टिकट माग्दै, नेताका दैला चाहार्दै

टिकट माग्दै, नेताका दैला चाहार्दै

काठमाडौं : 

–    नेपाली कांग्रेस मकवानपुरका नेता प्रभात दाहाल स्थानीय निर्वाचनमा नगर प्रमुखको टिकट पक्का गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगे। हेटौंडा उपमहानगरपालिकाको नगरप्रमुखको दाबेदार उनी बागमती प्रदेश सभापति इन्द्र बानियाँसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुगेका हुन्। 

–    स्थानीय निर्वाचनको टिकटका लागि काभ्रेका अधिकांश पालिकाका नेता केही महिनादेखि काठमाडौंमै छन्। उनीहरूको मुख्य काम भनेकै नेताको घरमा धाउने र टिकट पक्का गर्ने हो। 

–    एमालेका सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्ट शल्यक्रिया गरेर घरमै बसेका छन्। उनलाई कम्तीमा पनि तीन साता आराम गर्न चिकित्सकको सुझाव छ। तर, अत्तरियास्थित उनको निवासमा ‘स्वास्थ्य लाभको कामना’ गर्ने बहानामा टिकट माग्नेको भीड नै लाग्छ। 

–    नेपालगन्ज उप–महानगरपालिकामा कांग्रेसबाट नगरप्रमुख पदमा १४ र उपप्रमुख पदमा ११ जनाको नाम सिफारिस भएको छ। नाम सिफारिस भएसँगै काठमाडौं गएका केही व्यक्ति टिकट टुंगो नलागेसम्म पार्टी सभापति देउवासहितका शीर्ष नेताको दैलो चाहर्नमै व्यस्त छन्। 

–    जाजरकोटको भेरी नगरपालिका–२ मा एउटै पार्टीका आधा दर्जनसहित दुई दर्जन बढी वडाध्यक्षका आकांक्षी छन्। जिल्लाका कुल ७७ वडामा सबै पार्टीका गरी झन्डै दुई हजार आकांक्षी छन्। यी आकांक्षीको दिनचर्या नेताको दैलो चहारेर 

बितिरहेको छ।  

–    बुटवल उपमहानगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेबाट आठ जना आकांक्षी छन्। एमाले बुटवल नगर कमिटीले आकांक्षीमध्ये कुनैको पनि नाम टुंग्याउन सकेन। जिल्ला कमिटीलाई ८ जनाकै नाम सिफारिस गर्‍यो। टिकट पाउन सबै जना अहिले शक्ति केन्द्र धाइरहेका छन्।

स्थानीय निर्वाचनका लागि आकांक्षी बढेपछि टिकटका लागि शक्तिकेन्द्र धाउनेको अहिले लाइन छ। जिल्लामा नै उम्मेदवारको टुंगो लाग्न नसक्दा र आकांक्षी विश्वस्त नहुँदा अध्यक्ष वा इञ्चार्जको घरमा नै पुगिरहेका छन्। संघीयताको पाँच वर्षे कार्यकालमा स्थानीय तहमा आएको बजेट र जनप्रतिनिधिले प्रयोग गरेको अधिकारको लोभमा पनि आकांक्षी बढेका हुन्। तहको प्रमुख वा उपप्रमुमा मात्रै होइन वडाध्यक्ष र सदस्यमा पनि आकांक्षी धेरै छन्। दल र नागरिकमा गरेको योगदानका आधारमा भन्दा पनि शक्ति केन्द्रको चाहनामा उम्मेदवार तय हुने क्रम यसपटकको निर्वाचनमा पनि देखिन थालेको छ। 

कोही आफ्नै लागि त, कोही आफू निकटका लागि टिकट दिलाउन बालुवाटार आउने गरेको बालुवाटार स्रोतको भनाइ छ। कांग्रेस सह–महामन्त्री महालक्ष्मी उपाध्याय (डीना) हेटौंडा उपमहानगरपालिकाको प्रमुख पदमा आनन्दराम पराजुलीलाई टिकट दिलाउन लागिपरेकी छन्। पटक–पटक पार्टी सभापति देउवालाई भेटिसकेकी छिन्। टिकटको दौडमा मकवानपुरमा नेकपा एकीकृत समाजवादीका नेताहरू पनि पछि छैनन्। हेटौंडा गठबन्धनभित्र समाजवादीको कोटामा पार्न पार्टीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपानेदेखि जिल्ला अध्यक्ष श्रीधर पोखरेलसम्म दौडधुपमै छन्। उपमहानगरको नेतृत्व भागबन्डाबाट आफ्नो पोल्टामा पार्न सके समाजवादीबाट नगर प्रमुखको उम्मेदवार बन्ने दाउमा छन्, पोखरेल।

नेकपा माओवादी केन्द्रका नेताहरू पनि नगर प्रमुख आफैंले राख्न दौडधुपमा छन्। नेता प्रकाश पाण्डे र ललित घलान पार्टीका केन्द्रीय नेताहरूसँग भेटघाटमा व्यस्त छन्। नेकपा एमालेभित्र कसले टिकट लिने भन्ने लडाइँ सतहमै देखिएको छ। उपमहानगरका बहालवाला नगरप्रमुख हरिबहादुर महत सत्ताको स्वाद चाखिसकेकाले दोहोरिन चाहन्छन्। एमाले केन्द्रीय सदस्य रामेश्वर राना, संविधानसभा सदस्य अनन्त पौडेल र जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल नगर प्रमुखको दौडमा छन्। आकांक्षीमा सहमति नजुटे एमाले मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठ आफैं चुनावी मैदानमा उत्रने गरी आन्तरिक तयारीमा जुटेका छन्। जिल्लाका अधिकांश पालिकाहरूमा उम्मेदवार टुङ्गो लगाएको एमालेले हेटौंडामा मात्र नगर प्रमुखको उम्मेदवार टुङ्गो लगाउन सकेको छैन। अन्य पालिकाबाट सिफारिस भएर आएका नामहरूका बारेमा छलफल भइरहेको एमाले मकवानपुरका सचिव नवीन सिग्देलले बताए। 

अन्योलमा गठबन्धन, एमाले उम्मेदवार छान्दै

एमालेले बागमती प्रदेशभर उम्मेदवार छनोट प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। प्रदेशका १३ जिल्लामध्ये कतिपयले पालिका अध्यक्ष, उपाध्यक्षसहित वडाध्यक्षका उम्मेदवार सर्वसम्मत टुङ्गो लागिसकको एमाले बागमती प्रदेशका उपमहासचिव तथा प्रचार–प्रसार प्रमुख महेश बर्तौलाले बताए। सबै नाम टुङ्गो लगाएर केन्द्रीय कमिटीमा पठाउने तयारीमा रहेको उनले जानकारी दिए।

गठबन्धनका दलहरू भने अझै अन्योलमा छन्। पाँच दलभित्र भागबन्डा मिलाउन सकस हुँदा नेताहरू टिकटका लागि दौडधुमा व्यस्त छन्। चुनावका लागि बागमती प्रदेशमा सत्ता साझेदार दलको पाँचदलीय गठबन्धनमा छलफल चल्दै छ। प्रदेशको १ सय १९ स्थानीय तहमध्ये २०७४ को निर्वाचनमा काठमाडौं महानगरपालिका र हेटौंडा उपमहानगरपालिका, ३१ नगरपालिका र ३३ गाउँपालिका प्रमुख एमालेले जितेको थियो। 

कांग्रेसले जिल्लामा निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि नै तोकेको छ। माओवादी र एमाले, नेकपा (एकीकृत समाजवादी) ले समेत उम्मेदवार छनोटमा मापदण्ड बनाएको छ। तर, अघिल्लो निर्वाचनमा विजयी भएका, नयाँ र युवा पुस्ताले आगामी निर्वाचनमा नगर तथा गाउँपालिका प्रमुख-उपप्रमुख, वडा अध्यक्ष लगायतका पदहरूमा दाबी गरेका कारण सहमति जुट्न सकेको छैन। 

काभ्रेका ६ नगरपालिका र ७ गाउँपालिकामध्ये अधिकांश पालिकाहरूका नेता टिकटका लागि अझै शक्तिकेन्द्र धाइरहेका छन्। ठूला तीन दलका नेताहरू केन्द्रीय नेताहरूकै भरमा छन्। बनेपा नगरपालिकामा एमालेबाट नगर प्रमुख निर्वाचित लक्ष्मी नरसिंह बादे श्रेष्ठ आफैं पनि फेरि नगर प्रमुखमा उठ्ने तयारीमा छन्। बहालवाला उप–नगर प्रमुख रेखा सापकोटाको पनि दाबी छ। रत्न कुस रन्जित र हरिशरण दाहालले समेत नगर प्रमुखमा एमालेबाट आकांक्षा राखेका छन्। कांग्रेसबाट बनेपा नगरपालिको नगर प्रमुखमा राम जोशी, सुरकृष्ण वैद्य, महेश कर्माचार्य, शान्तिरत्न शाक्यलगायतको दाबी छ। प्रायः आकांक्षीहरू टिकटकै लागि स्थानीयदेखि केन्द्र, प्रदेशका र केन्द्रका नेताहरूको घर÷घरमा दौडधुप गर्न थालेका छन्। 

धुलिखेल नगरपालिकाको नगर प्रमुखका लागि एमालेबाट बहालवाला नगर प्रमुख अशोककुमार ब्यन्जुको दाबी छ। यो नगरमा कांग्रेस बिदुर बस्नेत, रमेश हुमागाईं, ईश्वरी ओझा आकांक्षी छन्। माओवादी केन्द्रबाट पृथी थापाको नाम छ। पनौती नगरपालिकामा बहालवाला नगर प्रमुख भीम न्यौपाने एमालेबाट कार्यकाल दोहोर्‍याउने दाउमा छन्। कांग्रेसबाट रामशरण भण्डारी, प्रदीप बोगटी, भोला थापालगायतकोे दाबी छ। माओवादी केन्द्रबाट हस्तबहादुर लामा आकांक्षी देखिएका छन्। 

रामेछापमा सत्ता गठबन्धनका दलले चुनावी तालमेल गर्ने साझा निर्णय गरेको छ। एमाले एकल चुनावी मैदानमा होमिने गरी चुनावी तयारीमा छ। एमाले रामेछापले केही पालिका र वडाहरूमा सहमति भएका उम्मेदवारको नाम प्रदेश कमिटीमा पठाएको छ। बाँकी स्थानीय निकायमा टिकटका लागि नेताहरूको दौडधुप छ। यस्तै सत्ता गठबन्धन दलमा भने अहिलेसम्म अन्योल देखिन्छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कुन–कुन स्थानीय निकाय लिने भन्ने टुंगो लागेको छैन। 

वडा सदस्यदेखि वडाध्यक्षसम्मका फोन आइरहेका छन्। हामीले वडाको भूगोलमै टुंग्याउन भनेका छौं। तापनि, फोनहरू थेग्न नसक्ने अवस्था छ। 
– दामोदर भण्डारी
अध्यक्ष, एमाले सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा प्रभावशाली नेतामा पर्छन्, एमाले सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्ट। उनी शल्यक्रिया गरेर घरमै बसेका छन। तर, पनि ‘स्वास्थ्य लाभको कामना’ गर्ने बहानमा टिकट माग्नेको लाइन उनको घरमा लाग्छ। ‘बिरामी भेट्न आएको भन्छन्। चुनाव नजिक आइरहेका बेला टिकटका लागि पनि कुरा त गर्ने नै भए नि ?’ भट्टका स्वकीय सचिव हितेश ओझाले भने। 

पार्टीका जिल्लादेखि प्रदेश अध्यक्षको घरमा पनि उस्तै अवस्था छ। ‘वडा सदस्यदेखि वडाध्यक्षसम्मका पनि फोन आइरहेका छन्। हामीले वडाको भूगोलमै टुंग्याउन भनेका छौं, तर पनि फोनहरूले थेग्न नसक्ने अवस्था आएको छ’, नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले भने। 

सबैभन्दा बढी टिकटका लागि कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीमा रडाको देखिएको छ। नेकपा तीन टुक्रा भएका बेला पनि सबै स्थानीय तहमा टिकट नदिने भन्दै कांग्रेस कार्यकर्ता रुष्ट भइरहेका छन्। कांग्रेस कैलालीका सभापति नारायण दत्त भट्ट भन्छन्, ‘गठबन्धनको मापदण्ड बनाइन्छ। अनि स्थानीय तहमा कसले कसरी लड्ने भन्ने कुराको तय हुन्छ। अहिले टिकटका लागि त थेगिनसक्नु छ।’ 

अछाम साँफेबगर नगरपालिकामा प्रमुख पदका लागि मात्र कांग्रेसका १२ र एमालेका ७ जना आकांक्षी छन्। युवा पुस्ता अग्रजको पालो पुगेकाले आफूलाई अवसर दिनुपर्ने दाबी गरिरहेका छन्। ४ नगरपालिका र ६ गाउँपालिका रहेको अछाममा सबै दललाई आकांक्षी व्यवस्थापनमा चुनौती रहेको कांगे्रस अछामका सभापति पुष्पबहादुर शाहले बताए। उनले भने, ‘निरन्तर गठबन्धनको बैठकमा छौं। आकांक्षीहरू धेरै छन्। व्यवस्थापन गर्न निकै गाहे छ।’ 

मधेस प्रदेशको एक मात्र महानगरपालिकामा वीरगन्जमा कुनै पार्टीले उम्मेदवारको टुंगो लगाएका छैनन्। जनकपुर उपमहानगरपालिकाको नेतृत्वका लागि प्रमुख दलका दर्जनौं आकांक्षी छन्। हाल नगर प्रमुख रहेकासहित तीन जना जनकपुरको नगर प्रमुखका आकांक्षी हुन्। बहालवाला नगर प्रमुख लालकिशोर साह कार्यकाल दोहोर्‍याउने दाउमा छन्। उनले जसपाबाट चुनाव जितेका हुन्। जसपाकै नगर अध्यक्ष विष्णुदेव साह र प्रदेश सदस्य बजरंग यादवले पनि पार्टीभित्र दाबेदारी प्रस्तुत गरेका छन्। विष्णुदेव यसअघि तत्कालीन समाजवादी पार्टीबाट नगर प्रमुखको उम्मेदवार बनेका थिए। 

गठबन्धनको मापदण्ड बनाइन्छ। अनि स्थानीय तहमा कसले कसरी लड्ने भन्ने तय हुन्छ। अहिले टिकटका लागि त थेगिनसक्नु छ। 
– नारायणदत्त भट्ट
सभापति, कांग्रेस कैलाली

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट नगर प्रमुखमै ४ जना आकांक्षी छन्। लोसपाबाट प्रदेशसभा सदस्य परमेश्वर साह, वर्तमान उपनगर प्रमुख रीता मिश्र, नगर अध्यक्ष मनोज चौधरी र वडाध्यक्ष जानकीराम साह आकांक्षी हुन्। यो नगरमा कांग्रेसबाट ४ जना, एमालेबाट २ जना, नेकपा एकीकृत समाजवादी पार्टी र जनमत पार्टीबाट १÷१ जना नगर प्रमुखका आकांक्षी छन्। 

सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा नगर प्रमुखपदका आकांक्षी जसपाबाट शम्भु यादव र भीमराज यादव छन्। शम्भु हालका नगर प्रमुख पनि हुन्।  भीमराज यसअघि नगर प्रमुख पदका निकटतम् प्रतिद्वन्द्वी हुन्। नेकपा एमालेबाट अनिल झा र कांग्रेसबाट धु्रव देव नगर प्रमुख पदका आकांक्षी हुन्। मधेस प्रदेशका १ सय ३६ स्थानीय तहमा आकांक्षी धेरै भएकाले टिकट वितरणमा सकस छ। 

बुटवल उपमहानगरपालिकामा नगर प्रमुखमा एमालेबाट ८ जना आकांक्षी भए। एमाले बुटवल नगर कमिटीले नाम टुंग्याउन नसकेपछि जिल्ला कमिटीलाई ८ जनाकै नाम सिफारिस गर्‍यो। टिकट पाउन सबै जना अहिले शक्ति केन्द्र धाइरहेका छन्। बुटवलमा बहालवाला नगर प्रमुख शिवराज सुवेदीसँगै गोपाल राना, बाबुराम भट्टराई, तेजेन्द्र केसी, गुमादेवी आचार्य, सावित्रा अर्याल, रामप्रसाद रेग्मी र सूर्यबहादुर भट्टराईको नाम सिफारिस भएको छ। यीमध्ये केसी एमाले जिल्ला अध्यक्ष हुन् भने आचार्य बहालवाला उप–प्रमुख हुन्। स्थानीय तह निर्वाचन–०७० मा सुवेदीले पार्टी अध्यक्ष केपी शर्मा ओलीबाटै सिधै टिकट हात पारेका थिए। 

बुटवलजस्तै रुपन्देहीको अन्य स्थानीय तहमा उम्मेदवारको टिकटका लागि होडबाजी छ। आकांक्षीमा अधिकांश ‘कुर्सीको रस’ चाखिसकेका जनप्रतिनिधिहरू नै पुनः दोहोरिन पार्टी हेडक्वाटरसम्म लबिङ गरिरहेका छन्। सियारी गाउँपालिकामा एमालेबाट निर्वाचित अध्यक्ष अयोध्या थारु र शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरीले सरकारी गाडी नै पालिकालाई फिर्ता गरेर टिकटको दाउमा लागेका छन्। 

तिलोत्तमा नगरपालिकामा पनि नगर प्रमुखमा चार जनाको नाम सिफारिस भएको छ। वर्तमान नगर प्रमुख वासुदेव घिमिरे, मोहन चापागाईं, यज्ञ गैरे र दिनेश फुल्लेल छन्। यीमध्ये चापागार्इं गएको निर्वाचनमा टिकट प्राप्त गरिसकेर पनि अन्तिम समयमा गुमाएका थिए। 

सबैभन्दा बढी टिकटका लागि कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीमा नै अहिले समस्या हुने हो। उम्मेदवारको टुंगो नलागेसम्म टिकटका लागि दौडधुप भइरहन्छ।  
– बृजहाङ आङ्देम्बे
उपसभापति, कांग्रेस पाँचथर

कांग्रेसबाट नेपालगन्ज उप–महानगरपालिकामा नगर प्रमुख पदमा १४ र उप–प्रमुखमा पनि ११ जनाको नाम सिफारिस भएको छ। नगर प्रमुखमा उपमहानगरको बहालवाला उप–प्रमुख उमा थापा मगर, अघिल्लो निर्वाचनका निकटम प्रतिद्वन्द्वी डा.सुरेशकुमार कनोडिया, पार्टीका नगर अध्यक्ष प्रशान्त विष्ट, रमेशकुमार गुप्ता, सुनील राणा, निरञ्जनसिंह सिजापति, माया पुन, अजितकुमार शर्मा, रवीन्द्रमान श्रेष्ठ, वीरेन्द्रबहादुर शाह, अच्युत प्रसाईं, ललित रौनियार, मो.कादिर जोलाहा र दिवाकर खनाल छन्। नाम सिफारिस भएसँगै काठमाडौं गएका केही व्यक्ति टिकट टुंगो नलागेसम्म पार्टी सभापति देउवासहितको नेताको दैलो चाहर्नमै व्यस्त भएको नगरमा चर्चा छ। 

एमालेले नगर प्रमुखमा स्वतन्त्र राजनीतिक समूहबाट एमालेमा प्रवेश गरेका पशुपति दयाल मिश्र, नगर अध्यक्ष दत्तप्रसाद आचार्यको नाम जिल्ला हुँदै केन्द्रमा पठाएको छ। नगरबाट जिल्ला हुँदै प्रदेशमा मिश्रको नाम मात्र सिफारिस गरेको प्रचारित गरे पनि एमाले लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्यले जिल्लाको सिफारिसमा दुई जनाको नाम भएकाले सोही नाम केन्द्रमा पठाएको बताए। नगरमा माओवादी केन्द्रबाट ३ जना (आदेश अग्रवाल, नवीन शर्मा र नन्दलाल वैश्य), जनता समाजवादी पार्टीबाट कमरुद्दिन राई, नेकपा एकीकृत समाजवादीबाट समसुद्धिन सिद्धिकी, राप्रपाबाट सफिक बेहना र गौरव चन्द आकांक्षी बनेका छन्।  

जाजरकोटमा गठबन्धन भए जित सुनिश्चित हुने भन्दै सत्ताधारी दलका आकांक्षीहरूले दौडधुप तीव्र बनाएका छन्। गठबन्धनबाट एमालेका आकांक्षीहरू हच्किएका छन्। कांग्रेसबाट भेरी नगरपालिका–२ मा बहालवाला वडाध्यक्ष कालीबहादुर वलीसहित ५ जना, माओवादी केन्द्रबाट सूर्यप्रकाश सेनसहित ७ जना, एमालेबाट धनबहादुर पुनसहित ६ जना, समाजवादी, राप्रपा गरी २५ जना आकांक्षी छन्। नगरका अन्य वडा र अरू पालिकामा वडाध्यक्ष ७७ वडामा सबै पार्टीका गरी झन्डै दुई हजार आकांक्षी छन्। आकांक्षीको मुख्य काम नै जिल्ला स्तरका नेता कहाँ धाउने भएको छ। जिल्ला र प्रदेश स्तरका नेता फकाउन प्रदेश राजधानी सुर्खेत र संघीय राजधानी काठमाडौंसम्म पुग्न थालेका छन्। 

एक नगरपालिकासहित सात गाउँपालिका रहेको पाँचथरमा केही वडामा दलहरूले वडाध्यक्षको टुंगो लगाए पनि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको नगर प्रमुख र उपमेयरको टुंगो लगाएका छैनन्। आकांक्षीहरू धेरै भएपछि दलहरूलाई उम्मेदवार टुंगो लगाउन सकस परेको छ। कांग्रेस पाँचथरका उपसभापति बृजहाङ आङ्देम्बेले अनुभव सुनाए, ‘उम्मेदवारको टुंगो नलागेसम्म टिकटका लागि दौडधुप भइरहन्छ।’ 

मोरङमा कांग्रेसको विराटनगर महानगर समितिले विराटनगरको मेयर र उपमेयरका उम्मेदवारको नाम शनिबार पार्टी केन्द्रीय समिति समक्ष सिफारिस गरेको छ। पार्टीको विराटनगर समिति सभापति दिपक चापागाईंका अनुसार सम्भावित उम्मेदवारको नामावली केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई बुझाइएको हो। 

मेयरका लागि कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, डा.डिला संग्रौला, विराटनगरका हालका मेयर भीम पराजुली, कांग्रेस मोरङका जिल्ला उपाध्यक्ष नागेश कोइराला, महानगर सभापति दिपक चापागाईं, प्रदेश समिति सदस्य एवं पूर्वप्रशासकीय अधिकृत गोपाल रेग्मी र हालकी उपमेयर इन्दिरा कार्कीको नाम सिफारिसमा परेको छ। त्यस्तै उपमेयरमा निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, डा. सीता घिमिरे, गीता सिलवाल, सूची चौधरी र राजु मास्केको नाम सिफारिस गरिएको छ। स्रोतका अनुसार महानगर समितिले मेयर र उपमेयरका उम्मेदवारको नाम सिफारिस गरेसँगै टिकटका लागि उनीहरूबीच दौडधुप सुरु भएको छ। 

कृष्ण सारु मगर (मकवानपुर), शिवराज भट्ट (कैलाली), मनिका झा (जनकपुरधाम), शंकरप्रसाद खनाल (नेपालगन्ज), किशोर बुढाथोकी (विराटनगर) सलमान खान (भैरहवा), गीता कुँवर (अछाम), भीमकुमार बाँस्कोटा (फिदिम), राजेन्द्र कार्की (जाजरकोट), राजन गाउँले (सिन्धुली), रोजन तामाङ (काभ्रे) र सन्तोष ढुङ्गेल (रामेछाप)  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.