गडबड गठबन्धन
देशको राजनीति वर्ष २०७९ निर्वाचनमय हुनेछ। स्थानीय निर्वाचन सम्मुखमा छ। संघ अनि प्रदेशका निर्वाचनहरू पनि छिट्टै हुनेछन्। उम्मेदवारका आकांक्षीहरू धेरै देखिन्छन्। सक्दो प्रयास र शक्ति केन्द्रतर्फको दौडधुपसमेत बाक्लिँदैछ। स्थानीय निर्वाचनार्थ उम्मेदवार मनोनयन सकिएको छ। ६ महानगर, ११ उपमहानगर, २ सय ७६ नगर र ४ सय ६० गाउँ गरी ७ सय ५३ पालिकामा निर्वाचन हुने भएको हो। चुनावको उत्सव निकै रमाइला अनि अहिलेसम्म सौहार्द्रसमेत भएका समाचार बाहिरिएका छन्।
हरेक स्थानीय तहमा एक प्रमुख, एक उपप्रमुखलगायत जम्मा ६ हजार ७ सय ४३ वडाध्यक्ष र चारका दरले वडा सदस्य गरी ३५ हजार २ सय २१ जनप्रतिनिधि निर्वाचित हुनेछन्। लगभग १ करोड ५० लाख मतदाताले मतदान गर्न पाउनेछन्। समग्रमा १ लाख ५२ हजारभन्दा बढी संख्यामा उम्मेदवारी परेकोे छ। झन्डै ४० लाख नयाँ मतदाता थपिएका छन्। निर्वाचनहरूसँग लोकतन्त्रलाई सबल र बढी सरोकारमुखी बनाउने दायित्व रहन्छ। प्रजातान्त्रिक भनिने सबै देशमा निर्वाचनको विशेष र सघन महत्त्व रहन्छ।
सघन महत्त्व निर्वाचन लोकतन्त्रको प्राणसमेत हो। लेखक जोन सोनको पुस्तक ‘इलेक्सन ह्वाई द्याट म्याटर फर यु’ले यसको बृहंगम शास्त्रार्थ गर्छ। निर्वाचन प्रजातन्त्रको तीन आयाममध्येको प्रधान गतिविधि र राजनीतिको शोभासमेत हो। यसले नागरिकमा राजनीतिक चेतना बढाउँछ, नेतृत्वको परीक्षणसँगै विकास पनि हुन्छ। राजनीतिक रूपमा देश सक्रिय र स्वतफूर्त रहेको आभाष गराउँछ। विश्व राजनीतिको मुख्य चरित्रको स्वीकारोक्तिसमेत देखिन्छ।
जनताप्रति उत्तरदायित्व अनि नागरिक सम्प्रभुताको सम्मान झल्कन्छ। दार्शनिक अरस्तुले ‘डेमो’ भनेको जनता र ‘क्रेसी’ भनेको शक्ति भन्थे, जनताको उक्त शक्तिको प्रतिविम्बन पनि चुनावबाटै मुखरित हुन्छ। विकासको माहोल र प्रतिस्पर्धासमेत निर्माण हुन्छ। नागरिकलाई तुलनात्मक रूपमा अधिक र गुणस्तरीय सेवा प्राप्तिको मौका मिल्छ। दक्षिण एसियाका देशहरूलाई नमुनामा राखेर गरिएको एक अनुसन्धानमा दैनिक जनजीवनसँग जोडिएका झन्डै ४० प्रतिशत विकासका कामहरू निर्वाचन आसपास र ६० प्रतिशत अन्य समयमा हुने गरेको तथ्यांक छ।
सत्ताधारी दलहरूको गठबन्धन आवरणमा बृहत्तर प्रजातान्त्रिक जस्तो देखिए पनि व्यवहारगत रूपमा लोकतन्त्रको स्थापित सौन्दर्यमाथि कालो धब्बा पोत्ने काममा व्यस्त छ।
निर्वाचनले नागरिकलाई छनोटको विकल्प प्रदान गर्छ। राम्रा कामहरू जसले गरे पनि हुन्छ, यद्यपि राम्रा काम गर्ने कर्तासमेत राम्रै हुँदा त्यसको वैधानिकता झन् उचो बन्छ। तानशाह तथा क्रूर शासकहरूले पनि यदाकदा राम्रा काम नगरेका होइनन्। जर्मनीमा हिटलर, फ्रान्समा नेपोलियन, इटालिमा मुसुलिनी, रसियामा स्टालिनले पनि नागरिक हितमा केन्द्रित भएर काम गरेको इतिहास छ। यद्यपि नागरिक स्वयंले नछानेको नेतृत्वलाई नागरिकको मन, मस्तिकमा बस्न र सम्मान प्राप्त गर्न त्यति सहजता हुँदैन। खाँदा गुलियै भए पनि आफ्नो स्वेच्छाले मिठाई खानु र अरूले जबर्जस्त कोच्याउनुमा निकै फरक महसुस हुन्छ।
निर्वाचनले नागरिकलाई चाहेका प्रतिनिधि छनोटको अवसरसमेत दिन्छ। यस्तो बृहत्तर महत्त्व र असीम अलौकिकता भएको एक तहको चुनावमा हाम्रा दल होमिएका छन्। निर्वाचन नतिजालाई पक्षमा पार्न हरसम्भव उपाय अपनाउन थालिएको छ। त्यही अभिप्रायमा सत्तासीन पाँच दलको गठबन्धन बनेको छ। यो गठबन्धन विभिन्न १२ वटा दृष्टिकोणबाट गम्भीर अलोकतान्त्रिक उपादेयताको पर्याय बनिरहेको छ। लोकतन्त्रको शानलाई अझै परिस्कृत तथा तेजिलो बनाउनुपर्ने दलीय अभिभारा बाबजुत निर्वाचनमा होमिन बनेको उक्त गठबन्धन आफैंमा लोकतान्त्रिक सौन्दर्यमाथि धाबा बोलिरहेछ। लोकतान्त्रिक मूल्यमान्यताको तेजोबोध गर्न उद्धत हुँदै छ।
लोकतान्त्रिक सौन्दर्यको तेजोबोध
एक, विचार र सिद्धान्त नै नमिल्ने दलबीच गठबन्धन हुनु चाहिँ हाँसीमजाकको प्रधान प्रतिविम्बन हो। पुँजीवादी चरित्रसँगै पूर्णतया स्वतन्त्र अर्थ–व्यवस्थाको वकालत गर्ने, नवउदारवादी धार बोक्ने कांग्रेस, हरहालतमा साम्यवादको सपना देख्ने र संसद्वादलाई बेइमानी ठान्ने माओवादी एकातिर छ। क्षेत्रीयताको राजनीति गर्ने दलहरू अर्कोतिर छन्। सबै एक ठाउँमा उभिएका छन्। यस्तो सामीप्यता अप्राकृतिक र अस्वाभाविक दुवै हुन्छ।
दुई, गठबन्धनका नाममा हिजोका प्रमुख र निर्मम शत्रुहरूको गठजोड हुँदैछ। एक-अर्काविरुद्ध जेहाद छेडेका पात्रहरू आज अंकमाल अनि आलिंगनमा छन्। २०५२ सालमा शेरबहादुर देउवा नै प्रधानमन्त्री हुँदा ४० बुँदे माग राखेर सशस्त्र युद्ध सुरु गरेका व्यक्ति र तिनै पात्रलाई आतंककारी भनेर टाउकाको मोलसमेत राखेका नेता गठबन्धनमा छन्। उनीहरूबीचको आत्मीयता कति अशुभ र प्रायोजित छ, आकलन गर्न सायद त्यति धेरै मेहनत गर्नु पर्दैन।
तीन, गठबन्धनका नाममा भएको समीकरणले सत्यताभन्दा सत्तामात्र प्रमुख ध्येय भएको प्रस्ट्याएको छ। सत्ता पाउन इमान, राजनीतिक समानता, स्वीकार्यता केही चाहिँदैन भन्ने देखिँदैछ। जसरी पनि पद प्राप्त गर्ने आकांक्षामा जस्तासुकै रामरमिता अनि साम, दाम, दण्ड भेदसमेत स्वीकार्य भएको चित्रण गर्दैछ। राजनीति समाजसेवा अनि नागरिक स्वीकार्यता हो। यो सत्य बिर्सिएर जसरी पनि सत्ताचाहिँ कब्जा गर्नुपर्ने हुटहुटी स्पष्ट अलोकतान्त्रिक अतिरञ्जना हो।
सर्वमान्य हुने गरी छलफलबाट निर्णय हुँदैन गठबन्धनमा। पञ्चायती शैलीमा नेतृत्वबाट हैकम लाद्ने क्रूरता देखिएको छ।
चार, यस्तो गठबन्धनले छनोटको विकल्प निरुत्साहित हुन्छ। सबै दलले छुट्टाछुट्टै निर्वाचनमा भाग लिँदा नागरिकसँग लगभग अतिरिक्त चार विकल्प हुन्थे। धेरै विकल्पमध्ये तुलनात्मक रूपमा राम्रो, काबिल अनि इमान्दार नेतृत्व छान्ने मौका मिल्थ्यो। नागरिक सन्तुष्टिको तह उचो बन्थ्यो। धेरै संख्यामा आकांक्षीलाई आफूमाथिको नागरिक प्रेम अनि विश्वास मापनको अवसर हुन्थ्यो। गठबन्धनले यी सम्भावनालाई खुम्च्याइदिएको छ। धेरै दलबाट एउटा संयुक्त उम्मेदवारमात्र आउँदा विकल्प साँघुरिएका छन्।
पाँच, महिला समावेशिता र समानुपातिकताको बर्खिलाप गठबन्धनको अर्को अलोकतान्त्रिक उपज हो। हाम्रो संविधानमा स्थानीय निकायका प्रमुख र उपप्रमुखमा कम्तीमा एक महिलाको सुनिश्चितता छ। यो लोकतन्त्रको एउटा महŒवपूर्ण उपलब्धिसँगै हाम्रो राजनीतिक अभ्यासको अनुपम उदाहरणसमेत हो। विश्व राजनीतिले महिलाको सशक्तीकरणमा यस प्रावधानलाई शिरोपर गर्न सक्छ। थुप्रै देश तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट यो अभ्यासको खुलेरै तारिफ भएको छ, विभिन्न अनुसन्धक तथा अन्वेषकले आफ्नो शोधमा उक्त अवस्थालाई सगर्व साभार गरेका छन्। डा. बृन्दा पाण्डेको पुस्तक ‘वुमन इन् नेपाली पोलिटिक्स’ले मुख्य पदमा ५० प्रतिशतको महिला सहभागितालाई प्रशंसा गर्छ। विष्णु उप्रेती, दृष्टि उप्रेती र यमुना घलेको संयुक्त शोध ‘नेपाली वुमन इन पोलिटिक्सः सक्सेस् एन्ड च्यालेन्ज’ले कुनै पनि बेला महिलाको प्रतिनिधित्वलाई कमजोर बनाइन सक्ने शंका गर्छ। अहिले गठबन्धनका नाममा फरक-फरक दलले एकमात्र मुख्य पदमा एकमात्र उमेदवारका हिसाबले पुरुष प्रतिस्पर्धीमात्र
सिफारिस गर्दा महिला उम्मेदवारको मनोनयन घटेको छ। महिलाको अनिवार्य सुनिश्चिततामाथि प्राविधिक असहजता थप्दै समावेशिता र समानुपातिकलाई चुनौती दिइरहेको छ। संविधानसमेतको अपमान भएको छ।
छ, प्रतिपक्षविरुद्ध गठबन्धन एक सस्तो हास्यास्पद प्रयास हो। स्थापित राजनीतिक अभ्यासमा सामान्यत सत्तासीन दलविरुद्ध प्रतिपक्षीहरूले गठबन्धन गर्ने प्रचलन हुन्छ। छिमेकी भारतलगायत अन्य दक्षिण एसियाली मुलुक पाकिस्तान, श्रीलंका, भुटानमा विपक्षीहरू सरकारविरुद्ध गठबन्धनमा थिए। २०४६ र २०६२ सालको आन्दोलनमा समेत यस्तै नजिर छ। अहिले भने प्रतिपक्षविरुद्ध सत्तासीन दलहरू गठबन्धन गर्दैछन्। सायद यस्तै अवस्थालाई कही नभएको जात्रा हाँडीगाउँमा भनिन्छ होला।
सात, बहुदलीयताको चीरहरण यो गठबन्धनकृत सर्वाधिक अलोकतान्त्रिक चरित्र हो। संविधानअनुसार बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिको संस्कार अंगीकार गरेको मुलुक हो नेपाल। विभिन्न विचार तथा वादका राजनीतिक दलहरू फरक-फरक अवधारणासहित निर्वाचनमा होमिन्छन्। दुईभन्दा बढी दलबीचको सशक्त अनि समानान्तर प्रतिस्पर्धा आवश्यक सर्तका रूपमा रहन्छ। धेरैवटा दलहरू मिलेर संयुक्त रूपमा निर्वाचनमा जाने भए अमेरिका, बेलायतजस्तै केवल दुईदलीय प्रथामात्र स्वीकार्दा भइहाल्छ। बहुदलीयताको दुवाई किन दिनु ? निर्वाचन आयोगमा दर्ता लगभग दुई सय दलको औचित्यता खोइ ?
