फेरि चुनाव लड्न राजीनामा दिँदै जनप्रतिनिधि
जाजरकोट : आगामी बैशाख ३० गते हुने निर्वाचनमा पुनः उम्मेदवार हुनका लागि बाहलवाला जनप्रतिनिधिले धमाधम राजीनामा दिन थालेका छन्। यसैक्राममा जाजरकोटको कुशे गाँउपालिकाकी उपाध्यक्ष रामछाया शाहीले पनि राजीनामा दिएकी छिन्। उनले पुनः उम्मेदवार हुने इच्छा राख्दैँ राजीनामा दिएको बताएकी छन्। उनले कुन पदमा उम्मेदवारी दिने भने खुलाएकी छैनन्। तर उनको चाहना अध्यक्षमै रहेको छ। नेपाली कांग्रेस कर्णाली प्रदेशकी उपमहामन्त्री रहेकी शाहीले टिकट आफैले पाउने दावी गरेकी छन्।
त्यस्तै सोही गाँउपालिका वडा नम्बर ३ का वडाध्यक्ष टेकबहादुर हमाल, शिवालय गाँउपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपक खड्का, भेरी नगरपालिका वडा नम्बर १३ का वडा सदस्य यज्ञ बटाला लगायतले राजीनामा दिएका छन्। हमाल र खड्का अध्यक्षमै दोहरिने चाहना राखेका छन् भने बटाला अध्यक्षमा दावी गरेका छन्।
यसअघि नै जुनीचाँदे गाँउपालिका वडा नम्बर १ का वडाध्यक्ष चन्द्रबहादुर शाहीले बुधवार आफ्नो पदबाट राजीनामा दिईसकेका थिए।
बाहालवाला जनप्रनिनिधिले मनोनयन दर्ता गर्नुअघि नै राजिनामा दिनुपर्ने प्रावधान अनुसार आगामी बैशाख ११ गतेदेखि लागु हुने गरी वडाध्यक्ष शाहीले राजीनामा दिएका हुन्। उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्। पार्टीले पुनः वडाध्यक्षमा दोहर्याउने निर्णय गरेपछि आफूले राजीनामा दिएको उनले बताए।