मादी नगरै शोकमा : बस दुर्घटनामा नगरका ११ सहित १५ को मृत्यु

मादी नगरै शोकमा : बस दुर्घटनामा नगरका ११ सहित १५ को मृत्यु

संखुवासभा/धरान : संखुवासभाबाट बिहीबार बिहान ७ बजे बा४ख ७३५ नम्बरको रेशम फिरिरी बस झापा दमकतर्फ हिँडेको थियो। तर, उक्त बस मादी नगरपालिकाको ओखरबोटे बजारबाट ७ किलोमिटर तल दुर्घटनामा पर्‍यो। जसमा १५ यात्रुले ज्यान गुमाएका छन्। मृतकमध्ये ११ जना त मादीकै छन्। 

मृत्यु हुनेमा मादीका सीता विक, अञ्जना कटुवाल, भवानीप्रसाद दाहाल, इन्द्र अधिकारी, दीक्षा कटुवाल, बलबहादुर कार्की, सविता कार्की, दीपककुमार दाहाल छन्। मादी माइत भएकी ताप्लेजुङकी समीक्षा योञ्जन, उनका छोरा सुदीप घिसिङ, मादीकै श्याम शेर्पा, आइतबहादुर तामाङ, चालक विपिन निरौला र सहचालक मादीकै उमेश भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी संखुवासभाका डीएसपी लालध्वज सुवेदीले बताए। समीक्षा छोरा लिएर माइत आएकी थिइन्। 

मादी–५ की युका पोखरेलको उपचारका क्रममा मृत्यु भएको छ। पोखरेललाई उपचारका लागि हेलिकप्टरबाट धरान लगिएको थियो। धर्मदेवी नगरपालिकाको आँखीभुइँ माइत भएकी पोखरेलले सोलुखुम्बु विवाह गरी मादी–५ स्थित मादी माविमा अध्यापन गराउँदै थिइन्। शवको पोस्टमार्टम गरी बिहीबारै आफन्तलाई जिम्मा लगाइएको डीएसपी सुबेदीले बताए। 

नगरपालिकाले शुक्रबार शोक–बिदा घोषणा गरेको छ। ‘दुर्घटनामा मादीवासीले ज्यान गुमाएकामा हामी शोकमा छौं’, मादीका मेयर विदुर लिङथेपले भने। दुर्घटनाको खबर पाएलगत्तै घटनस्थलमा आफू पुगेको मेयर लिङथेपले सुनाए। 

‘हेर्दा बसको माथि सिट मात्र देखिएको थियो। यत्रतत्र घाइते र शव छरिएको थियो’, लिङथेपले भने, ‘म पुग्दा घटनास्थलमा स्थानीयवासी पुगेर उद्धार गरिरहेका थिए। सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा करिब दुई घण्टाभन्दा बढी लगाएर शव संकलन गर्‍यौं।’

बस सडकभन्दा करिब ३ सय मिटर तल खसेको थियो। सजिलो घुम्ती पनि चालकले कटाउन नसक्दा ठूलो दुर्घटना हुन पुगेको लिङथेपको भनाइ छ। करिब तीन महिनाअघि मात्रै कालोपत्रे गरिएको बाटो त्यति अप्ठेरो नभएको उनले सुनाए। ओरालो सडकमा धेरै घुम्ती भएकाले दुर्घटना भएको हुन सक्ने डीएसपी सुवेदीको भनाइ छ। 

उनका अनुसार तीव्र गतिमा गुडेकाले घुम्ती काट्न नसकेको प्रारम्भिक अनुमान छ। बस पहिलो घुम्ती नकाटी सिधै झरेको देखिन्छ। कालोपत्रे भएपछि गाडी तीव्र गतिमा गुडेको उनको अनुमान छ।  उक्त बस ओखरबोटे बसपार्कबाट ६ यात्रु लिएर हिँडेको थियो। केही तल आएपछि तीन जना थपिएका थिए। पुलुङमा आएपछि बाँकी यात्रु राखेर अघि बढेको बस केही बेरमै भीरबाट खसेको थियो। 

घाइतेहरूलाई सुरुमा उपचारका लागि चैनपुरस्थित चैनपुर स्वास्थ्य केन्द्र लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। घाइतेसँगै धरान पुगेका लिङथेपले उनीहरूको उपचारमा नगरपालिकाले कुनै कमी हुन नदिने बताए। घाइते डम्बरबहादुर कार्की, करिश्मा तामाङ, तुलसा कटवाल, सुवास तामाङको उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ। 

सबै जनाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रतिष्ठानका सहायक निर्देशक डा. विकास साहले बताए। सबैको विभिन्न भागमा चोटपटक लागेको छ।

गाडी मालिक नै थिए चालक

उक्त बस सुनसरीको इटहरी उपमहानगरपालिका–२० घर भएका विपिन निरौलाको रहेको खुलेको छ। आफैं चालक रहेका निरौलाले तीन बस सञ्चालन गरी धरान, इटहरी, विराटनगर, दमकबाट प्रदेश १ का पहाडी जिल्लामा यातायात सेवा प्रदान गर्दै आएका थिए। निरौलाले प्रदेश १ मा यातायात व्यबसायीको सिन्डिकेटविरुद्ध लडेर संखुवासभाको खाँदबारी नगरपालिकाबाट पहिलो पटक रात्रिबस सञ्चालन गरेको उनका मामा देबेन्द्र कार्कीले बताए।


उछिटिएर बाँचेँ : घाइते

मादी–६ का ५० वर्षीय डम्बरबहादुर कार्कीले बसको ब्रेक फेल भएको बताए। उनी घाइते भएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन्। सुरुमा हवाईजहाजको जस्तो आवाज आएको उनले सुनाए। 

‘गुडिरहेको गाडीको आवाज परिवर्तन भएपछि मैले बसका चालक विपिन निरौलालाई रोक्न अनुरोध गरें। तर, चालकले बसलाई नियन्त्रणमा लिन सकेनन्’, कार्कीले भने, ‘त्यसपछि सबै यात्रुहरू चिच्याउन थाले। आफू मरिने हो कि भनेर झ्यालबाट भाग्न खोज्दै गर्दा बस एक्कासि भीरबाट झर्‍यो।’

दुर्घटना हुने जस्तो लागेपछि सिसा फुटाएर भाग्न खोजेको उनले सुनाए। तर गुडिरहेको बसबाट हाम फाल्न नसकेपछि उनी दोस्रो लाइनको सिट पक्रेर बसे।  बीचमै उछिट्टियर आफू बच्न सफल भएको उनले सुनाए। कालोपत्रे सडक गाडी कुदाउन सहजै भए पनि डेढ किलोमिटर माथिदेखि नै अनियन्त्रित भएको उनको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.