आठ, यो गठबन्धनका कारण राजनीतिक दलको स्थापित परिभाषासमेत अपमानित बन्दैछ। राजनीतिशास्त्रका विख्यात पुस्तक एवं मूर्धन्य ज्ञाताहरूका अनुसार राजनीतिक दल भनेको समान उद्देश्य, विचार र वाद बोकेका मानिसको सामूहिकता हो। अफसोच गठबन्धनका दलहरूको न त वाद, न त विचार समान छ। उद्देश्य पनि समान छैन। रणनीति अनि कार्यनीतिमात्र समान नभएको होइन, समान अथवा संयुक्त घोषणापत्रसमेत छैन। न त निर्वाचन चिह्न एउटै छ।
नौ, गलत उद्देश्यमा निर्माण गठबन्धनको अर्को अलोकतान्त्रिक आभूषण हो। नागरिकप्रेमी काम गर्न, जनताको जीवनस्तर उकास्न अनि समाजको बृहत्तर भलाइ र प्रगतिका लागि राजनीति गर्ने अठोट गरिन्छ। त्यही अभिलाषालाई सार्थक बनाउन निर्वाचनमा होमिन्छ। तर, गठबन्धनको मुख्य लक्ष्य भनेको नागरिकमैत्री कार्यक्रम गर्नु, नागरिक जीवनको भलाई केन्द्रित हुनु होइन। विपक्षी पार्टीको सम्भावित अग्रतालाई जुनसुकै सर्त र स्वार्थमा पनि रोक्नुमात्र हो। लोकतन्त्रमा निर्वाचनको उद्देश्य यस्तो हुन सक्दैन।
दस, गठबन्धनमा संलग्न दलहरूमा न त ईख न त एकता छ। कतिपय ठाउँमा उनीहरूबीच नै प्रतिस्पर्धा छ। केन्द्रबाट तालमेल भनिएका केही ठाउँमा पनि स्थानीय तहका कमिटी र आकांक्षीबाट सशक्त प्रतिरोधसमेत भएको छ। सर्वमान्य हुने गरी छलफलबाट निर्णय नभई पञ्चायती शैलीमा नेतृत्वबाट हैकम लाद्ने क्रूरता देखिएको छ। तालमेलको भुलभुलैयाले आत्मरति र अरूलाई झुक्याउने अस्त्रको मात्र काम गर्दैछ। कुनै विश्वसनीय बन्धन नभएको गठ अनि ताल तथा मेल खासै नदेखिने तालमेल आफैंमा अर्को एउटा बिजोगको चित्रण हो।
एघार, गठबन्धनमा भएका दलले विभिन्न ठाउँमा गठबन्धनका दललाई छाडी इतरका अन्य दलसँग पनि तालमेल गरी गठबन्धन दलका विपक्षमा निर्वाचन लड्दैछन्। बाह्र, गठबन्धन चुनाव जित्न सक्दिनँ भन्ने आत्मविश्वासको उपज हो। कमजोर दृष्टिकोण र पराजित मानसिकता लोकतान्त्रिक आचरण हुन सक्दैन।
तसर्थ, सत्ताधारी दलहरूको गठबन्धन आवरणमा बृहत्तर प्रजातान्त्रिक जस्तो देखिए पनि व्यवहारगत रूपमा लोकतन्त्रको स्थापित सौन्दर्यमाथि कालो धब्बा पोत्ने काममा व्यस्त छ। लोकतन्त्रको संरक्षणको लागि गठबन्धन बनाएका हौं भन्ने तर्कचाहिँ अंग्रेजी दर्शनमा भनिने फलेसी (सामान्यतया सुन्दा सही जस्तो लाग्ने तर गहिरिएर चिन्तन मन्थन गर्दा सर्वदा गलत सावित हुने दाबी) जस्तोमात्र हो।
प्रतिक्रिया दिनुहोस !