बिचौलियामुक्त वैदेशिक रोजगारी

बिचौलियामुक्त वैदेशिक रोजगारी

पछिल्लो तथ्यांकअनुसार नेपालबाट औसतमा दैनिक १६ सयभन्दा बढी व्यक्ति कामका लागि बिदेसिएको पाइन्छ। वैदेशिक रोजगारीको मुख्य गन्तव्यका रूपमा साउदी अरब, कतार, यूएई, कुबेत, मलेसिया, बहराइन, ओमन, दक्षिण कोरियालगायतका देश छन्। नेपालको संविधानको धारा ३३ मा रोजगारीको हकअन्तर्गत प्रत्येक नागरिकलाई रोजगारीको हक हुने उल्लेख छ। संविधानको धारा ५१(झ) मा श्रम तथा रोजगारसम्बन्धी नीतिमा सबैले काम गर्न पाउने अवस्था सुनिश्चित गरिएको छ। देशको मुख्य सामाजिक आर्थिक शक्तिको रूपमा रहेको श्रमशक्तिलाई दक्ष र व्यावसायिक बनाउने पनि छ। स्वदेशमै रोजगारी अभिवृद्धि गर्ने पनि उल्लेख छ। यद्यपि नेपालमा रोजगारीको पर्याप्त अवसर सिर्जना हुन नसक्दा प्रत्येक वर्ष लाखौं युवा कामका लागि बिदेसिन बाध्य छन्।

वैदेशिक रोजगारीमा जाने नेपाली ठगिएको, विदेशमा अलपत्र परेको, एक ठाउँ भनेको अर्को ठाउँ परेको, भनेजस्तो तलब नपाएको आदि धेरै गुनासा सुनिन्छन्। आकर्षक तलब सुविधा पाउने लोभमा भिजिट भिसामा गएका नेपाली अलपत्र परेका छन्। म्यानपावर कम्पनीले नै भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा महंगो शुल्क लिएर पठाउने गरेको पनि पाइन्छ। बिचौलियाले सोझा नागरिकलाई ठग्नु सामान्य भइसकेको छ। श्रम स्वीकृति नलिई भिजिट भिसा वा व्यावसायिक भिसामा तथा दलाल, बिचौलियाको माध्यमबाट जाने व्यक्तिले विदेशमा दुःख पाएको भेटिन्छ। विदेश गएपश्चात् पछुताउने र समस्या परेपछि उद्धार र सहयोगका लागि हारगुहार गर्नुपर्ने अवस्था आउन सक्छ। तर त्यसपूर्व नै वैदेशिक रोजगारका सम्बन्धमा सही सूचना र जानकारी प्राप्त गरेमा समस्या झेल्नु पर्दैन। सुरक्षित रूपमा वैदेशिक रोजगारमा जानको लागि विदेश जानुपूर्व, विदेश गइसकेपछि र विदेशबाट फर्केपछि थाहा पाउनुपर्ने कुरामा लेख केन्द्रित छ।

वैदेशिक रोजगारमा जान कानुनी प्रक्रिया पु¥याई व्यक्तिगत र संस्थागत गरी दुई किसिमले वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति प्राप्त गर्न सकिन्छ। वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न वैदेशिक रोजगार विभागबाट इजाजत लिएका म्यानपावर कम्पनीले संस्थागत रूपमा विदेश पठाउने काम गर्छन्। व्यक्तिगत प्रयासबाट भिसा प्राप्ति गरी वैदेशिक रोजगारमा जाने व्यक्तिले आवश्यक कागजात अनलाइनमा भरी श्रम स्वीकृति लिनुपर्छ।

१८ वर्ष पूरा भएको अवस्थामा मात्र वैदेशिक रोजगारीको प्रक्रिया अवलम्बन गर्नुपर्छ। वैदेशिक रोजगारीमा जाने क्रममा झुटा विवरण वा कागजात पेस गर्नु हुँदैन। आफू जान चाहेको मुलुक, कम्पनी, काम गर्ने पद, लागत खर्च, पाउने तलब, बस्ने व्यवस्था, काम गर्नु पर्ने घण्टा, ओभरटाइम भत्ता, करार अवधि आदिलगायत सेवासुविधाबारे थाहा पाउनुपर्छ। पहिले गएकाहरूको अनुभव र घरपरिवारसँग सल्लाह, परामर्श गरी सहमतिमा मात्र विदेश जाने योजना बनाउनुपर्छ। वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारमा जानु पर्छ। श्रम स्वीकृति लिएर गएमा मात्र विदेशमा कुनै समस्या परेमा उद्धार गर्न तथा क्षतिपूर्ति दिलाउन सहयोग पुग्छ।

वैदेशिक रोजगारमा जाँदा नवीकरण भएको विश्वासिलो र भरपर्दो म्यानपावर कम्पनीमार्फत जानुपर्छ। वैदेशिक रोजगार विभागबाट इजाजत लिएको म्यानपावर कम्पनी हो कि होइन ?

उक्त मेनपावरको काम कारबाही रोक्का भएको छ छैन ? खारेजीमा परेको छ छैन ? इजाजत प्राप्त म्यानपावर कम्पनीको सूचना÷विज्ञापन हो होइन ? बुझ्नुपर्छ। बिचौलियाहरूको भर पर्नु हुँदैन। सरकारले निषेध गरेको देशमा र काममा जानु हुँदैन। भिजिट भिसामा जानु हँुदैन। भिजिट भिसामा विदेशमा श्रम गर्न जानु अवैधानिक हुने र यस्ता व्यक्तिको सेवा, सुविधा र सर्त सम्बन्धमा वैदेशिक रोजगार ऐन र नियमावली आकर्षित नहुने हुन्छ। यसरी अलपत्र परेमा दुःख पाएमा स्वयं व्यक्ति नै जिम्मेवार हुनुपर्छ।
आफ्नो नाममा भिसा प्राप्त भई वैदेशिक रोजगारमा जाने निश्चित भएपछि र जाने लागत खर्च यकिन भएपछि म्यानपावर कम्पनीमा पैसा बुझाएर भरपाई लिनु पर्छ। बैंकमार्फत कारोबार भए म्यानपावर कम्पनीको बैंक खातामा रकम बुझाई भौचर लिनुपर्छ। पूर्वस्वीकृतिअनुसारको विज्ञापनमा उल्लेख भएको भन्दा बढी रकम दिन हुँदैन। इजाजत प्राप्त म्यानपावर कम्पनीले विदेश पठाउन पासपोर्ट माग गरेमा कुन देशमा कुन कामका लागि कति अवधिभित्र पठाउने र कति लागतमा पठाउने हो ? यकिन गरी भरपाई लिएर मात्र सक्कल पासपोर्ट बुझाउनुपर्छ।

सीप सिकेर विदेश जाँदा तलब र सुविधा धेरै हुने भएकाले सीप सिकेर मात्र जानुपर्छ। सीप तालिम लिँदा बढी खर्च र समय लाग्छ भनेर टार्ने, नक्कली प्रमाणपत्र बनाएर जाने, आफूले नजानेको काम जान्दछु भनेर जानु हुँदैन। सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराउनुपर्छ र तोकिएको होलोग्राम भएको स्वास्थ्य परीक्षण प्रमाणपत्र लिनुपर्छ। म्यादी जीवन बिमा र वैदेशिक रोजगार कल्याण कोषको रकम अनलाइन भुक्तानी प्रदायकमार्फत भुक्तानी गर्नुपर्छ। विदेश जानुअघि स्वीकृत अभिमुखीकरण संस्थामा गई अनिवार्य रूपमा दुई दिनको अभिमुखीकरण तालिम तथा जाने मुलुकको श्रम कानुनसम्बन्धी जानकारी लिनुपर्छ। अभिमुखीकरण तालिमबाट आफू जाने देशको भौगोलिक अवस्था, हावापानी, रहनसहन, धर्म, कानुन, काम गर्ने वातावरण, ट्राफिक नियम, श्रमसम्बन्धी सामान्य कानुनी प्रावधान आदि विषयमा पर्याप्त जानकारी प्राप्ति हुन्छ।

बिदामा स्वदेश आएर पुनः फर्कनु परेमा श्रम स्वीकृतिको म्याद ९० दिनभन्दा बढी भए नभएको यकिन गर्नुपर्छ। म्याद कम भएको वा सकिएको भए उडानको मिति निश्चित गर्नुअगावै पुनः श्रम स्वीकृति गर्नुपर्छ। वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा विवरण प्रविष्टि गर्दा सही विवरण राखी सक्कलसँग राम्ररी रुजु गरी यकिन भइसकेपछि मात्र पेस गर्नुपर्छ। पुनः श्रम स्वीकृति गर्दा म्यादी जीवन बिमाको शुल्क उमेरअनुसार हुने र वैदेशिक रोजगार कल्याणकारी कोषका लागि १५ सय रुपैयाँ शुल्क लाग्छ। यदि घरमा नभरेर अन्यत्र अनलाइन फाराम भर्नु परेमा आफूलाई लाग्ने शुल्कको बारेमा पूर्ण जानकारी राखी ठगिन हँुदैन। बिचौलियाहरूले सजिलै हुने र हुँदै नहुने काम मिलाइदिन्छु भन्दै रकम मागेमा ठाडै इन्कार गर्नुपर्छ। सम्बन्धित नियामक निकाय वा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको कल सेन्टर वा वैदेशिक रोजगार विभाग र कार्यालयमा सोको जानकारी गराउनुपर्छ।

स्वदेशी विमानस्थलवाट मात्र विदेश जानुपर्छ। अन्य छिमेकी देशको बाटो गरेर जाँदा बेचिन वा ठगीमा पर्न सकिन्छ। लुकीछिपी जाँदा कानुनी कार्बाही हुने, अलपत्र पर्ने, दुर्घटना हुने, सम्झौताबमोजिम काम नपाउने, उद्धार गर्न कठिन हुने हुन्छ। कल्याणकारी कोष, बिमा कम्पनीबाट प्राप्त हुने सेवासुविधा प्राप्त नहुने हुँदा विशेष होस पु¥याउनुपर्छ। राहदानी, भिसा, श्रम स्वीकृति, करारपत्र, तालिमहरूको प्रमाणपत्र, रकम बुझाएको रसिदहरू, बिमा, स्वास्थ्य परीक्षण आदिको कागजात आफूसँग सुरक्षित राख्नुपर्छ। र सोको फोटोकपी घरपरिवारका व्यक्तिहरू वा भरपर्दो अभिभावकलाई छोड्नुपर्छ। आफ्नो साथमा लिएर जानुपर्ने कागजातहरू रुजु गरेर लिएर जानुपर्छ। जसले गर्दा अध्यागमनको प्रस्थान कक्षमा वा विदेशमा पुगेर समस्या झेल्नु पर्दैन। श्रम स्वीकृतिको प्रमाण प्राप्त नहँुदै हवाई टिकट खरिद गर्नु हुँदैन। वैदेशिक रोजगारको क्रममा ठगीमा परे वैदेशिक रोजगार विभागमा उजुरी गर्नु पर्छ।

नियमअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएपछि उक्त मुलुकमा रहेको नेपाली राजदूतावासमा सम्भव भएसम्म सम्पर्क गर्नुपर्छ। वैदेशिक रोजगारको क्रममा समस्या आएमा राजदूतावासमा जानकारी गराउनु पर्छ। राजदूतावास, गैरआवासीय नेपाली संघ एवं नेपाली संघ संस्था तथा नेपालमा भएको श्रम कल सेन्टरको सम्पर्क ठेगाना, फोन साथमा राख्नुपर्छ। अप्ठ्यारो र कठिनाइ पर्दा सम्पर्क गर्न सजिलो हुन्छ।

विदेशमा रहँदा घरपरिवारको नियमित सम्पर्कमा रहनुपर्छ। काम गरिरहेको वा काम गर्न गएको कम्पनी छोडी अन्यत्र काम गर्न जानु हँुदैन। कतिपय देशमा यस्तो गरेमा गैरकानुनी हुन्छ, जेल सजाय पनि हुनसक्छ। करार अवधि सकिएपछि जीवन बिमा र वैदेशिक रोजगार कल्याण कोषमा रकम भुक्तानी गरी श्रम स्वीकृति लिनुपर्छ। अन्यथा दुर्घटना पर्दा बिमा र अन्य आर्थिक सहायताको सुविधा पाइँदैन। सम्झौता गरेको भन्दा फरक कम्पनीमा, फरक काममा, कम पारिश्रमिकमा काम लगाएको हुनसक्छ। भए तुरुन्त नेपाली राजदूतावास, वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्छ। आफू खुसी अन्यत्र काम गर्न जानु हुँदैन।

