हिउँ खेल्न गएका २ किशोर १० दिनदेखि बेपत्ता : दैनिक सयौँजनाले खोजी गर्दै
गोरखा : हिउँ खेल्न घरबाट निस्केका बारपाकका दुई किशोर १० दिनदेखि बेपत्ता भएका छन्। बारपाक गाउँका १६ वर्षका करण घले र १६ वर्षकै साहिला घले गत माघ २० गते बिहानदेखि सम्पर्कविहीन भएका स्थानीय नेमराज घलेले जानकारी दिए।

बिगत १० दिनदेखि बेपत्ता भइरहेका करण र साहिला घले।
हराइरहेका किशोरहरुको खोजी कार्य भइरहेको घलेले बताए। ‘माघको १९ गते अलिअलि मात्र हिउँ परेको थियो। उनीहरु २० गते हिउँखेल्न गएका थिए तर दुर्भाग्यवश त्यो दिन बाक्लो हिउँ पर्यो त्यसैले फर्कन सकेनन्’, उनले भने, ‘बारपाकबाट प्राय धार्चेडाँडातिर हिउँ खेल्न जाने चलन छ। तर उनीहरु पहिलोपल्ट धार्चे गएको हुँदा हिउँभित्र फँसेर हराइरहेको हुनसक्छ भन्ने हाम्रो अनुमान हो ।’
दैनिक सयौँजनाले उनीहरुको खोजी कार्य गरिरहे पनि सधैं निराश भएर फर्कनु परेको उनले बताए। किशोरहरु सम्पर्कविहीन भएको घटनाका बारेमा आफन्तले प्रहरीलाई २३ गते मात्र जानकारी गराएको डिएसपी प्रकाश दाहालले जानकारी दिए। स्थानीयबासी र प्रहरीले संयुक्त रुपमा खोजी कार्य गरिरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस !