‘कमरेडहरू, मैले आफैंलाई चिरफार गरेको छु’

‘कमरेडहरू, मैले आफैंलाई चिरफार गरेको छु’

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादी आन्दोलन र पार्टी कमजोर हुनुको कारणबारे आफूलाई नै चिरफार गरेको बताएका छन। पार्टीको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा दाहालले ‘आफूले आत्मसमीक्षा र आत्मालोचना’ गर्न लागेको पनि बताए। 

‘शान्ति प्रक्रियामा आएपछि कहाँ–कहाँ चुक्यौं ?,’ महाधिवेशनमा हुने छलफलका एजेन्डाबारे जानकारी दिँदै दाहालले भने, ‘संगठन, विचार र संरचना, रणनीति र कार्यनीतिको क्षेत्रमा भएका कमिकमजोरीबारे मैले राजनीतिक प्रस्तावमा आत्मसमीक्षा गरेको छु।’

जनयुद्धको तयारी र नेतृत्व गर्ने अवसरलाई उनले जीवनको ठूलो उपलब्धिका रूपमा व्याख्या गरे। ‘शान्तिप्रक्रियामा हस्ताक्षर, १२ बुँदे समझदारी, संयुक्त जनआन्दोलन उठाउने र संविधानसभाबाट संविधान बनाउने सबै अवसर मलाई प्राप्त भयो,’ उनले भने, ‘माओवादी आन्दोलन र पार्टी कमजोर देखिनुमा मैले अरूलाई आरोप लगाएर हुँदैन। अध्यक्षका हैसियतले मैभित्र खोज्नुपर्छ भनेर मैले आफूलाई नै ‘चिरफार’ गरेको छु’ उनले थपे।

एमालेसँग विगतमा आफूले पार्टी एकता गरेर कुनै गल्ती नगरेको पनि उनले बताए। पार्टी एकता कायम रहन नसक्नुको कारण खोज्न भने एमाले नेताहरूलाई आग्रह गरे। ‘पार्टी एकता गरेर गल्ती गरेका थिएनौं,’ दाहालले भने, ‘फेरि एकपटक एमालेका साथीहरू आत्मसमीक्षा गरौं, कहाँ थियो त गल्ती ? के कारण हामी दुई ठाउँमा हुन पुग्यौं। के कारणले त्यत्रो ठूलो सपना हामी आफैंले भत्कायौं ? फेरि भन्छु, हामीले गल्ती गरेका थिएनौं।’ देशलाई स्थायित्व र समाजवाद तिर लैजाने उद्देश्य राखेर त्यतिबेला पार्टी एकता गरेको उनले बताए। 

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तागठबन्धन चुनावैसम्म जाने भनी दिएको अभिव्यक्तिप्रति दाहालले खुसी प्रकट गरे। ‘हामीले प्रधानमन्त्रीबाट जे कुरा सुन्न चाहेका थियौं, उहाँले बोलि नै सक्नुभयो,’ दाहालले भने, ‘सजिलै गठबन्धन लामो समयसम्म जान्छ भनेर। तर, पार्टीभित्र उहाँ(देउवा)को विरोध र आलोचना हुन्छ। विरोध पचाउँदा–पचाउँदै उहाँको छाला दरो भइसकेको छ।’

महाधिवेशनबाट आफूलाई ऊर्जा र प्रेरणा प्राप्त भएको भन्दै दाहालले खुसी व्यक्त गरे। पार्टीको महाधिवेशनले देशलाई नै नयाँ दिशा र उत्साह थपेको दाहालले बताए। ‘पर्यावरण विनाश, जलवायु परिवर्तका मुद्दालाई गम्भीर ठानेका छौं, दाहालले भने, ‘हामी हिमालको काखमा छौं।  हिउँ पग्लिरहेको छ। हामी जलवायु परिवर्तनको असर भोग्न थालिसकेका छौं। खाद्यान्नमा परनिर्भरता बढ्यो। के हामै्र कारण यस्तो स्थिति बन्यो त ?’ 

उद्घाटन कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेताहरू नीति, विधि र नियममा नबाधिँदा देश असफल हुँदै गएको बताए। देशमा अन्याय, अत्याचार विद्यमान रहेको भन्दै नेपालले असमानता, विकृति र विसंगति अन्त्य गर्न सबै राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताए। ‘जनताको विश्वास जितेर मात्र राजनीतिक पार्टी अगाडि बढ्न सक्छ,’ नेपालले भने, ‘देशभित्र नागरिकको अधिकार ठूलो हुन्छ।’ ‘जनादेशमा जाऔं भन्नु प्रतिगमन होइन’ एमाले महासचिव शंकर पोखरेलले जनादेशका लागि जनतामा जाऔं भन्नु प्रतिगमन नभएको बताए। ‘जनादेश खण्डित भयो, नयाँ जनादेशका लागि जनतामा जाउँ भन्दा प्रतिगमनको लेन लगाइयो,’ उनले भने। राजनीतिक दलहरूले तन्त्र फेरे पनि युगलाई फेर्न नसकेको उनले बताए। ‘अधिकारको सवालमा सबै पार्टी र नेता मिल्छन् तर राष्ट्र विकास र समृद्धिको बाटोमा कहिल्यै एक हुँदैनन्,’ उनले भने, ‘कहीँ हामी नियन्त्रित अस्थिरताको सिकार त भएनौं ? यो साझा प्रश्न हो।’ समाज परिवर्तन गर्न सकिँदैन भने सत्तागठबन्धनको कुनै तुक नभएको उनले बताए। 

त्यस्तै, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीको महाधिवेशन कर्मकाण्ड पूरा गर्न मात्र नगरिएको बताए। उनले भने, ‘रुपान्तरित क्रान्तिकारी पार्टी निर्माणको महत्त्वपूर्ण अंगका रूपमा सम्पन्न गर्न गइरहेका छौं।’ जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संसद् अवरुद्ध गरेर केही प्राप्त नहुने बताए। उनले भने, ‘संसद् अवरुद्ध गरेर केही प्राप्त हुँदैन। यस्ता हठ त्यागौं, नयाँ ढंगले सोचौं।’  नेकपा माओवादी केन्द्रका नेता मात्रिका यादवले अध्यक्ष दाहालले पार्टीको नेतृत्व छोड्छु भनेर सुख नपाउने बताए। 

क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पूर्वमाओवादीहरू एक हुन केही आधारहरू तयार पार्नुपर्ने धारणा राखे। गजुरेलले जनयुद्ध सुरु गर्नुभन्दा अघिको केन्द्रीय समितिको बैठकमा गरेका प्रतिवद्धतालाई पुनस्र्थापित गर्नुपर्ने, जनयुद्धका लक्ष्य पूरा गर्नुपर्ने र राष्ट्रिय स्वाधिनताका विषयमा केही महत्त्वपूर्ण निर्णय लिनुपर्ने भन्दै एकताका आधार पेस गरे। एमसीसी खारेज गर्नुपर्ने पनि बताए। 

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले अहिले पनि प्रतिगमनको खतरा कायमै रहेको बताइन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाहीले देशलाई बलियो अर्थतन्त्र र राष्ट्रियता भएको देश बनाउन केन्द्रित हुनुपर्ने बताइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.