गठबन्धन जोगाउने कसरतमा प्रचण्ड–नेपाल

गठबन्धन जोगाउने कसरतमा प्रचण्ड–नेपाल

काठमाडौं : एमसीसीका पक्षमा नउभिए गठबन्धन तोड्ने कांग्रेसको ‘चेतावनी’ पछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीप्रति नरम बन्दै गएका छन्। गठबन्धन जोगाउन ‘एमसीसी’ अनुमोदन गराउने पक्षमा उनीहरूले पार्टीमा पनि बहस अघि बढाएका छन्। एमसीसीका पक्षमा स्पष्ट बहुमत नदेखिएपछि शुक्रबारको संसद् बैठक आइतबारलाई सारिएको छ।

अमेरिकाले यसअघि नै सोमबार (फागुन १६) भित्र संसद्बाट अनुमोदन गरिसक्न समयसीमा तोकिसकेको छ। सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीको ‘पूरापूर भर’ नगरेका प्रधानमन्त्री देउवाले विपक्षी एमालेसँग पनि सहयोगका लागि वार्ता र छलफल तीव्र पारेका छन्। कांग्रेस र एमालेबीच सहमति नभएपछि प्रचण्डले शुक्रबार बिहानै शीर्ष नेताको बैठक बसाए। सुदूरपश्चिम पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई काठमाडौं फर्किन आग्रह गरे।

नेपाल फर्केलगत्तै प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे। उनले एमसीसी अनुमोदनका पक्षमा ‘सकारात्मक’ वचन दिएको कांग्रेसी नेताहरूको भनाइ छ। त्यसपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मा पनि प्रधानमन्त्री भेट्न बालुवाटार पुगे। माओवादी केन्द्रको शीर्ष नेताको बैठकले गठबन्धन जोगाउने र एमसीसी पास गर्न दिने निर्णय गरेको थियो। त्यही निर्णय सुनाउन प्रचण्ड र अर्थमन्त्री बालुवाटार पुगे। यसअघि माओवादीले एमसीसी संसद्मा टेबल भए सरकार छोड्ने र एमसीसीका विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो।

गठबन्धन नै संकटमा पर्ने भएपछि माओवादीले ‘एमसीसी पारित हुन दिने र आफूले विपक्षमा मतदान नगर्ने’ निर्णय गरेको माओवादी स्रोतले बतायो। पार्टीका अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको माओवादीका शीर्ष नेताको संविधानको रक्षार्थ गठन भएको गठबन्धनलाई भत्काएर जाने कुरा देश र जनताको हितमा नहुने भएकाले त्यसलाई कायम राख्नुपर्ने निर्णय गरेको स्रोतको भनाइ छ।

माओवादीका नेता शक्ति बस्नेतले राष्ट्रिय सहमतिका लागि वैकल्पिक बाटो के हुन सक्छ भनेर पार्टीले सोचिरहेको बताए। माओवादी नेता हरिबोल गजुरेलले एमसीसीका केही प्रावधानमा पार्टीको असहमति रहे पनि ‘निष्कर्षमा पुर्‍याएर गठबन्धन कायम राख्नुपर्छ’ भन्नेमा पार्टीले सोचिरहेको बताए।

बालुवाटारमा यस्तो बन्यो सहमति 
गठबन्धन कायम राख्दै एमसीसीलाई संसद्बाट अनुमोदन गर्नुपर्नेमा गठबन्धनका नेताहरू सहमति नजिक पुगेका छन्। ‘मलाई प्रधानमन्त्री तपाईंहरूले नै बनाउनु भएको हो,’ नेपालसँग प्रधानमन्त्री देउवाले भनेका थिए, ‘गठबन्धन पनि हामीहरू मिलेरै बनाएको हो। एमसीसीलाई पनि गठबन्धनले नै निष्कर्षमा पुर्‍याउनुपर्ने दायित्व छ। सरकारले अघि बढाएको प्रस्ताव फेल भयो भने राम्रो सन्देश जाँदैन। सहयोग गर्नुपर्‍यो।’ प्रधानमन्त्री देउवाले बाहिर–बाहिर फरक विचार नराखिदिन पनि नेपालसँग अनुरोध गरेको बालुवाटार स्रोतले बतायो। 

‘हामी जनमतविरुद्ध जान सक्दैनौं’, नेता नेपालको जवाफ थियो, ‘एमसीसीमा कसरी हुन्छ, सहयोग गर्छौं। थप छलफल गरेर निर्णय लिन्छौं।’ नेपालले एमाले अध्यक्षसँग सहयोगका लागि किन हतार गरेको भन्दै देउवासँग प्रश्न गरेका थिए। ‘केपी ओलीसँग सहकार्य गर्न किन हतार गर्नुहुन्छ ? हामी वैकल्पिक बाटो निकाल्छौं’, नेपालले भनेका थिए। नेपालपछि प्रचण्डले प्रधानमन्त्री देउवासँग भेटघाट गरेका थिए। भेटको सुरुमै प्रचण्डले ‘एमसीसी पास गराउने विकल्प निकाल्छौं। गठबन्धन धरापमा पार्नेतिर नजाम’ भनेर प्रधानमन्त्री देउवासँग प्रस्ताव गरेको स्रोतले बतायो।

प्रचण्डले पार्टीका नेताहरू गठबन्धन टुटाउने पक्षमा नरहेको र गठबन्धनका सबै दल मिलेर वैकल्पिक बाटो निकाल्नुपर्ने धारणा राखेका थिए। ‘खोइ तपाईंहरूको कुरा बुझिँदैन। सहमतिको कुरै हुँदैन’, देउवाको जवाफ थियो, ‘अन्तर्राष्ट्रिय विश्वसनीयताको कुरा हो। गठबन्धनले नै सहयोग नगरेपछि प्रतिपक्षसँग सहमति जुटाउने कोसिस गर्नै पर्‍यो। गम्भीर भएर निर्णय गरिदिनुहोस्।’ कांग्रेस महामन्त्री थापाले प्रचण्ड र नेपालले समय मागेकाले शनिबारसम्म पर्खिने पक्षमा प्रधानमन्त्री रहेको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.