महिलाले कमाण्ड गरेको गोरखाको बालमन्दिर केन्द्रमा निर्वाचन शान्तिपूर्ण
गोरखा : महिला जनशक्तिले मात्र सञ्चालन गरेको सदरमुकामको बालमन्दिर मावि मतदान केन्द्रमा निर्वाचन शान्तिपूर्ण रुपमा सुचारु भइरहेको छ । बिहान सातबजेदेखि सुरु भएको सो मतदान केन्द्रमा निर्वाधरुपमा मतदान चलिरहेको मतदान अधिकृत पूर्ण ढुंगानाले जानकारी दिइन् ।
सो केन्द्रमा नौ सय ८० मतदाताले शुक्रबार मतदान गर्दैछन् । बालमन्दिर मतदानकेन्द्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकी वरिष्ठ कृषि अधिकृत पूर्ण ढुङ्गाना यो केन्द्रको मतदान अधिकृत छिन् । उनीसहित गोरखा नगरपालिकाकी अधिकृत जानुका कुँवर सहायक मतदान अधिकृतको रुपमा खटिरहेकी छिन् ।
जिल्ला अदालतकी सुष्मा अधिकारी र प्रशासनकी सिर्जना श्रेष्ठ सहायक कर्मचारीका रुपमा काम गरिरहेका छन् । सहयोगीमा अदालतकी कालिक वली छिन् । नेपाल प्रहरीकी सई सिर्जनाकुमारी सेनको नेतृत्वमा आठजना सुरक्षाकर्मी बालमन्दिर केन्द्रमा खटिएका ढुंगानाले बताइन् । उनीहरुमध्य तीनजना नेपाल प्रहरी र पाँचजना म्यादी प्रहरी हुन् ।
जिल्लाभरका तीन सय ११ मध्ये बालमन्दिर माध्यमिक विद्यालको मतदान केन्द्रमा मात्र महिला जनशक्तिले सञ्चालन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस !