मधेसमा प्रभाव छेड्दै एमाले

मधेसमा प्रभाव छेड्दै एमाले

काठमाडौं :

  •     वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीसहित ४ जना वडाध्यक्ष फागुन २८ गते एमालेमा प्रवेश गरे। २०७४ सालको स्थानीय तह निर्वाचनमा सरावगीले जसपाबाट मेयर जितेका थिए। 
  •     मोरङको रंगेली नगरपालिकाका मेयर दिलीपकुमार बगडिया (अग्रवाल) र उपमेयर केशवकुमारी खराल पनि फागुन २५ मा एमाले प्रवेश गरे। माओवादी केन्द्र त्यागेर दुवै जना एमाले प्रवेश गरेका हुन्। 
  •     पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष तथा जिल्लाका चर्चित मुस्लिम नेता जालिम मियाँ एमालेमा प्रवेश गरेका छन्। मियाँ माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।
  •     बाँकेका नेता पशुपतिदयाल मिश्र पनि हालै मात्र एमाले प्रवेश गरे। राजपाका पूर्वसहमहामन्त्री मिश्र २०७४ सालको संघीय सांसदको निर्वाचनमा सूर्य चिह्न लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए। उनीसँगै रामकुमार दीक्षित, गिरिजा पाठकलगायत नेता पनि एमालेमा प्रवेश गरे। 
  •     रूपन्देहीको रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादव, ओमसतिया गाउँपालिकाका अध्यक्ष हीरा केवट र उपाध्यक्ष सुन्दरीमती कुमारी हरिजन पनि एमालेमा प्रवेश गरे। यादव जसपा, केवट र हरिजन माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका हुन। 
  •     बाराको कोतवाल गाउँपालिकाका अध्यक्ष मुस्तुफा अन्सारीसहित ५ जना जनप्रतिनिधि पनि हालैमात्र एमालेमा भित्रिए। 
  •     जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा कपिलवस्तुका प्रभावशाली नेता मंगलप्रसाद गुप्ता पनि ‘दलबलसहित’ हालैमात्रै एमालेमा प्रवेश गरे। 
  •     बहालवाला कपिलवस्तुका सांसद बृजेशलाल गुप्ता पनि एमाले प्रवेशको तयारीमा छन्। कपिलवस्तुकै डा. रुद्रप्रसाद साहलगायतका स्थानीय नेताहरू पनि एमालेमा आउने तयारी जुटेको नेताहरू बताउँछन्। 
  •    माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव एवं दाङका नेता प्रमोद शर्मा पनि एमाले प्रवेश गरेका छन्। शर्माकी श्रीमती सीता चौधरी गत स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिका उपमेयरकी उम्मेदवार थिइन्।

 ​

मोरङको रंगेलीका मेयर दिलीपकुमार बगडियालाई पार्टी प्रवेश गराउँदै एमाले अध्यक्ष ओली ।

अर्को महिना (वैशाख) देखि मुलुकमा ‘चुनावी वर्ष’ सुरु हुँदैछ। वैशाख ३० लाई स्थानीय तह निर्वाचनको मिति तोकिएको छ। कात्तिक/मंसिरमा प्रदेश र संघको चुनाव हुने सम्भावना छ। त्यहीँ भएर एमाले अध्यक्ष केपी ओली मधेसमा पार्टीको ‘प्रभाव’ जमाउन सक्रिय छन्। त्यहाँका जनप्रतिनिधिलाई पार्टीमा प्रवेश गराउँदै स्थानीय तहमा तराई/मधेसमा पार्टीको स्थिति मजबुत बनाउनतिर ओली क्रियाशील छन्।

आफूले दिएको भोट एमालेलाई नै बुझाउने हो भने प्रत्यक्षरूपमा नै उसलाई भोट दिँदा भइहाल्ने रहेछ भन्ने भावना पनि पछिल्लो समयमा मधेसमा देखिएको उनको विश्लेषण छ।

