सानो उमेर ठूलो सफलता
काठमाडौं : प्रतीक्षा राना भर्खर ११ वर्षकी भइन्। पोखरा कोलपाटनकी प्रतीक्षा सानै उमेरमा खेलकुदमा भविष्य खोजिरहेकी छन्। कोलपाटनको रेन्बो एकेडेमीमा कक्षा पाँचमा अध्ययनरत प्रतीक्षाले काठमाडौंमा जारी ‘प्रथम वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगिता’मा प्रतिस्पर्धा गरिरहेकी छन्। पहिलो पटक राष्ट्रिय प्रतियोगितामा सहभागी भएकी उनले सिनियर खेलाडीहरूलाई पराजित गर्दै सबैलाई आश्चर्यमा पारेकी छन्।
महिलाको व्यक्तिगत ईपीमा प्रतिस्पर्धा गरेकी उनले लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम १६ मा स्थान बनाएकी थिइन्। अन्तिम १६ को प्रतिस्पर्धामा पनि विभागीय टोली त्रिभुवन आर्मी क्लबकी शान्ति भण्डारीलाई कडा टक्कर दिइन्। प्रतिस्पर्धात्मक भिडन्तमा प्रतीक्षाले १०–४ ले पराजय बेहोरेकी थिइन्। त्यसअघि समूह चरणको खेलमा प्रतीक्षाले दुईमा जित र दुई खेलमा हार बेहोर्दै अन्तिम १६ मा स्थान बनाएकी थिइन्।
प्रतीक्षाले फेन्सिङको ‘सोड’ समातेको एक महिना मात्रै भएको छ। एक महिनाको समयमा पनि उनले राम्रोसँग प्रशिक्षण गर्न पाइनन्। त्यही समयमा परीक्षा चलेपछि थोरै समय मात्रै प्रशिक्षणलाई दिन पाइन। ‘फेन्सिङ खेल्न थालेपछि विद्यालयमा परीक्षा सुरु भयो। त्यही कारण राम्रोसँग प्रशिक्षण पनि गर्न पाइनँ’, प्रतीक्षा भन्छिन्, ‘छोटो समयको तयारीले पनि राम्रो नतिजा ल्याउन सकेकोमा खुसी छु।’
प्रतीक्षा खेलकुदमा लागेको तीन वर्षभन्दा बढी भइसकेको छ। फेन्सिङको ‘सोड’ समात्नु अघि उनी तेक्वान्दो खेल्थिन्। उनले तेक्वान्दो खेल्न थालेको तीन वर्ष भइसक्यो। एब्सुलुट तेक्वान्दो डोजाङमा रेखमाया गुरुङ र छवि गुरुङबाट प्रशिक्षण लिँदै आएकी उनले केही प्रतियोगिताहरूमा पदक पनि जितेकी छन्। कोरियन एम्बेस्डर तेक्वान्दो च्याम्पियनसिपमा जुनियरतर्फको पुम्सेमा स्वर्ण जितेकी उनले काठमाडौं इन्टरनेसनल भर्चुअल तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेकी थिइन्। यस्तै स्थानीय स्तरमा आयोजना भएका अन्तर डोजाङ प्रतियोगिताहरूमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन्।
प्रतीक्षा खेलकुदमा लागेको तीन वर्षभन्दा बढी भइसकेको छ। फेन्सिङको ‘सोड’ समात्नु अघि उनी तेक्वान्दो खेल्थिन्।
रेखमाया र छविले प्रतीक्षालगायतका खेलाडीलाई तेक्वान्दोसँगै फेन्सिङ पनि सिकाउँदै आएका छन्। प्रतीक्षाले पनि दुवै खेललाई अगाडि बढाउने योजना बनाएकी छन्। ‘दुवै खेल एकै स्थानमा प्रशिक्षण गर्न सकिने भएकाले दुई वटै खेललाई अगाडि बढाउने सोचेकी छु’, प्रतीक्षा भन्छिन्। दुई वटा खेलमा लाग्दा पढाइलाई व्यवस्थापन गर्न केही गाहारो भए पनि केही गर्छु भन्ने इच्छाशक्ति भएमा समस्या नहुने उनको बुझाइ छ।
प्रतीक्षालाई खेलकुदमा लाग्न परिवारले पनि सहयोग गरेको छ। उनकी आमा मनु राना पोखरामा ब्याडमिन्टनकी चिनिएकी खेलाडी हुन्। स्थानीय तथा राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुँदै आएकी मनु छोरी पनि राम्रो खेलाडी बनोस् भन्ने चाहन्छिन्। ‘बुवा आमाले नै खेल्नलाई सहयोग गर्नुहुन्छ। अझ ममी आफै खेलाडी भएकाले पनि होला मलाई पनि राम्रो खेल्न प्रोत्साहन गर्नुहुन्छ’, प्रतीक्षा भन्छिन्।
नेपाल फेन्सिङ संघका उपाध्यक्ष एवं कास्की जिल्ला अध्यक्ष विजय शाही पोखरामा फेन्सिङ खेल्न चाहनेहरू धेरै भए पनि खेल सामग्रीको अभावमा प्रशिक्षणमा समस्या भएको बताउँछन्। ‘फेन्सिङ खेल्न चाहनेहरू पोखरामा धेरै छन्। हामीसँग एथेष्ठ खेल सामग्री नहुँदा प्रशिक्षणमा समस्या भइरहेको छ’, विजय भन्छन्, ‘पुराना सामानको भरमा गरेको प्रशिक्षणबाट पदकको आशा गर्न पनि सकिँदैन।’ उनी प्रशिक्षकको समस्या नभए पनि खेल सामग्रीको अभावका कारण प्रशिक्षण प्रभावित हुने गरेको बताउँछन्।
गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगितामा गण्डकी प्रदेशका १० महिला र १० पुरुष गरी २० खेलाडीले सहभागिता जनाएका छन्। व्यक्तिगत स्पर्धामा पदकको आशा नभए पनि टिम इभेन्टमा पदकको आशा राखेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !