गोरखाको जनसंख्या ३० वर्षअघि भन्दा घट्यो
गोरखा : गोरखाको जनसंख्या ३० बर्षअघि भन्दा अहिले घटेको छ। २०४८ सालको गणनामा दुई लाख ५२ हजार पाँच सय २४ रहेकोमा यसपटक तीन सय २३ जना घटेर दुईलाख ५२ हजार दुई सय एक रहेको जिल्ला जनगणना कार्यालय गोरखाले जनाएको छ।
यसअघि गोरखाको जनसंख्या २०६८ मा दुई लाख ७१ हजार ६१ थियो भने २०५८ को गणनामा दुई लाख ८८ हजार एक सय ३४ रहेको जिल्ला जनगणना कार्यालयका प्रमुख महेशप्रसाद ढुंगानाले जानकारी दिए।
‘२०४८ भन्दा पनि २०७८ मा जनसंख्या कम देखियो’, कार्यालयका प्रमुख ढुङ्गानाले भने, ‘यो जनगणनाको प्रारम्भिक तथ्याङ्क मात्र हो, यसलाई ९९ प्रतिशत आधार मान्न सकिन्छ।’ अहिले जनसंख्याको वृद्धिअनुपात घटेको उनले बताए। ‘गोरखामा जनसंख्या वृद्धिदर घट्दो क्रममा अर्थात माइनस दशमलव ६९ प्रतिशत रहेको छ’, उनले भने।
यसपटकको जनगणनामा महिला एक लाख ३२ हजार तीन सय ९० र पुरुष एक लाख १९ हजार आठ सय ११ जना रहेका जनगणना कार्यालय गोरखाले जनाएको छ।
कार्यालयका अनुसार गोरखामा परिवार संख्या ७२ हजार नौ सय ६८ रहेको छ भने परिवार संख्या ६८ हजार चार सय ९४ रहेको छ। परिवारको औषत संख्या ३.४६ प्रतिशत र जनघनत्व ७० प्रतिशत रहेको तथ्याङ्क कार्यालय गोरखाका प्रमुख ढुङ्गानाले बताए।
गोरखामा विदेश गएकाहरुको संख्या २३ हजार ३५ रहेको छ। यी मध्ये १९ हजार पुरुष र चार हजार ३५ महिला रहेका छन्। यो विदेश गएका तर फर्कनेहरुको तथ्याङ्क रहेको कार्यालयले जनाएको छ। यसलाई अनुपस्थित जनसंख्याको रुपमा लिइन्छ। परिवारसहित विदेश गएर बसेकाको तथ्याङ्क भने यसमा समेटिएको हुँदैन।
प्रतिक्रिया दिनुहोस !