हिमाल र पहाडमा एमालेको संगठन ‘मजबुत’ नै मानिन्छ। विगतमा ‘मधेस र संघीयता’ विरोधीको ‘ट्याग’ एमालेमाथि छ। त्यही भएर एमाले अध्यक्ष ओलीको ध्यान तराई मधेसमा केन्द्रित रहेको एमालेकै नेताहरू बताउँछन्। सत्ता सहयात्री दलहरू गठबन्धन बनाएर चुनावमा जाने तयारी गरिरहेका बेला एमाले अध्यक्ष ओली भने तराई–मधेसका जनप्रतिनिधिलाई पार्टीलाई धमाधम भित्र्याउँदैछन्। चुनाव जित्ने रणनीतिमा ओली छन्। 

ओली आफैं मधेसमा नेताहरू पार्टीमा भित्र्याउन खटिएका छन्। कार्यक्रममा आफैं जान्छन, र नेताहरू प्रवेश गराइरहेका छन्। वीरगन्ज, रंगेली, नेपालगन्ज, कपिलवस्तु, बारालगायत स्थानमा भएको पार्टी प्रवेशमा अध्यक्ष ओली नै गए। एमाले मधेसमा आक्रामक रूप अगाडि आएको छ। नेकपा भंग हुँदा माओवादी केन्द्रका तत्कालीन प्रभावशाली नेता प्रभु साह एमालेमै बसेका कारण पनि धेरै मधेसका जनप्रतिनिधि र नेताहरू पनि एमालेमा नै बसेका थिए। 

अघिल्लो पटक मधेसी जनताले मधेसी दललाई भोट दिए। एमालेलाई नै विरोध गरेर यहाँका नेताहरुले राम्रो भोट पनि पाए। तर, पछि उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतोले एमालेलाई नै बुझाए। पालैपालो एमालेकै नेतृत्वको सरकारमा गए। अब एमाले मधेसमा बढ्दै गएको देखिन्छ। 
राजेश अहिराज - राजनीतिक विश्लेषक

२०७२ सालमा संविधान जारी भएपछि एमाले त्यसमा पनि अध्यक्ष ओलीप्रति तराई मधेसमा नराम्रोसँग भ्रम छरिएको थियो। ओली बोलीकै कारण मधेसमा उनी विरोध भावना धेरै थियो। उनी मधेसी विरोधी हुन्, संघीयता विराधी हुन् भन्दै भ्रम फैलाउने काम भएको थिए। नाकाबन्दीमा देश नै अध्यक्ष ओलीको पक्षमा थियो। तर, मधेसमा पनि उनीविरुद्ध आक्रोश थियो, तराई मधेसमा आन्दोलन भइरहेको थियो। त्यो आन्दोलन ओलीकै विरुद्ध केन्द्रित थियो। 

  • मधेसका जनप्रतिनिधिलाई पार्टीमा प्रवेश गराउँदै स्थानीय तहमा पार्टीको स्थिति मजबुत बनाउनु एमालेका अध्यक्ष केपी शर्मा ओलीको लक्ष्य हो।
  • विगतमा ‘मधेस र संघीयता’ विरोधीको ‘ट्याग’ एमालेमाथि लागेको थियो। त्यही भएर अध्यक्ष ओलीको ध्यान तराई मधेसमा केन्द्रित छ।
  • ओली मधेसमा एमाले विरोधी भावना हटाउन चाहन्छन्। यसअघिको भ्रम धेरै चिरेको उनको तर्क छ।  

यहीबीच तराई मधेसमा ओली विरोधी भावना चिर्न प्रयास पनि भएको होइन तर त्यो यति सहज थिएन। त्यो भ्रम चिर्न भने एमालेका सप्तरीमा आमसभामा आक्रमणसम्म भएको अवस्था थियो। २०७४ सालको निर्वाचनसम्मको अवस्थामा केही सुधार भए पनि तराई मधेस एमालेको लागि त्यति सहज थिएन। कतिपय स्थानमा प्रवेश निषेध नै गरिएको थियो। अध्यक्ष ओलीलाई मधेस छिर्न समस्या पारिएको थियो। २०७४ सालको आम निर्वाचनपछि ओली नै मुलुकको प्रधानमन्त्री भए। उनकै नेतृत्वमा ओलीलाई मधेस विरोधी, संघीयता विरोधी भनेर भोट ल्याएका दलहरू नै पालैपालो सहभागी भए। सुरुवातमा नै उपेन्द्र यादव नै सरकारमा गए। त्यसपछि महन्त ठाकुर पनि ओली नेतृत्वको सरकारमा नै गए। जसले गर्दा ओली र एमालेप्रतिको मधेस परिवर्तन आउन थाल्यो। तर, अझै पनि मधेसमा एमालेको अवस्था अन्य प्रदेशका जस्तो हुन सकेको छैन। मधेस प्रदेश अध्यक्ष रामअवतार यादव यो पटक निर्वाचन मधेसमा एमाले प्रथम पार्टी हुने दाबी गर्छन्। 

