्रतियोगिताको उपाधि पुरुषतर्फ दिपेश गुरुङ र महिलातर्फ पञ्चमाया तामाङले जितेका छन्।
शुक्रबारदेखि आइतबारसम्म सञ्चालन भएको प्रतियोगितामा एकसय जनाको प्रतिस्पर्धा रहेकोमा गुरुङ र तामाङ च्याम्पियन बनेका हुन्।
पुरुषतर्फ सुलभ राई दोस्रो र तेन्जिङ राई तेस्रो भएका छन् भने महिलातर्फ रुषा प्रधान दोस्रो र जापानका खेलाडी सेवा सुजिता तेस्रो भएकी छन्।
विजेता प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५०, २० र १० हजार नगदसहित मेडल र प्रमाणपत्रले सम्मान गरिएको आयोजक गण्डकी अल्पाइन क्लवले जनाएको छ।
पहिलोपटक तनहुँको बन्दीपुर गाउँपालिकाको विमलनगरमा गण्डकी प्रदेशस्तरीय रक क्लाइम्बिङ फेस्टिबलको आयोजना भएको थियो।
फेस्टिवलमा रक क्लाइम्बिङ प्रतियोगिता, रक क्लाइम्बिङ कार्यशाला गोष्ठी र साहासिक खेलबाट पर्यटन प्रवर्द्धन गर्ने बारे छलफल भएको थियो।
नेपालकै उत्कृष्ट मध्येमा पर्ने विमलनगरको चुन पहराको रक क्लाइम्बिङ स्पटलाई अन्तरर्राष्ट्रिय जगतसम्म थप प्रवर्धन गर्न फेस्टिबलले सहयोग गरेको आयोजक गण्डकी अल्पाइन क्लवका अध्यक्ष नरेन शाहीले बताए।
प्रतियोगितामा माउन्टेन गाइड नरेन्द्र शाही, अनुप गुरुङ, सुमन गुरुङ, विनायक जय मल्ल र पिम्वा तेन्जिङ लामा भोटेले निर्णयकको भूमिका निर्वाह गरेका थिए।
प्रतिक्रिया दिनुहोस !