एमाले पाल्पाले १० वटै पालिकामा उम्मेदवारको टुंगो लगायो
तानसेन : नेकपा एमाले पाल्पाले १० वटै पालिकाका प्रमुख, उप प्रमुख उम्मेदवारको नाम टुंगो लगाएको छ । एमाले पाल्पाले पालिका प्रमुख तथा उप प्रमुखहरुमा केही उम्मेदवार निर्वाचित र केही नयाँ रहेका छन । तानसेन नगरपालिकाको प्रमुखमा पाटी अध्यक्ष धनेन्द्रराज घिमिरे, उप प्रमुखमा शशी श्रेष्ठ लाई उम्मेदवार बनाएको छ ।
उप प्रमख श्रेष्ठ हाल तानसेन नगरपालिकाको कार्यपालिका सदस्य रहेकी थिइन् । बगनासकाली गाउँपालिकाको अध्यक्षमा सरस्वती चिदी दर्लामी, उपाध्यक्ष हरी प्रसाद पाठक उम्मेदवार बनाएको छ । अध्यक्ष पदकी उम्मेदवार चिदी गाउँ पालिकाको उपाध्यक्ष पदमा कार्यरत थिइन् ।
रिव्दीकोट गाउँपालिको अध्यक्षमा वर्तमान गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसी, उपाध्यक्ष लक्ष्मी खनाल लाई उम्मेदवार बनाएको छ । दुबै उम्मेदवारलाई एमाले पाल्पाले निरन्तरता दिएको हो । तिनाउँ गाउँपालिकाको अध्यक्षमा प्रेम श्रेष्ठ, उपाध्यक्षमा सावित्रा रानालाई उम्मेदवार बनाएको छ ।
तिनाउँमा दुबै पदमा एमालेले नयाँ उम्मेदवार छनौट गरेको छ । निस्दी गाउँपालिकाको अध्यक्षमा मुक्तबहादुर सारु, उपाध्यक्षमा तिरण श्रेष्ठ लाई उम्मेदवार बनाएको छ । अध्यक्ष सारु २०७४ सालमै अध्यक्षमा निर्वाचित भएका व्यक्ति हुन भने तिरण नयाँ उम्मेदवार हुन् । रम्भा गाउँपालिकाको अध्यक्षमा वर्तमान अध्यक्ष विष्णुप्रसाद भण्डारी, उपाध्यक्षमा राधादेवी श्रेष्ठलाई नै पुन दोहोर्याएको हो।
पूर्वखोला गाउँपालिकाको अध्यक्षमा नुनबहादुर थपा र उपाध्यक्षमा भागीरथी शर्मा भट्टराईलाई उम्मेदवार बनाएको छ । माथाँगढी गाउँपालिकाको अध्यक्षमा यमबहादुर चिदी, उपाध्यक्षमा विष्णे लुङुचे लाई उम्मेदवारमा चयन गरेको छ । रैनादेवी छहरा गाउँपालिकामा अध्यक्ष राम बहादुर राउत, उपाध्यक्षमा गिता घिमिरे, रामपुर नगरपालिकाको प्रमुखममा शिव अर्याल, उप प्रमुखमा दुर्गा देवी रानालाई उम्मेदवार छनौट गरिएको नेकपा एमाले पाल्पाका सचिव रामजी पोखरेलले बताए ।
पाल्पामा २०७४ सालको स्थानीय निर्वाचनमा ६ प्रमुख ७ उप प्रमुखम ४१ वडामा नेकपा एमाले, ४ प्रमुख ३ उप प्रमुख र ३६ वडामा नेपाली कांग्रेस र ४ वटा वडामा नेकपा माओवादी केन्द्रले विजय हाँसिल गरेको थियो । गठबन्धनले २०७४ सालमा विजयी वडाहरुका सम्बन्धित दलले नै उम्मेदवारी दिने, एमालेले जित हाँसिल गरेका वडाहरुमा सिट बाडफाँडको अन्तिम तयारीमा जुटेका छन् ।
५ दलीय गठबन्धनले नेपाली कांग्रेसलाई १० स्थानीय तहमध्ये ६ वटा, नेकपा माओवादी केन्द्रलाई २ वटा नेकपा (एकीकृत समाजवादी)लाई २ वटा पालिका प्रमुख पदमा सहमती गरेका छन् । एमाले पाल्पाले सबै पालिका वैशाख १२ गते उम्मेदवार मनोनय दर्ता गर्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस !