नेविसंघमा लोकतन्त्रको उपहास

नेविसंघमा लोकतन्त्रको उपहास

नेपाली कांग्रेसभित्र चर्चा र विवाद छ, भातृ संगठनको विस्तार कार्य। जुन ठप्प छ। लामो समयदेखि कांग्रेसका १० भातृ संगठन नेतृत्वविहीन भएर बसेको छ। पार्टीभित्र लामो समयदेखि भातृ संगठनको विषयमा कुरा पनि उठेकै छ। राजनीतिक नेतृत्वको उच्च तहले टाउको दुखाइ किन गर्नु ? भनेर बारम्बार एउटै व्यक्तिलाई बारम्बार एउटै पदमा राख्ने र काम नगर्ने चलन पहिलेबाटै छ। १४औं महाधिवेशनपछि कांग्रेसले सम्पूर्ण भातृ संगठनलाई खारेज गरी ६ महिनाभित्र गर्नुपर्ने प्रावधान छ।

कांग्रेसको केन्द्रीय कमिटीले निर्वाचन नजिकिँदै गर्दा कांग्रेस तल्लो तहमा अग्रणी भूमिका भातृ संगठनको छ। फागुनभित्र नेविसंघ, महिला संघ, तरुण दलसहित १० भातृ संगठनको कार्यविस्तार फागुनभित्र गर्ने भनिएको थियो। एमसीसीको मुद्दाले चैतको पहिलो साता सकिँदासम्म अझै भातृ संगठनको कार्यसमिति विस्तारको कार्य यता न उताको स्थितिमा छ। नेपाल विद्यार्थीसँग क्रियाशील रहेका विद्यार्थी संगठनमध्ये सबैभन्दा पुरानो विद्यार्थी संगठन हो, नेपाल विद्यार्थी संघ। तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाइएको बेलामा कांग्रेसले आफ्नो बहुदलीय एजेन्डालाई स्थापना गराउने उद्देश्य राखेको थियो। विचारसँग सहमत विद्यार्थीलाई शैक्षिक एजेन्डामा टेकेर विद्रोह गर्न २०२७ मा नेविसंघको स्थापना गरिएको थियो।

संघ हाल क्रियाशील रहेका विद्यार्थी संगठनमध्ये सबैभन्दा पुरानो विद्यार्थी संगठन हो। संघ एक ऐतिहासिक संगठन र एक अनवरत संघर्षशील संस्था हो। यो नेता उत्पादन गर्ने कारखाना हो। विश्वको जुनसुकै ठाउँमा भए पनि यदि नेपाली हो भने र विद्यार्थी हो भने यसको सदस्य बन्न पाउँछ। सदस्यको प्रजातान्त्रिक समाजवादमा विश्वास हुनुपर्ने हुन्छ। ऊ जुझारु, लोकतान्त्रिक चरित्र र अनुशासनको हुनुपर्छ। आजका दिनसम्म आइपुग्दा माथि उल्लेखित पंक्तिहरूमा आजको नेविसंघ र हिजोको नेविसंघको तुलना गर्दा धेरै भिन्नता पाइन्छ।

लामो समयदेखि विभिन्न क्याम्पस, स्थानीय निकाय, क्षेत्र, प्रदेश र केन्द्रमा गुट–उपगुटले संघ अभिभावकविहीन अवस्थामा छ। कांग्रेसको नेता उत्पादनको थलो भनेर चिनिने नेविसंघ उच्च नेतृत्व तहको लापरबाही तथा उच्च राजनीतिक नेतृत्वको झगडाको चपेटामा पर्न थालेको छ। जसका कारण आज तल्लो उमेरमा विद्यार्थीको भविष्य नाजुक हुनुका साथै संस्थाको स्थिति पनि नाजुक अवस्थामा छ। हिजो संघ बीपी कोइरालाप्रति पूर्ण बफादार थियो। आज विचार र आदर्श त फरक कुरा बीपीको भौतिक रूपमा नै संरक्षण गर्न नसक्ने भएका छौं। आज विद्यार्थी नै नेविसंघप्रति अनुदार छन्। हुन त अब पनि स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सबैभन्दा पहिला मतदाताको घरदैलोमा पुग्ने भनेको संघ नै हो। पाटी जोगाउने भनेको नेविसंघले हो।

पछिल्लो समयमा केन्द्रीय कार्यसमितिको विस्तारको विषय उठ्दै गर्दा सबैभन्दा पहिला उमेरको हदबन्दीको कुरा उठ्छ। २०२७ सालमा स्थापना हुँदा २४ वर्षे विपिन कोइरालाको अध्यक्षतामा स्थापना गरिएको थियो। त्यसअघिको सन्दर्भ जोडौं। २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले निर्वाचित सरकार र संसद् भंग गरे। शासन सत्ता हातमा लिए र एकदलीय पञ्चायती व्यवस्था लादे। राजनीतिक दल र तिनका गतिविधिमा बन्देज लगाए। सबै लोकतान्त्रिक योद्धालाई जेलमा थुने। यही महेन्द्रको एकदलीय पञ्चायतविरुद्ध लड्न कांग्रेसले विद्यार्थी वर्गलाई संगठित गरेको थियो।

राजनीतिक मोडले अनेक रूप लिँदै गर्दा २०३६ सालमा जनमतसंग्रह हुन पुग्यो। सधैं लोकतन्त्र र क्रान्तिको पर्यायवाची बन्दै आएको नेविसंघ देशमा भएका विभिन्न राजनीतिक एवं शैक्षिक परिवर्तनमा नेतृत्वत्वकारी भूमिकामा देखिइरह्यो। २०४६ र २०६२/०६३ सालको लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिकामा रह्यो। संघको मूल आदर्श राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकता हो। नेविसंघबाट राजनीति थालेका हालका प्रधानमन्त्री शेरबहादुर देउवा २५ वर्षको उमेरमा संस्थाको सभापति बने। हालै सम्पन्न कांग्रेसको १४औं महाधिवेशनमा निर्वाचित सभापति बनेका छन्। हालका उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू विश्वप्रकाश शर्मा, गगनकुमार थापालगायत सहमहामन्त्रीहरू तथा धेरैजसो केन्द्रीय समितिमा रहेका नेताहरू २६–२७ वर्षमै नेविसंघमा सभापति बनेका थिए। 

पार्टीको नेतृत्व तहमा पुग्दै गर्दा उनीहरूले नेविसंघको विषयमा गहिरो सोच्न जरुरी छ कि छैन ? पहिला अरूलाई दोष लगाएर उम्किने नेताहरू अहिले पदाधिकारीमा पुगेका छन्। अब अरूलाई दोष दिएर पुग्दैन। पार्टीको विधानभन्दा माथि कोही पनि नहुने हुँदा त्यसैका आधारमा नेविसंघको नेतृत्वमा ३२ मुनिकै ल्याउनुपर्छ। ११औं महाधिवेशनका अध्यक्ष नैनसिंह महराले भनेका थिए, विधानले प्रष्ट भनेको छ कि १२औं महाधिवेशनबाट ३२ मुनिका उम्मेदवार मात्र नेविसंघको सभापति हुनेछ। २०७५ सालमा उक्त व्यवस्था खारेज गरियो। उक्त समिति र पछि १२औं महाधिवेशन गराउने भनेर २०७७ सालमा ३२ मुनिकाले महाधिवेशन गर्न सक्दैनन् भनी विधानमा व्यवस्था गरियो।

त्यसपछि ४६ वर्षको उमेरका राजीव ढुंगानाको अध्यक्षतामा ६ महिनाभित्र महाधिवेशन गराउने भनेर पदाधिकारीसहितको कमिटी बनाइयो। तर पनि भने जसरी काम भएन। यसरी लोकतन्त्रको फरक अभ्यास टिकेतन्त्रमा संघमा चुर्लुम्म डुबेको छ। विद्यार्थीको अधिकारका लागि लड्ने विद्यार्थी नेता नभएर नेताको चाकडी गर्ने आजको नेविसंघ भएको छ। मानिसको अगाडि बोल्न नजान्ने कहिले विद्यालयको अनुहार नदेखेका, कलेजको पोसाक राम्रोसँग नचिन्ने, चार वर्षपहिले नै क्याम्पस छोडेका, शिक्षालाई व्यापारीकरण गर्न लागेका विद्यार्थी आजका नेविसंघका नेता छन्। नेविसंघको मूल पहिचान विद्यार्थी संगठन हो या होइन भन्ने विषयमा शंका उत्पन्न हुन थालेको छ।

लोकतन्त्रको गुणगान गाउँदा अब अप्ठ्यारो पर्न सक्छ। आठ वर्षसम्म महाधिवेशन नगर्ने नेपाल विद्यार्थी संघको लोकतन्त्र कस्तो हो ? संघ आज विद्यार्थीभन्दा पनि कलेज छोडेका युवाको संगठनमा परिणत भएको छ। आठ वर्षसम्म महाधिवेशन नहुनु र नेतृत्वमा आठ वर्ष पहिलेकै विद्यार्थी नेताहरू हुनुले के सन्देश दिन्छ। कार्यसमिति विस्तारको कुरा चलिरहँदा उम्मेदवारहरू पूर्णत आठ वर्षभन्दा पहिलेका विद्यार्थी नेता मात्र छन्। प्रश्न उठ्न सक्छ किन कलेज छोडेकालाई नेता मान्ने ? कांग्रेस नेतृत्वले आठ वर्ष पहिलेका अयोग्य र असक्षम नेताले गरेको गल्ती अहिले नभोगाओस्।

पहिलेका ती विद्यार्थी नेता र अहिले नेविसंघ नेतृत्वमा रहेका वरिष्ठहरूलाई आग्रह गर्न चाहन्छु कि विद्यार्थी आन्दोलनका पक्षमा हुनुहुन्छ भने अहिलेका विद्यार्थीलाई नेतृत्वका लागि सहयोग गर्नुहोस्। तपाईंहरूले विश्वविद्यालयमा फर्जी भर्ना पक्कै गर्नु भएको होला। तिनलाई वास्तविक विद्यार्थीले नेता मान्न सक्दैनन्। लोकतान्त्रिक चरित्रको विद्यार्थीलाई मात्र संगठित गर्ने हो भने संघको आवश्यकता पूरा हुन्छ। 
त्यसो हो भने ३२ वर्षमुनिकालाई तुरुन्त तदर्थ कमिटी गठन गरी छिटोभन्दा छिटो महाधिवेशन गराउनुको विकल्प छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.