स्वास्थ्य र क्षमताको ख्याल गरेर काम गर्नुपर्छ। स्वास्थ्यमा असर पर्ने गरी क्षमताभन्दा बढी ओभरटाइम काम गर्नु हुँदैन। कमाएको पैसाको फजुल खर्च गर्नु हुँदैन। बचाएको पैसा बैंकिङ च्यानलवाट पठाउनु पर्छ। हुन्डीबाट पठाउनु गैरकानुनी हुन्छ। खासगरी खाडी मुलुकमा जाँदा पानपराग तथा अन्य सुर्तीजन्य पदार्थ, मदिरा लैजान र सार्वजनिक स्थानमा प्रयोग गर्न प्रतिबन्ध छ। यस्ता सामान लुकाई लगेमा, बिक्री गरेमा वा प्रयोग गरेमा कडा सजाय हुन्छ। जाँडरक्सी र लागूपदार्थजस्ता कुलतमा लाग्नु हुँदैन।

सम्बन्धित मुलुक र कम्पनीको नियम पालना गर्नुपर्छ। अरूको धर्म–संस्कृतिको सम्मान गर्नुपर्छ। अनावश्यक झैझगडा र अरूको उक्साहटमा हडतालमा उत्रनु हुँदैन। सम्बन्धित देशको ट्राफिक नियम पालना गर्नुपर्छ। अनुमतिको अवधिपश्चात नियम(ानुसार म्याद थप नगरी अवैधानिक रूपमा विदेशमा बस्न वा काम गर्न हुँदैन। वैदेशिक रोजगारीको क्रममा भएको सम्झौताअनुसारको अवधिभित्र करार भंग नभएसम्म उक्त कार्य छाडी अन्यत्र काम गर्न वा बिनास्वीकृति काम छाडी अन्यत्र जान हुँदैन।

कुनै समस्या परेर फर्कनु परेमा वैदेशिक रोजगार विभाग र पठाउने म्यानपावर कम्पनीमा फिर्ता आएपछि तुरुन्तै जानकारी गराउनु पर्छ। स्वदेशमा बस्ने भएमा वैदेशिक रोजगारका क्रममा हासिल गरेका ज्ञान, सीप र अनुभवको प्रयोग गर्नुपर्छ। वैदेशिक रोजगारीका क्रममा आर्जित आम्दानीलाई उद्यम र व्यवसायमा लगानी गर्नुपर्छ। सरकारले वैदेशिक रोजगारीबाट फर्केर व्यवसाय गर्नेलाई सहुलियत ब्याजदरमा ऋण प्रदान गर्ने गरेको छ। वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीहरूलाई सम्मान तथा पुरस्कार पनि दिने गरेको छ। यसकारण स्वदेश फर्किएपछि गाउँठाउँमै उद्यम व्यवसाय गरी बस्नुपर्छ। वैदेशिक रोजगारीको क्षेत्रमा भएका विकृति, विसंगति र बेथिति नियन्त्रणका लागि सरकारले गरेका पहलमा सहयोग गर्नुपर्छ। वैदेशिक रोजगारीमा जान चाहनेलाई सही सूचना दिई सहजीकरण गर्नुपर्छ।

अन्त्यमा, नेपालमा प्रत्येक वर्ष करिब पाँच लाख थप जनशक्ति श्रम बजारमा प्रवेश गर्छन्। सरकारी र निजी क्षेत्रले सबैलाई स्वदेशमा रोजगारी दिन सक्ने अवस्था नभएकाले वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ। वैदेशिक रोजगारीमा जान चाहने र जाने व्यक्तिले वैदेशिक रोजगारको बारेमा राम्रोसँग थाहा पाएर र बुझेर गएमा वैदेशिक रोजगारी सुरक्षित र मर्यादित हुने देखिन्छ।

अर्याल वैदेशिक रोजगार कार्यालय, काठमाडौंका प्रमुख हुन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.