क्रिश्चियन धर्म प्रचारको उजुरी परेपछि ३ विद्यालय बन्द
गोरखा : गोरखाको चुमनुब्री गाउँपालिकाका सातवटा वडाहरूमा सेवा दिइरहेको ‘माउन्टेन चाइल्ड’ नामक एक सामाजिक संस्थाले सेवा बन्द गरेको छ। क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा गृह मन्त्रालयमा संस्थाविरुद्ध उजुरी परेपछि ६ महिनादेखि सेवा बन्द गरेको स्थानीयले बताएका छन्।
संस्थाले चुमनुब्री गाउँपालिका–४ मा सञ्चालन गरेको तीनवटा पूर्वप्राथमिक विद्यालय, एउटा गाउँघर क्लिनिक र सुत्केरी तथा घाइतेको हेलिकोप्टरबाट उद्धार गर्ने कार्यक्रम साउनदेखि बन्द भएको स्थानीय नीमा ग्याल्बो लामाले बताइन्।
माउन्टेन चाइल्डको सहयोगमा गप जागरण समाजले गप, क्वाक र छाकमा पूर्वप्राथमिक विद्यालय(ईसीडी) सञ्चालन गरेको थियो। तर, गत साउनदेखि बन्द भयो,’ गप जागरण समाजका कार्यकारी निर्देशक लामाले भने, ‘गपमा गाउँघर क्लिनिक सञ्चालन गरेको थियो। त्यो पनि बन्द भयो। सबैभन्दा बढी सेवा चुमनुब्री गाउँपालिकाभरीका घाइते र सुत्केरी हेलिकोप्टरबाट उद्धार गर्ने (हेलो) कार्यक्रम सञ्चालन गरिरहेको थियो। त्यो पनि बन्द भयो।’
अपरिचित व्यक्तिले संस्थाविरुद्ध झुटो आरोपमा उजुरी दिएको उनको दाबी छ। ‘अध्यक्ष म स्वयं लामा गुरु हुँ। समुदायस्तरमा काम गर्ने माउन्टेन चाइल्ड होइन हाम्रो संस्था हो। उ त केवल दातृ संस्था मात्र हो। हामी कसरी धर्म प्रचार गर्न दिन्छौँ र ? कसैले रिसिइबीले बिल्कुल झूटा उजुरी दिँदा दुर्गमका समुदायले दुःख पाए,’ उनले भने।
आफ्नो वडामा सो संस्थाले धर्म प्रचार हुने खालका कुनै काम नगरेको गाउँका मुख्य लामासमेत रहेका चुमनुब्री–७ छेकम्पारका वडाअध्यक्ष पासाङफुञ्जो लामाले बताए।
‘धर्म प्रचार गरेको उजुरी झुटो हो भन्न समाज कल्याण परिषद्मा हामी सबै वडाअध्यक्षहरू जाने कार्यक्रममा म पनि सहभागी थिएँ,’ लामाले भने, ‘म आफैं मुख्य लामा हो, क्रिश्चियन धर्म प्रचार गरेको त केही पनि थाहा पाएको छैन।’ नखाएको विष लागेको भन्दै माउन्टेन चाइल्डले आफूहरू स्थानीयवासीको आस्था र विश्वास पाए मात्र अघि बढ्ने बताएको छ। ‘धर्म प्रचार गरेको आरोपले हामी स्तब्ध भएका छौं,’ सो संस्थाका कार्यक्रम संयोजक सुशील रञ्जित भने।
प्रतिक्रिया दिनुहोस !