रामसारमा १० सिमसार क्षेत्र
काठमाडौं : नेपालका १० सिमसार क्षेत्र अन्तर्राष्ट्रिय महत्वको रामसारमा सूचीकृत छन्। ६० हजार ५ सय ६१ हेक्टर क्षेत्र रामसारमा पर्छ। सिमसारले मात्रै मुलुकको ७ लाख ५० हजार हेक्टर (करिब ५ प्रतिशत) ढाकेको राष्ट्रिय सिमसार नीति २०६९ मा उल्लेख छ।
पटक सन् १९८७ डिसेम्बर १७ मा कोसीटप्पु वन्यजन्तु आरक्षलाई रामसारमा सूचीकृत गरिएको थियो। बीसहजारी तथा आसपासका तालहरू, घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय, रारा, फोक्सुन्डो, गोसाइँकुण्ड तथा आसपासका तालहरू, गोक्यो तथा आसपासका तालहरू, माई पोखरी र पोखरा उपत्यकाका तालहरू रामसारमा पर्न सफल भएका छन्।
नेपालमा धेरै नै रामसार क्षेत्रमा सूचीकृत गर्न सकिने सिमसार क्षेत्रहरू रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी वेदकुमार ढकाल बताउँछन्। यस्ता क्षेत्रमध्ये पहाडी र तराई क्षेत्रमा बढी रहेको सूचना अधिकारी ढकाल बताउँछन्। ‘सिमसार क्षेत्र मासिँदै गएका छन्। तालतलैया धेरै सुक्दै गएका छन्’, ढकाल भन्छन्।
सिमसार संरक्षण र व्यवस्थापनका लागि राज्यले विभिन्न नीति कार्यान्वयनमा ल्याएको रामसार क्षेत्रको घोषणा र व्यवस्थापन मार्गदर्शन २०७५ मा उल्लेख छ। जलचर संरक्षण ऐन २०१७, जलस्रोत ऐन २०४९, वन ऐन २०४९, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९, भू तथा जलाधार संरक्षण ऐन २०३९, वातावरण संरक्षण ऐन २०५३ र राष्ट्रिय सिमसार नीति २०६९ मुख्य रहेको जनाइएको छ।
‘सिमसार क्षेत्र भन्नाले प्राकृतिक अथवा कृत्रिम रूपले सिर्जना भई स्थायी वा अस्थायी रूपमा पानीले ढाकेको पानी बग्ने वा झरनाका रूपमा खसेर बनेको दलदल, धाप, जरुवा क्षेत्र वा नुनिलो तथा क्षारयुक्त पानी रहेको ठाउँ वा भूभागलाई बुझिन्छ’, मार्गदर्शनमा लेखिएको छ, ‘नेपालको राष्ट्रिय सिमसार नीति २०६९ अनुसार सिमसार भनेको पानी जमेको वा बगेको, स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रूपमा बनेको दलदल क्षेत्र हो।’
रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील संकटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारमा सूचीकृत गर्ने मार्गदर्शनमा उल्लेख छ। विश्वका २ हजार २ सय ५२ सिमसार यसमा सूचीकृत छन्।
काठमाडौंका खेतमा पहिला पानी जम्थ्यो। तर, सहरीकरणले सिमसार बाँकी रहेन। यहाँ भूमिगत पानीको सतह पनि सुक्दै गएको छ। तराई क्षेत्रको अवस्था पनि त्यस्तै छ। वन क्षेत्र मासिँदै जाँदा पानीको सतह घट्दै गएको उनी बताउँछन्। ‘सिमसार क्षेत्र संरक्षणमा वनको ठूलो महत्व हुन्छ’, उनी भन्छन्। सरकारले सिमसार क्षेत्रको संरक्षण गर्न राष्ट्रिय सिमसार नीति बनाएको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्ले बताउँछन्। तत्कालीन वन तथा भूसंरक्षण मन्त्रालयले २०६९ मा यो नीति बनाएको देखिन्छ। त्यसअघि २०५९ सालमा बनाइएको नीतिलाई १० वर्षपछि परिमार्जन गरिएको हो।
सिमसारले मत्स्यपालन, पर्या–पर्यटन, कृषि उत्पादकत्व अभिवृद्धिमा सहयोगलगायत जैविक विविधताको दिगो व्यवस्थापनमार्फत राष्ट्रिय तथा स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको प्रवक्ता काफ्ले बताउँछन्। भन्छन्, ‘सिमसारले जलवायु परिवर्तन तथा भू–विनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचका रूपमा पनि कार्य गर्छ।’
नीतिको कार्यान्वयनका लागि समन्वय गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा राष्ट्रिय सिमसार समिति रहने उल्लेख छ। जिल्लामा तत्कालीन जिविस सभापतिको संयोजकत्वमा जिल्ला वन समन्वय समिति रहेको भनिएको छ। तर, यो समिति क्रियाशील नरहेको विभागका सूचना अधिकारी ढकाल बताउँछन्। ‘यसमार्फत काम खासै भएको छैन’, उनी भन्छन्। यो समितिलाई क्रियाशील बनाउने प्रत्यन्न भइरहेको उनको भनाइ छ।
के हो सिमसार क्षेत्र ?
सिमसार क्षेत्र भन्नाले प्राकृतिक अथवा कृत्रिम रूपले सिर्जना भई स्थायी वा अस्थायी रूपमा पानीले ढाकेको पानी बग्ने वा झरनाका रूपमा खसेर बनेको दलदल, धाप, जरुवा क्षेत्र वा नुनिलो तथा क्षारयुक्त पानी रहेको ठाउँ वा भूभागलाई बुझिन्छ । नेपालको राष्ट्रिय सिमसार नीति २०६९ अनुसार सिमसार भनेको पानी जमेको वा बगेको, स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रूपमा बनेको दलदल क्षेत्र हो ।
रामसार क्षेत्रको घोषणा र व्यवस्थापन मार्गदर्शन २०७५
प्रतिक्रिया दिनुहोस !