फेरियो लाप्राक
गोरखा : विगत ६ वर्ष अघिको लाप्राक र अहिलेको लाप्राकमा निकै फरक छ। त्यतिबेला लाप्राकका घर लोटसल्लाको फलेकले छाइएका थिए। ५ सय घरधुरी एकै ठाउँमा झुरुप्प थियो। फलेक चेप्न प्रयोग भएका ढुंगाले गाउँका सबै धुरीमा परेवा बसेजस्ता सुन्दर र रोचक देखिन्थ्यो। तर, अहिलेको लाप्राक नयाँ रूपरंगमा ब्युँतिएको छ।
धार्चे गाउँपालिका–४ लाप्राकका ती घर २०७२ भूकम्पले कुनै पनि ठाडो रहेनन्। केही महिनाभित्रै स्थानीयवासीले घर पुनर्निर्माण गरे। भूकम्पले क्षतिग्रस्त घर पुनर्निर्माण गर्न सरकारले प्रतिपरिवार ३ लाख रुपैयाँ अनुदान दिएको थियो। लाप्राकवासीले त्यो अनुदान पनि नलिई पुरानै जगमा घर ठड्याए। प्रत्येक घर रंगीन जस्तापाताले छाइएका छन्। जस्ताको रङ समान नभएकाले गाउँ रंगीचंगी छन् । ‘ती फलेकले छाइएका घर त अब कहाँ पाउनु ?,’ स्थानीय सुमन गुरुङ भन्छन्, ‘पहिले ढुंगाले मात्रै छाएका घर पनि थिए। अहिले छैनन्।’ संगठित रूपमा पुनर्निर्माण नभएकाले घरको ढंग र ढाँचा आफूखुसी भएको उनको भनाइ छ।
काठका फलेक हरेक वर्ष ओल्टाइपल्टाइ गर्दा धुवाँले बलियो बनाउने स्थानीयको विश्वास छ। ‘धुवाँले गर्दा फलेक २५÷३० वर्षसम्म सजिलै टिक्ने रहेछ। हिउँ पर्दा पनि उस्तो जाडो नहुने। जस्ताले धेरै चिसो हुनेरहेछ,’ अर्का स्थानीय राज गुरुङ भन्छन्, ‘त्यसैले अहिले फलेकले छाना छाउन नसके पनि तल्लोतला ढुंगामाटोको गाह्रो लगाएका छन्। माथिल्लो तल्लामा फलेकले नै बारेका छन्।’ लाप्राकका प्रत्येक घरमा शौचालय भने छैनन्। भूकम्पअघि सबै घरमा सौचालय निर्माण गरी खुला दिसामुक्त गाउँ घोषणा गरेको भए पनि भूकम्पले नष्ट गरेका सबै शौचालय ठडिन सकेका छैनन्। कतिपय घरमा खुला शौचालय प्रचलनमा छन्। अहिले लाप्राकसम्म सडक सञ्जालले जोडेको छ। 
२०५६ को पहिरोले क्षतिग्रस्त बनाएको लाप्राकलाई भूकम्पका बेला झरेको पहिरोले पनि जोखिम बनायो। त्यसपछि सुरक्षित स्थलमा पुनस्थापित गर्न सरकारले गुप्सीपाखामा १८.३२ हेक्टर जग्गा उपलब्ध गरायो। सो ठाउँमा गैरआवासीय नेपालीहरूको संघ (एनआरएनए)ले ५७३ घर रहेको एकीकृत नमुना बस्ती निर्माण गर्यो। गोलाप्रथाबाट घर हस्तान्तरण पनि भइसक्यो। तर, सो घर व्यवहारिक नभएको र हिउँ पर्ने ठाउँ भएकाले स्थानीयवासी त्यहाँ पुनःस्थापित हुन मानेनन्। अहिले सबै जना पुरानै बस्तीमा छन्। एकीकृत बस्ती हिउँमा छोपिएर रहेको छ।
स्वास्थ्यचौकी, विद्यालय, वडा कार्यालय एकीकृत बस्तीमा सञ्चालित छ। तर, मान्छे भने पुरानै गाउँमा छन्। पुरानो गाउँमा पुराना संस्कृति, परम्परा जीवितै छन् तर रूपरंग भने फेरिएको छ। सुविधा फेरिएका छन्।
प्रतिक्रिया दिनुहोस !