मतदाता खोज्दै लेकतिर
गोरखा : उत्तरी गोरखा चुमनुब्री ६ चुम्चेत र ७ छेकम्पारका अधिकांश बासिन्दाको घरमा अहिले तालाचाबी लगाएको भेटिन्छ। यार्सागुम्बा संकलन गर्ने समय भएकाले स्थानीय लेक, खर्क र पाटनमा पुगेका छन्। आम्दानीको मुख्य स्रोत मध्येमा पर्ने यार्सागुम्बा संकलन र चुनाव एकै समयमा परेपछि उनीहरूको प्राथमिकतामा यार्सागुम्बा संकलन नै छ। उम्मेदवार घरमा पुगे मतदाता भेट्दैनन्। उम्मेदवार पनि मतदाता खोज्दै सोही स्थानमा पछिपछि
थालेका छन्।
लेकमा नै पुगेर मतदाता भेटी वैशाख ३० गते भोट हाल्न आउन र आफ्नो पार्टीलाई जिताउन अनुरोध गर्नेको नेता, कार्यकर्ता र उम्मेदवार दैनिक लेक आउने गरेको स्थानीय बताउँछन्। मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरू कस्ट गरेर भए पनि लेकमा नै पुगेका हुन्। ‘यार्सागुम्बा संकलन गर्न लेकमा गएकाहरूलाई माओवादीका उम्मेदवार र नेताहरूले भेटेर भोट मागेर फर्कनुभयो। त्यसपछि कांग्रेसका उम्मेदवार पनि पुग्नुभएको छ,’ चुमनुब्री–७ का वडाअध्यक्ष पासाङ फुञ्जो लामाले भने।
छेक्या र बज्योको लेक र खर्कमा यतिबेला छेकम्पारका करिब पाँच–छ सय जना मतदाता यार्सागुम्बा संकलन गर्न पुगेको उनले बताए। माओवादीका चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष उम्मेदवार लक्ष्मी गुरुङको नेतृत्वमा लेकमा पुगेको सो टोलीमा सोही पार्टीका गाउँपालिका कमिटी सहसचिव विशाल घले, वडाअध्यक्षका उम्मेदवार ल्हाक्पा नुर्बु लामा, वडा सदस्यका उम्मेदवार गरी १४ जना सहभागी रहेको सहसचिव विशाल घलेले जानकारी दिए। कांग्रेसको टोलीमा वडाअध्यक्षका उम्मेदवार टासी दोर्जे लामाको नेतृत्वमा वडा सदस्यका उम्मेदवार तथा अन्य सहयोगी कार्यकर्ता गरी १० जना रहेको वडाअध्यक्ष पासाङ फुञ्जो लामाले बताए।
दिनभरि यार्सागुम्बा संकलनमा सक्रिय रहेका उनीहरूलाई नेताहरूले साँझ ५ बजेदेखि साँझ सात बजेसम्म भेटेर भोट मागेको टोलीमा सहभागी विशाल घलेले जानकारी दिए। ‘यतिबेला गाउँघरमा मतदाता भेटिँदैनन्। भर्खरको सुत्केरी र हिँड्न नसक्ने बूढाबूढी मात्र छन्। बाँकी सबैजना घरमा ताला लगाएर यार्सागुम्बा टिप्न लेकतिर गएका रहेछन्। त्यसैले हामी पनि मतदाता भेट्न उहाँहरूको पछि लागेर त्यतै गयौं’, घलेले भने। मतदातालाई भेटेर भोट हाल्नका लागि २९ गते बेलुकीसम्म गाउँमा आउन अनुरोध गरेको घलेको भनाइ छ। ‘पार्टीले केन्द्रबाटै गठबन्धन गर्न भनेकाले हामीले कुनै पनि प्रतिस्पर्धी पार्टीको आलोचना गरेनौं। हाम्रा उम्मेदवारलाई भोट हाल्नुस् मात्रै भन्यौं,’ घलेले भने।
विगतका चुनावमा दुई प्रतिस्पर्धी पार्टीबीच घोचेपेच र अस्वस्थ व्यवहार भएको भोगेका गाउँलेहरू यसपटक स्वस्थ व्यवहार देखेर खुसी भएको र भोट हाल्न आउने बाचा गरेको उनी बताउँछन्। आफूहरूको पछिपछि कांग्रेसका नेताहरू पनि भोट माग्दै आएको देखेको उनले बताए। ‘हामी छेक्या पुग्दा उहाँहरू बज्यो आइपुग्नु भएको थियो’, घलेले भने।
सो क्षेत्रमा यार्सागुम्बा संकलन गर्ने यो मुख्य सिजन हो। ‘यतिबेला एकजनाले एक दिनमा ४० देखि ५० वटासम्म यार्सागुम्बा पाउँछन्। यस्तो सिजनमा यार्सागुम्बा टिप्न नजाऊ भन्न पनि मिलेन’, नेपाली कांग्रेसका गाउँपालिका सभापति सूर्य गुरुङले भने, ‘बरु जसरी पनि ३० गते भोट हाल्न आइपुग्नू भनेर सूचना पठाएका छौं।’ यसअघिका चुनावमा पनि मतदाताको व्यस्थताका कारण कम भोट आउने गरेको वडाअध्यक्ष पासाङ फुञ्जो लामा बताउँछन्। ‘हाम्रो वडामा करिब ८ सय मतदाता छन्’, उनी भन्छन्, ‘अघिल्लो पटक पनि करिब चारसय भोट खसेको हो।’ धेरै मतदाताहरू गाउँबाहिर र देशबाहिर रहेका कारण ५० प्रतिशत मत पनि नखसेको उनको भनाइ छ।
‘काठमाडौंका गुम्बा र भारतका गुम्बातिर धेरै छन् हाम्रोबाट’, उनी भन्छन्, ‘काठमाडौंबाट गाउँमा आइपुग्न पाँच दिन लाग्छ। खर्च त्यत्तिकै लाग्छ, त्यसैले काठमाडौं गएकाहरू त फर्कन मान्दैनन्। भारत र अरू देशमा गएकाहरू त झन के फर्किन्थे र ?’ यार्सागुम्बा संकलन गर्नका लागि छेकम्पारबाट चार हजार मिटर भन्दा अग्ला ती लेकहरूमा पुग्न करिब १८ घण्टा हिँड्नुपर्छ। यति धेरै हिँडेर लेकमा गएका मतदातालाई सहज हुनेगरी मतदान कार्यक्रम तय गर्न निर्वाचन कार्यालयसँग कुनै योजना छैन।
प्रतिक्रिया दिनुहोस !