ढुंगाखानीले बस्ती चिराचिरा
गोरखा : व्यवसायी पशुपति मुरारकाले १५ वर्षअघि गण्डकी गाउँपालिका–७ दर्शनडाँडाका झंकनाथ रेग्मीको बारी किनेका थिए, घर बनाएर बस्ने र खेती गर्ने सर्तमा। तर, किनेको पाँच वर्ष नपुग्दै ढुंगाखानी सञ्चालनमा ल्याए।
खानीमा जथाभावी चलाइएका मेसिनले डाँडै थर्काउन थाले। बारीका गराहरू चिराचिरा पर्न थाले। उनकै घरखेत धरापमा परेको छ। अहिले ढुंगाखानीका कारण झंकनाथको घरबारीसहित दर्शनडाँडा गाउँ नै पहिरोको जोखिममा परेको छ। सो गाउँमा ८ घर उच्च जोखिममा छन्। झंकनाथले ३५ रोपनी बारी ८० हजार रुपैयाँमा बेचेका थिए। ‘ढुंगाखानीमा मेसिन लगाउँदा डाँडै थर्किन्छ,’ झंकनाथ भन्छन्, ‘पानी पर्नासाथ पहिरो जान थालेको छ।’ यसपालिदेखि झन् धेरै बग्न थालेको उनले सुनाए।
‘ढुंगाखानी सञ्चालन गर्ने भन्ने थाहा पाएको भए ऊबेला बेच्ने नै थिइनँ,’ उनले भने। मुरारकाले अर्घाखाँची सिमेन्ट उद्योगको चुनढुंगा खानीका लागि २०६३ माघ ३ मा लाइसेन्स लिए। खानी विभागले दिएको ३५।०६३।६४ नं लाइसेन्सको १५ वर्षे म्याद माघ ३ मै सकिएको छ। तर कम्पनीले चुनढुंगा निकाल्न छाडेन। खानीका कारण स्थानीय सल्लेरी सामुदायिक वन, सडक, शिव आधारभूत विद्यालय र खानेपानीको पाइप जोखिममा परेको उनको भनाइ छ। ज्यामिरघाटबाट गाउँपालिका केन्द्र जोड्ने सडक कामै नलाग्ने गरी चिरिएको छ।
आफूहरूलाई स्थानान्तरण गरेर मात्र खानी चलाउन स्थानीयको माग छ। अर्का स्थानीय रुद्र रेग्मी भन्छन्, ‘पहिले पनि झुक्याएर किनेको हो। हाम्रो समस्यालाई कसैले वास्ता गर्दैनन।’
वडा कार्यालयले सो खानी बन्द गर्न पत्राचार गरेको वडाअध्यक्ष तुलसी रेग्मी बताउँछन्। यता सञ्चालक मुरारका भने खानीले गाउँ जोखिममा नपरेको दाबी गर्छन्। ‘कि उद्योग नै नचला भन्नुपर्यो। उद्योग चलाउने हो भने खानी त हामीले उत्खनन गर्न पाउनुपर्यो,’ मुरारका भन्छन्, ‘गाउँ विस्थापित हुन्छ भनेर गलत प्रचार गरियो।’
प्रतिक्रिया दिनुहोस !