चुनावका बेला घरमा ताला लगाएर लेकतिर

चुनावका बेला घरमा ताला लगाएर लेकतिर

गोरखा : गाउँ–गाउँसम्म यति बेला चुनाव लागिसक्नुपर्ने हो। तर, चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा घरमा भोटे ताल्चा ठोकेर यार्सागुम्बा खोज्न लेकतिर लागेका छन्। करिब ३ सय घरधुरीका स्थानीयवासीमा चुनावको कुनै परवाह देखिँदैन। 

‘महिना दिन पुग्ने गरी खाद्यान्न याकचौंरीमा बोकाएर गाउँले अस्ति नै लेकतिर हिँडिसके’, किमोलुङ फाउन्डेसनका अध्यक्ष वाङचुक राप्तेन लामा भन्छन्, ‘बालबच्चा, याकचांैरी, घरपालुवा जनावर सबै लेकतिरै लागे। उनीहरू अब असारतिर मात्र गाउँ फर्किन्छन्।’ 

रासन सिद्धिए एक–दुई जना दुई–तीन सातामा एकफेर आउने गर्छन्। ‘त्यही पनि राति अबेर आइपुग्छन्। बिहान झिसमिसेमै गइहाल्छन्’, अध्यक्ष लामा भन्छन्, ‘कुनै घरमा हिँड्डुल गर्न नसक्ने बुढापाका होलान्, नत्र प्रायः गाउँ सुनसान छ।’ यार्सागुम्बा बेचेर कमाएको आम्दानीले यहाँका बासिन्दा वर्षभरि पुग्ने खाद्यान्न तथा लत्ताकपडा किन्छन्। बालबच्चा पढाउने गर्छन्।

उनका अनुसार गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा उठेका उम्मेदवार गाउँमा आइपुगेका छन्। तर, गाउँमा मान्छे छैनन्। भन्छन्, ‘उहाँहरू पनि भोट माग्न कि लेकतिरै जानुपर्‍यो। तर, लेकमै गए पनि गाउँलेहरू भोट हाल्न आउँदैनन्। किनभने, आउन–जान र भोट हाल्न गरेर तीन दिन बिथोलिन्छ।’ 

एक दिनमा कम्तीमा १० वटा यार्सागुम्बा पाइयो भने पनि तीन दिनमा ३० वटा नोक्सान हुने अध्यक्ष लामा बताउँछन्। स्थानीयवासीले दैनिक रोजिरोटीका लागि चुनावभन्दा यार्सागुम्बालाई प्राथमिकता दिएको उनको भनाइ छ। 

सदरमुकामबाट चार दिन पैदल यात्रापछि मात्रै पुगिन्छ छेकम्पार। यो ठाउँमा चुनावलाई यार्सागुम्बा मात्र समस्या होइन। यहाँका अधिकांश बासिन्दासित मतदाता परिचयपत्र छैन। ‘धेरै पहिले मतदाता परिचयपत्र बनाउन कर्मचारी गाउँमा आएका बेला यार्सागुम्बाकै सिजन परेको रहेछ। गाउँलेहरू लेकमा थिए। कर्मचारीहरू लेकमा गएनन्। गाउँलेहरू घरमा आएनन्। घरमा जति बुढाबूढीहरू भेटिएका थिए, उनीहरूको मात्र परिचयपत्र बनाएर फर्किए’, उनी भन्छन्, ‘पछि गाउँपालिका केन्द्र फिलिममा परिचयपत्र बनाउने शिविर राखिएको थियो। त्यति बेला पनि दुई–तीन दिन हिँडेर परिचयपत्र बनाउन कोही गएनन्।’

चुमनुब्री–६ साविक चुम्चेत गाविसका बासिन्दा पनि यार्सागुम्बाकै खोजीमा लेकतिर  हिँडिसके। ‘हाम्रो वडामा यार्सागुम्बा पाइने आफ्नै लेक छैन। कोही प्रोकको, कोही न्याकको, कोही उहियाँको र कोही तिब्बती लेकतिर पनि जानुपर्छ’, स्थानीय सेराप गुरुङ भन्छन्, ‘धेरै टाढा–टाढा जानुपर्ने भएकाले गाउँलेहरू धेरैजसो हिँडिसके।’

गोरखाको चुमनुब्री २ ल्हो गाउँका बासिन्दा घरधन्दा गर्दै । तस्बिर : शिव उप्रेती

पढ्न र व्यवसाय गर्न काठमाडौं, पोखरालगायत सहरतिर गएकाहरू पनि चुनावका बेला फर्किंदैनन्। चुनावको महत्वबारे पर्याप्त जानकारी नभएका कारण चुनाव भनेर धाएर नआउने उनको भनाइ छ। ‘गाउँमा मोटर आउँदैन। दुई–तीन दिन हिँड्नुपर्छ। भोट हाल्नकै लागि भनेर एक साता समय खेरा फालेर सितिमिति मान्छेहरू आउन मान्दैनन्’, उनी भन्छन्।

आफ्नै प्रतिनिधि छान्न गाउँभेला  

अब ९ दिनपछि देशभर स्थानीय तह निर्वाचन हुँदै छ। तर, चुमनुब्री गाउँपालिका–१ सामागाउँमा मंगलबार गाउँभेला सुरु भएको छ। बुधबार सकिने गाउँभेलाले एक वर्षका लागि जनप्रतिनिधि चुन्नेछ। ‘आज (मंगलबार) कचहरी सुरु भयो। भोलि (बुधबार) चार जना लेजेन र चार जना घ्यापो चुन्छ’, स्थानीय कर्मा छेवाङ लामा भन्छन्, ‘लेजेन र घ्यापोले परम्परादेखि चलिआएको नीतिनियम कार्यान्वयन गर्ने÷गराउने गर्छन्।’ 
लेजेन र घ्यापोले गाउँघरमा प्रथाजनित कानुन कार्यान्वयन गर्छन्, गराउँछन्। उनीहरूले समाधान गर्न नसक्ने अवस्थामा गाउँकै मुख्य लामाकहाँ जान्छ। स्थानीय चुनावबाट आउने जनप्रतिनिधिले त सरकारी बजेटबाट विकासको काम मात्र गर्छन्।

उत्तरी गोरखाका प्रायः गाउँमा स्थानीयस्तरमा चुनिएका लेजेन, घ्यापो हुन्छन्। ‘हाम्रो वडाभित्र ९ वटा टोल छन्। सबै टोलमा बर्सेनि खेतीबाली भित्र्याइसकेपछि गाउँलेले लेजेन चुन्छन्’, वडा नम्बर २ का अध्यक्ष पेम्बारेता लामा भन्छन्, ‘लेजेनले गाउँमा झैझगडा मिलाउने, न्याय, निसाफ गर्ने, दण्ड, जरिवाना तोक्ने, बाली लगाउने, भित्र्याउने, मेलाजात्राको तिथिमिति जुराउने, रीतिथिति चलाउँछन्। सरकारको बजेट र योजनाका काम मात्र वडाध्यक्ष, सदस्यले गर्छन्।’ गाउँभेला गरेर जनप्रतिनिधि चुन्ने सयौं वर्षदेखिको चलन भएकाले तल्लो भेगतिर जस्तो यहाँ स्थानीय तथा आम चुनावको उस्तो रौनक हुँदैन।
‘चुनाव ? के हो यो भनेको ?’

चुमनुब्री–२ ल्ही गाउँका ४८ वर्षीय ल्हाक्पा वाङ्दीलाई चुनाव के हो भन्ने थाहा छैन। यसबारे बुझाउन न कोही कर्मचारी गाउँ आए न त राजनीतिक दलका नेताले बुझाउन सके। ‘चुनाव ... ? के हो यो भनेको ?’, अलमलमा परेर भुइँतिर नजर डुलाउँदै उनी भन्छन्, ‘खै ...?’ 

चुनाव मात्र होइन, उनलाई चुनावसम्बन्धी अरू कुरा पनि थाहा छैन। भोट भनेको पनि थाहा छैन। भोट माग्न कोही आएका छैनन्। ‘अहँ, कोही पनि आएको छैन माग्न। हामीसित किन माग्ने ? हामीसित कहाँ छ र भोट ?’, छक्क पर्दै उनी प्रश्न गर्छन्।
तिब्बतसँग सीमानामा रहेका यी गाउँबस्तीबाट गाउँपालिका केन्द्र धोदाङ पुग्न दुई दिन पैदल हिँड्नुपर्छ। सदरमुकाम पुग्न चारदेखि पाँच दिन हिँड्नुपर्छ। घरायसी काम गरेर यत्तिका उमेर गुजारेका उनी र उनीजस्तै स्थानीयवासीलाई प्रशासनिक काम पनि खासै पर्दैन। त्यसैले जति दिन लागे पनि त्यसको चिन्ता छैन।

वडा नम्बर ३ को धोदाङतिर अलिअलि चुनावी रौनक छ। पालिकाभरमा सबैभन्दा धेरै मतदाता संख्या पनि त्यहीँ छ। त्यसैले गाउँपालिका अध्यक्ष पदका उम्मेदवार धनबहादुर गुरुङ, निमा लामा, गणेश कार्की, सुकबहादुर गुरुङलगायतले त्यतै भोट माग्न, घरदैलो गर्न धेरै समय खर्चन्छन्। 

त्यहाँका वडाध्यक्ष रामकुमार गुरुङले पुनः उम्मेदवारी दिएका छन्। वडा नम्बर १ का वडाध्यक्ष वीरबहादुर लामा, वडा २ का वडाध्यक्ष पेम्बारेता लामा, ४ का वडाध्यक्ष पेमाडुण्डुप लामा, ५ का वडाध्यक्ष सोनाम ग्याल्जेन लामा, ६ का वडाध्यक्ष लोप्साङ फुञ्जो लामा र ७ का वडाध्यक्ष पासाङ फुञ्जो लामा कसैले पनि पुनः उम्मेदवारी मनोनयन गर्न चासो देखाएनन्। 

कांग्रेस र माओवादीले गठबन्धन गरेर वडा नम्बर ६ मा वडाध्यक्ष ल्हाक्पा छिरिङ (सरोज) लामाको टिम निर्विरोध गराएका छन्। अन्य वडामा चुनावी चर्चा छैन। यो भेगका वडाहरूमा दलित समुदायको बसोबास नभएकाले उनीहरूको पद नै खालि छ। प्रत्येक वडामा एक जना दलित महिला सदस्यको व्यवस्था कानुनले नै गरेको छ। तर, उम्मेदवारी नपरेकाले पाँच वडामा चार सदस्यीय वडा समिति बन्ने भएको छ। 
‘वडा नं. २ र ३ मा मात्र दलित महिलाको उम्मेदवारी परेको छ’, निर्वाचन अधिकृत नानीबाबु पोखरेल भन्छन्, ‘अरू पाँच वडाबाट दलित महिलाको पदमा उम्मेदवारी नै परेको छैन।’ वडा नम्बर १, ४, ५, ६ र ७ को दलित महिला सिट खाली रहेको पोखरेलको भनाइ छ।

  •     चुनावभन्दा यार्सागुम्बा खोजीलाई प्राथमिकता
  •     धेरै स्थानीयवासीसँग छैन मतदाता परिचयपत्र
  •     चुनावको महत्व बुझाउन न आउँछन् कर्मचारी न त नेता नै

वडा नम्बर २ बाट ल्हाक्पा डिकी कामीको मात्र उम्मेदवारी परेको छ। एकल उम्मेदवारी परेकाले उनी निर्विरोध भइसकेकी छन्। वडा नम्बर ३ मा कांग्रेसबाट निरमाया बिक, माओवादी केन्द्रबाट फुतानी कमिनी र जसपाबाट निमा कामीको उम्मेदवारी परेको छ। 

मकै गोड्दै बिहीका बासिन्दा र जोखिमपूर्ण बाटोमा खच्चडबाट खाद्यान्न ढुवानी गर्दै। 

दुर्गममा न उम्मेदवार बन्नेलाई तीव्र चासो, न भोट माग्ने दौडधुप, न मतदातालाई उत्साह। वडाध्यक्ष पदसम्म अलिअलि प्रतिस्पर्धा हुन्छ। तर, सदस्य पदमा उम्मेदवार पाउनै हम्मेहम्मे हुन्छ। त्यसैले यहाँका विभिन्न वडाका आठ सदस्य निर्विरोध भइसकेका छन्। ‘एउटा पार्टीबाट मनोनयन दर्ता गर्न भनेर घरबाट तारतम्य मिलाएर ल्याएको व्यक्ति उम्मेदवार मनोनयन दर्ता गर्ने बेलासम्म अर्को पार्टीले खोसिदिन्छ’, वडा नं. ३ का चन्द्र गुरुङ भन्छन्, ‘यहाँ पार्टीप्रति कटिबद्ध भन्ने नै हुँदैनन्। सबै मिलाएर गर्ने हो।’

भोट नदिएको व्यक्तिले जिते आफ्नो ठाउँलाई नहेर्ने सम्भावना हुने हुँदा जित्ने सक्ने सबै प्रतिस्पर्धी उम्मेदवारलाई मिलाएर भोट बाँडेर दिने गरिएको अर्का स्थानीयवासीको भनाइ छ। वडा नम्बर २ हिनाङका ७० वर्षका छिरिङ नुर्बु लामा भन्छन्, ‘हामी मानेघुम्ने मान्छेलाई चुनाव के काम ? हाम्रो पार्टी पनि छैन। हामी माने घुम्ने मान्छेको कहाँको पार्टी हुन्छ ? यो त ठिटाहरूको काम हो।’ चुनाव, जनप्रतिनिधि, राजनीति भीरपाखामा काम गर्नेका लागि नभएको उनको अभिव्यक्ति छ।

 चुनावका बेला यार्सागुम्बा खोज्न लेकतिर जान गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारमा ताला लगाइएका घर।  

चुनावअघि आफूले राम्रो काम गर्ने भन्ने कसैले पनि प्रतिबद्धता पूरा नगरेको सोनाम ल्हामोको भनाइ छ। ‘एउटा आउँछ। म राम्रो गर्छ भन्छ। अर्को आउँछ। हामी यसो गर्छ, उसो गर्छ भन्छ। जित्छ अनि हामीलाई माटो हानेर जान्छ। बुझेन ?’, उनी भन्छन्, ‘जनता सबैलाई राम्रो गर्नुपर्छ नि ! जितेर गएपछि आफैंलाई मात्र राम्रो गर्छ। हामीलाई राम्रो गर्दैन। पाँच वर्षअघि त भोट हाल्न गयौं। तर, अब जाँदैनौं। छोड्दे, सबै त्यस्तै हो।’ 

गाउँमा शिक्षा, स्वास्थ्य, मोटरबाटो त परको कुरा, हिँड्ने सुरक्षित बाटोसमेत नभएको हिमाली भेगका बासिन्दाको गुनासो छ। सडक सञ्जालले नछोएका यी गाउँबस्तीमा खच्चडले खाद्यान्नलगायत सामग्री ढुवानी गरेर गुजारा चलाउनुपर्ने बाध्यता छ। हरेक वर्ष बाढीपहिरोले गाउँबस्ती लैजान्छ। बाटो, बिजुली, सञ्चारका उपकरणमा क्षति पुर्‍याएर सदरमुकामलगायत तल्लो भेगसित सम्बन्ध, सम्पर्क बिच्छेद गराउँछ। असारदेखि असोजसम्मका बर्खाका चार महिना खाद्यान्न संकट हुन्छ। 

चुनावमा भोट दिएर जिताएका गाउँदेखि केन्द्रसम्मका कुनै पनि नेताले आफूहरूको जटिल समस्या समाधान नगरिदिएको त्यस भेगका बासिन्दाको गुनासो छ। त्यसैले पनि उनीहरू जनप्रतिनिधि चुन्ने यस्ता चुनावप्रति मरिहत्ते गरेर लागि नपर्ने तर्क गर्छन्।

२ हजार ३६ घरधुरी रहेको चुमनुब्री गाउँपालिकामा ६ हजार ७ सय जनसंख्या र ५ हजार १ सय २ जना मतदाता छन्। मतदाता यसै कम भएको, भएका मतदाता पनि भोट हाल्न नजाने गरेका कारण दुर्गम गाउँका लागि पर्याप्त बजेट विनियोजन नहुने गरेको वाङचुक राप्तेन लामाको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.