 वीरगन्ज महानगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुँदै अध्यक्ष ओली सहितका नेता ।

‘मधेसमा एमाले अवस्था सुधार हुने मात्रै होइन। हेर्दै जानु होला अब निर्वाचनमा मधेसमा एमाले प्रथम पार्टी हुन्छ,’ उनले भने, ‘रौतहट, महोत्तरी, सिराहा, पर्साबाट पनि धेरै जनप्रतिनिधि, अन्य पार्टी ठूलै नेता एमाले आउँदैछन्।’ महोत्तरीका दुई पालिका प्रमुख, एक पालिकाका उपप्रमुखसहित वडाध्यक्षका साथै सिराहा, पर्सालगायतका जिल्लाबाट एमालेमा छिट्टै प्रवेश गर्ने उनले बताए। 

मधेसका राजनीतिक विश्लेषक राजेश अहिराज ओलीलाई विरोध गरेर भोट बटुल्नेहरू नै पालैपालो ओलीकै सरकारमा गएपछि पुरानो भ्रम चिरिँदै गएको बताउँछन्। ‘अघिल्लो पटक मधेसी जनताले मधेसी दललाई भोट दिए, एमालेलाई नै विरोध उनीहरूले राम्रो भोट पनि पाए तर पछि उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतोले एमालेलाई नै बुझाए, पालैपालो एमालेकै नेतृत्वको सरकारमा गए,’ उनले भने, ‘यसमा मधेसी जनताको चित्त दुखाइ छ।’ 

एमाले अध्यक्ष केपी शर्मा ओली आफैं कार्यक्रममा जान्छन् र नेताहरू पार्टी प्रवेश गराउँछन्। वीरगन्ज, रंगेली, नेपालगन्ज, कपिलवस्तु र बारालगायत स्थानमा भएको पार्टी प्रवेशमा आफैं उपस्थित भएका छन्। 
आफूले दिएको भोट एमालेलाई नै बुझाउने हो भने प्रत्यक्षरूपमा नै उसलाई भोट दिँदा भइहाल्ने रहेछ भन्ने भावना पनि पछिल्लो समयमा मधेसमा देखिएको उनको विश्लेषण छ। कांग्रेसको हकमा भने हिजो त्यही दल छोडेर आएका मधेसवादी दल बनाएका कारण पनि पुनः फर्केर जानेतर्फ आकर्षण नभएकोले एमालेलाई फाइदा भएको उनको भनाइ छ। 

हिजो मधेस विरोधीको पार्टीसँगै पालैपालो सत्तामा गएका कारण एमालेको हिजो जस्तो विरोध गर्ने नैतिक धरातल पनि मधेसवादी दलसँग नरहेको उनको ठम्याइँ छ। उता केपी शर्मा ओली प्रधानमन्त्री भएको बेलामा विखण्डनकारी शक्तिलाई पनि मूलधारमा ल्याउने काम भएको छ। विखण्डनकारी गतिविधिमा सक्रिय सीके राउतलाई ओलीले नै मूलधारमा ल्याएका हुन्। ‘मधेसी जनता विखण्डनकारी गतिविधिप्रति खुसी थिएनन्। त्यो गतिविधि गरिरहेका सीके राउतलाई ओलीले नै मेन स्ट्रिममा ल्याए। जसले गर्दा एमाले विरोधी भावनामा परिवर्तन ल्याउने काम गर्‍यो,’ उनले भने।

एमालेकै सरकारका पालामा मूलधारमा आएको सीके राउत नरम हुने उनको विश्लेषण छ। उनका अनुसार अर्कोतिर सत्ता रहेको पार्टीभन्दा बाहिर बसेका पार्टीप्रति जनता प्रभावित हुने हुँदा पनि एमाले विगतभन्दा फाइदा नै हुन्छ। 

केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा विगतका निर्वाचन र सोभन्दा अगाडिदेखि एमालेका विरुद्ध भ्रम प्रचार गरिएको, घृणा फैलाइएको र तराई मधेसमा एमालेप्रति आकर्षणले राजनीतिक शक्ति सन्तुलनलाई नै बदल्ने स्पष्ट पारिएको छ। 

ओलीको ‘मधेस कार्ड’ को परिणाम भने निर्वाचनमा देखिनेछ। तर, कुनै प्रवेश निषेधको अवस्थामा रहेका ओली पनि मधेसमा आकर्षणको केन्द्र बन्न थालेका छन्। २०७४ सालको स्थानीय निर्वाचनमा राजमार्गको उत्तर र त्यसको आसपासको क्षेत्र मात्रै एमालेको प्रभाव थियो। राजमार्गभन्दा दक्षिणको क्षेत्रमा प्रभाव विस्तार गर्ने एमाले योजना बनाएर अघि बढेको छ। 

मोरङको रंगेलीमा आयोजित कार्यक्रममा सहभागी नेता कार्यकर्ता ।

अघिल्लो निर्वाचनमा धेरै तराई मधेसका मुस्लिम समुदायका नेतालाई एमालेमा प्रवेश गराए पनि मधेसी समुदाय समेट्न हम्मे नै परेको थियो। यसपटक भने अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिदेखि केन्द्रीय तहका मधेसी समुदायका नेता पनि एमालेमा आइरहेका छन्। 

मधेसमा आउने स्थानीय तहको निर्वाचन केही मात्र सुधार हुने विश्लेषकहरू समेत बताउँछन्। राजेश अहिराज अझै पनि एमाले मधेसमा पहिलो शक्ति हुने अवस्था भने रहेको टिप्पणी गर्छन्। स्थानीय तहको एमालेको थोरै मत प्रतिशत र जनप्रतिनिधि बढ्ने उनको विश्लेषण छ। ‘मत प्रतिशत र जनप्रतिनिधि बढ्छन् तर तराई मधेस अझै एमाले पहिलो शक्ति हुने अवस्था भने छैन, यही अवस्था कांग्रेस नै मधेसमा पहिलो शक्ति हुन्छ’ उनले भने। 

तराई मधेस कांग्रेसको आधार भूमि नै हो। तर अहिले जसपाको प्रभाव छ। जसपा र कांग्रेस मिलेमा मधेसमा कांग्रेसलाई नै क्षति हुने उनको टिप्पणी छ। २०७४ को निर्वाचनमा मधेसमा कांग्रेसको पकड थियो। एमालेप्रतिको नकारात्मक भावना, मधेसवादी फरकफरक लडेका कारणले कांग्रेसलाई फाइदा पुगेको थियो। अहिले पनि उपेन्द्र, महन्थ, सीके राउत फरकफरक रूपमा लड्दा मधेसको मत विभाजन उनको भनाइ छ। 

मधेसमा एमालेको अवस्था सुधार हुने मात्रै होइन अब निर्वाचनमा प्रथम पार्टी हुन्छ। रौतहट, महोत्तरी, सिराहा, पर्साबाट पनि धेरै जनप्रतिनिधि र अन्य पार्टीका ठूलै नेता आउँदैछन्। महोत्तरीका दुई पालिका प्रमुख, एक पालिकाका उपप्रमुखसहित वडाध्यक्षका साथै सिराहा, पर्सालगायतका जिल्लाबाट छिट्टै प्रवेश गर्नेछन्। 
रामअवतार यादव - अध्यक्ष, मधेस प्रदेश

मधेस विश्लेषक एवं पत्रकार चन्द्रकिशोर झा लोकतन्त्र र चुनावी राजनीतिमा नेता कार्यकर्ता यताउता हुँदा प्रभाव पर्ने बताउँछन्। ‘मेयर, उपमेयर, पार्टीका नेता जाँदा माहोल त आउँछ नै,’ उनले भने। उनले एमाले संगठन विस्तारमा यसले राम्रै भूमिका खेल्ने टिप्पणी गरे। ‘संगठन विस्तारमा जो मान्छे गए त्यसले प्रभाव पार्छ नै। योभन्दा पहिला मधेसमा एमालेको संरचना त थियो तर आत्मविश्वास, हौसला थिएन,’ उनले भने। 

विश्लेषक झाले पछिल्लो समयमा एमालेमा गएका नेताले दीर्घकालीन राजनीति मात्रै राम्रो नगर्ने स्पष्ट पारे। ‘खाल्डो त पुर्छ नै तर यी आयाराम गयारामले दीर्घकालीन राजनीतिमा त्यति ठूलो प्रभाव पार्दैन, एमालेजस्तो संघर्षशील पाटीका प्रतिबद्ध र पुराना कार्यकर्तामा निराशा नै हुन्छ, उनीहरूको मनोबल गिर्छ,’ उनले प्रश्न गर्दै भने, मेयरहरू त गए, तर उनीहरू मेयर हुँदा के गरे, उनीहरूको कुनै त्यस्तो मोडल छ न विकासको लागि, समृद्ध नेपाल सुखी नेपाली बनाउन यिनीहरूको भूमिका के होला ?’ 

उनले पछिल्लो समयमा मधेस कुनै पनि पार्टीप्रति निषेधको राजनीति नभएको बताए। ‘हिजो निषेध गर्नेहरू सत्ता शक्ति लडीबुडी गरे, फेरि मधेस भनेको मधेसी दलको पेवा पनि होइन, यो त वञ्चितीकरण परेको जनताको पक्षमा एमालेजस्तो जिम्मेवार पार्टीको भूमिका हुनु नै पर्छ, उनले भने।  

वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीलाई पार्टी प्रवेश गराउँदै एमाले अध्यक्ष केपी शर्मा ओली।  तस्बिर : क्रान्ति शाह

वीरगन्जका मेयर सरावगीले मधेसवादी भनिएका दलले मधेसलाई भजाउने मात्रै काम गरेको बताए। उनले आफूलाई मेयर हुँदा जसपा (तत्कालीन आफ्नै पार्टी)का नेता तथा कार्यकर्ताले दुःख दिएको गुनासो पनि गरे। जसपा त जाति विशेषको पार्टी भयो, मधेस आन्दोलनलाई भजाउने काम मात्रै गर्‍यो, त्यही पार्टीबाट हामी जनप्रतिनिधि निर्वाचित भयौं तर हामी सहजका काम गर्न उनीहरूले नै दिएनन, दुःखमात्रै दिए, उनले भने। 

उनले आफू कुनै लाभको लागि नभएर जसपाबाट दुःख पाएँ तथा एमालेको नीति र काम मन परेर गएको दाबी गरे। राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभ अघिल्लो निर्वाचनजस्तो एमालेप्रति आक्रोश भने तराई मधेस नभएको बताए। मधेस केन्द्रित दल नै उसकै नेतृत्वका सरकार गएपछि अवस्थामा परिवर्तन आएको उनको विश्लेषण छ। ‘अघिल्लो निर्वाचनभन्दा अहिले अवस्थामा परिवर्तन आएको छ, आक्रोश त अलिअलि छ, तर हिजोजस्तो निषेधकै अवस्था छैन, उनले भने, मधेस केन्द्रित दल नै एमालेकै नेतृत्वको सरकारमा गए, त्यसले पनि अवस्थामा परिवर्तन आएको हो।’

धेरै नेता एमालेमा जानुको सिद्धान्त र निष्ठाको लागि नभएर पद र सत्ताकै लागि भएको उनको भनाइ छ। कुनै सिद्धान्तको राजनीतिक छैन, पुराना पार्टीमा टिकट पाइँदैन भनेर टिकट र अवसरका लागि नै मधेसमा आयाराम र गयारामको अवस्था छ, उनले भने। उनले आन्दोलनको अवस्थाजस्तो सिद्धान्त र निष्ठाको लागि पार्टी परिवर्तन भने नभएको स्पष्ट पारे। 

एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजाल ठूलो संख्यामा अन्य पार्टीबाट नेता, कार्यकर्ता एमालेमा आइरहेको र आउने क्रममा पनि रहेको बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.