हिँउले ढाक्यो बारपाक
गोरखा : पर्यटकीय गाउँ बारपाक हिउँले ढपक्कै ढाकेको छ। १९०० मिटर उचाइमा रहेको बारपाकका एघार सय घरधुरी हिउँले ढकमक्क ढाकेको स्थानीय जीतबहादुर घलेले जानकारी दिए । ‘यो वर्षको पहिलोपटक आज हिउँ पर्यो,' घलेले भने, ‘युवाहरु हिउँ खेलेर रमाइरहेका छन् । बुढाबुढीहरु घरभित्रै आगो तापेर बसिरहेका छन् ।’ धेरै बाक्लो हिउँ नपरे पनि गाउँ सेताम्मे भएको उनले बताए । 
हिउँले बारीमा लगाइएको गहुँ र जौ राम्रो हुने भन्दै स्थानीयबासी खुशी भएको उनले बताए । साथै धार्चे गाउँपालिकाको ठूलो गाउँ लाप्राकमा पनि हिउँ परेको छ । २७०० मिटर उचाइको गुप्सीबस्तीमा एक महिनादेखि हिउँ जमेपनि तल्लो गाउँमा भने अहिले परेको स्थानीयले बताएका छन् ।
अजीरकोट गाउँपालिकाको सिरानडाँडा, नम्की र भच्चेक बजारसम्म पनि शुक्रबार पहिलो पटक हिउँ आएको स्थानीयले बताएका छन् । धार्चे गाउँपालिका वडा नं. १ हुल्चुक, २ को रुञ्चेत, केरौँजा, ३ को उहिया खोर्ला, वडा नं. ४ को लाप्राक, ५ को सिङ्ला, गुम्दा, यमगाउँ, लप्सीबोट ६ को काशिगाउँ, यार्सा र वडा नं. ७ को लापुसम्म पनि हिउँ परेको वडाअध्यक्ष सुकबहादुर गुरुङले जानकारी दिए ।
बिहानैदेखि हिउँ परेपछि स्थानीय
बासी घरभित्रै आगो तापेर बसिरहेका उनले बताए । त्यस्तै सिरानचोक गाउँपालिकाका डाँडामा पनि यसबर्ष हिउँ परेको छ । धेरै वर्षपछि अहिले पहिलो पटक हिउँ परेको भन्दै स्थानीयबासीले सामाजिक सञ्जालहरुमा तस्बिर सजाएका छन् ।
प्रतिक्रिया दिनुहोस !