भारतले अंग्रेज खेदेझैँ हामी बाहुन-क्षेत्रीलाई खेद्न सक्छौँ : एमएनओ

भारतले अंग्रेज खेदेझैँ हामी बाहुन-क्षेत्रीलाई खेद्न सक्छौँ : एमएनओ

गोरखा : मंगोल नेशनल अर्गनाइजेशन(एमएनओ)ले बाहुन-क्षेत्रीलाई शरणार्थीको संज्ञा दिँदै कुनै दिन नेपालबाट खेद्न सक्ने चेतावनी दिएको छ । गोरखा, लम्जुङ, तनहूँ र कास्कीको संयुक्त ३३औ स्थापना दिवस समारोहमा बोल्दै केन्द्रीय सभाका प्रवक्ता दिलिप धिमालले जनै र धोती मात्र लिएर शरणार्थीको रुपमा नेपाल छिरेका बाहुन क्षेत्रीलाई कुनै दिन यो देश छोड् भन्न सक्ने चेतावनी दिएका हुन् । 

‘हिँजो व्यवसाय गर्ने नाममा छिरेर भारत कब्जा गर्ने अंग्रेजहरुलाई भारतीय जनताले खेदेका थिए त्यस्तै गरी भारतबाट जनै र धोती मात्र लिएर नेपाल प्रवेश गरेका बाहुन र क्षेत्रीलाई नेपाल छोड् भन्ने अधिकार हामीसित सुरक्षित छ’, धिमालले भने, ‘हाम्रो अधिकार र हाम्रो अस्तित्व मेटाउँदै गयो भने एक दिन हामी त्यो नारा लगाउँछौँ किनभने यो देश भनेको यहाँका मूलबासी मंगोलहरुको हो ।’

गोरखाको लिगलिगकोटमा घले राजालाई विस्थापितगरी शाहवंश स्थापना भएको इतिहास कोट्याउँदै नेता धिमालले यहीँ जिल्लाबाट बाहुन क्षेत्रीलाई दबाएर मंगोलको जितको अभियान सुरु गर्ने चेतावनी दिए ।  ‘गोरखा जिल्ला भनेको हाम्रो पुर्खाहरुलाई षड्यन्त्रपूर्वक दमन गरेर हत्या गरेको ऐतिहासिक जिल्ला हो । यो जिल्लाबाट नै मूलबासी मंगोलहरुको दुर्दिन सुरु भएको जगजाहेरै छ’, उनले भने, ‘यहीँ गोरखा जिल्लामा घले राजाको टाउको ठुन्काएको इतिहास छ । मूलबासी मंगोललाई दबाएकै भरमा पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता भनेको छ तर हामी उसलाई अराष्ट्रिय तत्व मान्छौ ।

यो देश सबैको साझा फूलबारी हो भन्ने तर बाहुन क्षेत्री मात्र फूलिरहेका छन् । मूलबासी मंगोल कोही किन फूल्न सकेका छैनन् रु किनभने उनीहरुले हामी मूलबासी मंगोललाई बझाएर, जुधाएर सिध्याउन लागेका छन् । हामीलाई आदिवासी, जनजाती भनेर उनीहरु मूलबासी बन्न खोजिरहेका छन् । यस्ता बाहुन क्षेत्रीलाई हामी पूजा गरिरहन सक्दैनौँ । गाली नै गरिरहनेछौँ ।’ 

एमएनओ सत्तामा पुगेपछि जनजाति, आदिवासी खारेज गर्ने उनले बताए । बाहुन क्षेत्रीले मंगोललाई कुकुरभन्दा पनि तल राखेर अपमान गरेको भन्दै उनले यसका विरुद्ध लड्न उनले आग्रह गरे । मंगोल नेशनल अर्गनाइजेशनले चाहेमा लोकतन्त्र खारेज हुने अर्का नेता सोमबहादुर गुरुङले बताए । ‘लोकतन्त्र बाहुन क्षेत्री नेताहरु विपी, जिपी, सिपी, केपी, पिकेले ल्याएको शासन व्यवस्था हुँदै होइन’, केन्द्रीय सभाका अर्थ विभाग प्रमुख गुरुङले भने, ‘ज्यानको बाजी लगाएर लडेर लोकतन्त्र ल्याउने मंगोलहरु नै हो ।

बाहुन क्षेत्रीहरुलाई त आवश्यक परेका बेला ‘हायर’ गरेर ल्याएको मात्र हो । तर उनीहरुले लोकतन्त्रको खिल्ली उडाँए, बदनाम गराए । अब तिनीहरुलाई चुनावी प्रक्रियाद्वारा ‘फायर’ गरिदिनुपर्छ । लोकतन्त्र हामीले ल्याएका हौँ । हामीले चाँहे मात्र लोकतन्त्र खारेज हुन्छ । हामीले नचाँहे खारेज हुँदैन ।’

 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.