माल पर्खेका कारोबारी परे प्रहरी फन्दामा
राजविराज : बिहीबार मध्यराति पक्राउ परेका व्यक्तिको गोजीको मोबाइल एकाएक बज्यो। मोबाइलमा ‘माल खोइ आइपुगेन त’भनेर सोधियो। यताबाट पक्राउ परेकाले ‘लिएर आउँदैछु, पर्ख भन्यो।’
त्यतिबेलासम्म प्रहरीको नियन्त्रणमा परिसकेका थिए सप्तरीको तिरहुत गाउँपालिका–५ का २७ वर्षीय राजकुमार मेहता र १९ वर्षीय सिन्दु सदा। छिन्नमस्ता गाउँपालिका–१ बरहीस्थित पूर्व–पश्चिम कोशी केनाल पम्प नहरको बाटोमा उनीहरू सवार को.२३ प २७७३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा नै मेहता र सदा ठूलो परिमाणको लागु औषधसहित पक्राउ परेका थिए।
मोबाइलमा पटक–पटक फोन गरेर माल मगाएपछि एसपी काफ्लेले नयाँ योजना बुनेको बताए। योजना अनुसार नियन्त्रणमा परेका मेहतालाई ‘माल लिएर आउँदैछु’ भन्न सिकाए। प्रहरीको डर र प्रलोभनमा परेका मेहताले सिकाए अनुसार नै ‘माल लिएर आउँदैछु’ भनिरहे। फोन गरेर माल मगाउने अग्नीसाइर कृष्णसवरन गाउँपालिका–६ का २५ वर्षीय बैजु साह सोही गाउँपालिकाको महुली चोकमा पर्खि बसेका थिए।
एसपीले सादा पोशाकका प्रहरीलाई तत्कालै महुली क्षेत्रमा खटाए। आफू पनि सादा पोशाक फेरेर गाडी लिएर पुगे। प्रहरीलाई पोशाकमा देखेमा भाग्ने भएकाले अर्को एउटा टोली पनि मेहतासँगै महुली पुग्यो। महुली पुगेपछि मेहताले प्रहरीलाई ‘पछिपछि आउनु, म अगाडि जान्छु’भन्यो।
अरु प्रहरी पछाडि हटे सादा पोशाकका एक प्रहरी साथै लागे। त्यति बेलासम्म प्रहरीले तीनओटा घेरा हालिसकेको थियो। नजिकै पुगेपछि साहले भने ‘कत्ति ढिलो गरेको, माल लिने मानिस नै गइसक्यो।’
सोही बेला घेरा हालेका प्रहरीले साहलाई पनि नियन्त्रण लिए। प्रहरीले पक्राउ गरेपछि साह छाँगाबाट खसेजस्तै भए। तथापि उनले आफू निर्दोष रहेको जिकिर गरिरहे। प्रहरीले मेहतालाई लगातार आइरहेको फोन नम्बरमा कल गर्दा साहको गोजीको मोबाइल बज्यो। मेहताको जिकिर काम लागेन। प्रहरीका अनुसार पक्राउ परेकाहरू लागु औषधका अम्मलीका साथै कारोबारी समेत हुन्।
एसपी काफ्लेले भारतबाट एउटा समूहले ल्याउने र सप्तरीको विभिन्न ठाउँमा पुर्याउने तथा दोस्रो समूहले विभिन्न जिल्लाका व्यक्तिसँग सम्पर्क गरी काठमाडौं, गाइघाट, धरान, विराटनगर जस्ता शहरमा पठाउने गरेको बताए।
जिल्ला प्रहरी कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरी पक्राउ परेका तीनै जनालाई प्रहरीले सार्वजनिक गरेको छ। पछिल्लो समय लागु औषध नियन्त्रणमा सक्रिय भएको सप्तरी प्रहरीले अवैध घरेलु मदिरा र गाँजा खेती नष्ट गर्दै जनचेतना मुलक कार्यक्रम समेत तीव्र बनाएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।
प्रतिक्रिया दिनुहोस !