भीडले बढायो जोखिम
गोरखा : बारपाक स्थायी घर भई हाल पोखरा बस्ने रेश्मा गुरुङ नागरिकता बनाउन सोमबार गोरखा आइन्। १० बजेअघि नै कार्यालय परिसर आइपुगेकी उनलाई कार्यालयको गेटमा बसेका प्रहरीले गेटपास दिएनन्।
सडकमा लाइनमा बस्न आदेश गर्यो। निरिह लाइनमा बसिन्। सेवाग्राहीको भीडका कारण लाइनमा अटेसमटेस भयो। लाइनमा भौतिक दूरी त परको कुरा हो घचेटाघचेटको अवस्था थियो ।
उनी लाइनमा २ घण्टा पूरै अटेसमटेस भएर बसेपछि गेटमा खोपकार्ड देखाएर जिल्ला प्रशासन कार्यालयभित्र प्रवेश गरिन्। गेटपासको तनाब सिद्धिए पनि उनको कागजी तनाब भने सकिएन। किनभने नागरिकतामा सनाखतका लागि आएकी आमा मीना गुरुङसित खोपकार्ड थिएन। फलस्वरूप उनी बाहिरिन बाध्य भइन्। ‘मसित खोपकार्ड त थियो। तर, पोखरामै थियो,’ मीना गुरुङ भन्छिन्, ‘पोखराबाट बारपाक आएर बसेको १ महिना भइसकेको थियो। तैपनि फिर्ता नै गरिहाल्दैन। सम्झाइबुझाइ गरेर मौका दिन्छ होला भनेको दिएन।’
सौरपानीबाट छोरा रोजन तामाङको नागरिकता बनाउन आएका आइतपाल तामाङ पनि सोमबार रित्तै घर फर्कन बाध्य भए। ‘छोरासित खोपकार्ड थियो। उ भित्र जान पायो। सनाखत गर्नुपर्छ भनेर आएको मसित खोपकार्ड थिएन त्यसैले भित्र पस्न पाइनँ,’ तामाङले भने, ‘अस्ति बिहीबार आउँदा पनि सक्कली जन्मदर्ता भएन भनेर फर्काए। त्यतिबेला खोपकार्ड चाहिएको थिएन। अहिले पनि चाहिँदैन होला भनेर आएँ तर भित्र पस्न नपाएकाले काम हुन सकेन।’
खोपकार्ड देखाएर मात्र भित्र प्रवेश गर्न पाइने व्यवस्थाले धेरै सेवाग्राही सरकारी सेवा नलिई घर फर्किनुपरेको गुनासो गर्छन्। ‘बाहिर घचेटाघचेट गरेर लाइनमा बस्दा कोरोना नफैलिने, भित्रमात्र खुला राखेर हुन्छ र ?,’ प्रत्येक दिन दुई–दुई गाउँपालिकाका सेवाग्राहीलाई मात्र सेवा दिने गरी आलोपालो गरेमा सेवाग्राहीको भीड कम हुने र मर्यादापूर्वक सेवा दिन सकिने उनले सुझाव दिए।
तर, कार्यालयले भने सेवाग्राहीको समस्याबारे अनभिज्ञता प्रकट गरेको छ। ‘हाम्रो कार्यालयको सेवा लिन खोपकार्ड अनिवार्य गरिएको छ,’ प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लोकराज सुवेदी भन्छन्, ‘नाबालक परिचयपत्र बनाउन आएकी एक महिला भौतारिरहेको देखेँ पछि कसरी काम गरेर फर्किन् थाहा भएन।’ खोपकार्ड नल्याएको भन्दै जिल्ला प्रशासन कार्यालयले गेटभित्र प्रवेश गर्न नदिएपछि सेवाग्राही दिनभर सडकमा अस्तव्यस्त बनेर बस्ने गरेका छन्।
प्रतिक्रिया दिनुहोस !