भंगहामा व्यवस्थित बसोबासका लागि कोष खडा गरौं : पूर्वमन्त्री पोखरेल
महोत्तरी : महोत्तरी, भंगहा नगरपालिका ३ का भूमिहीन दलित सुकुम्बासीलाई जग्गा व्यवस्थितका लागि कोष खडा गर्न नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री गिरीराजमणि पोखरेलले सबैमा आग्रह गरेका छन् । सो स्थानका मुसहर समुदायका २५ घरधुरीलाई व्यवस्थित बसोबासका लागि नेता पोखरेलले आफनो एक महिनाको तलब उपलब्ध गराउने घोषणा गरे।
बिहीबार दिउँसो नेकपा माओवादी केन्द्र नगर समिति भंगहाको पार्टी कार्यालयको उदघाटन तथा होली पर्वको शुभकामना कार्यक्रमकाबीच पूर्वमन्त्री समेत रहेका नेता पोखरेलले घरधुरी भूमिहिन,दलित सुकुम्बासीलाई जग्गा
खरिद गरी बसोबास ग्यारेन्टीका लागि कोष खडा गर्न लागिएको उद्घोष गरिएका हुन् ।
स्थानीय रामराजी सदाजस्ता २५ जनाको घर परिवारलाई विस्थापित गर्न खोजिएको जनाउँदै पोखरेलले भने, ' आउने महिनाको तलब वापतको रकम कोषमा प्रदान गर्नेछु । यहाँहरुले पनि यस अभियानलाई सहयोग गर्नुहोस्। चक्रीय व्याजको मारमा परेका यहाँका मुसहर समुदायलाई अदालतले न्याय दिन सकिरहेको छैन । उनीहरुको लागि जग्गा खरिद गर्नका लागि अभियान चलाएर कोष खडा गरौं ।'
माओवादी जनयुद्धकालमा त्यहाँ बसोबास रहेका २५ जना घरधुरी दलितलाई जग्गाधनीले अरुलाई जग्गा बेचेपछि समस्या उत्पन्न भएको हो। पछि सोको समाधान गर्न नेता पोखरेलको पहलमा दुवै पक्षबीच जिल्ला प्रशासन कार्यालय महोत्तरीमा छलफल भएको थियो ।
सो निर्णय अझ कार्यान्वयन नहुँदा उनीहरु उठिवासको चपेटामा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !