देखाएर भोट हालेपछि बाबुरामले भने, ‘म सुरुदेखि खुल्ला मतदानको पक्षपाती हुँ’
गोरखा : मतपत्रमा स्वस्तिक छाप लगाएको तस्बिर सार्वजनिक गरेपछि पूर्व प्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आफूले सुझबुझका साथ यसो गरेको दाबी गरेका छन्। स्वस्तिक छाप लगाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेर आफूले कुनै गल्ती नगरेको उनको तर्क छ।
‘मतदान भनेको लोकतान्त्रिक पद्धति हो। यसमा लुकाउनु पर्ने कुनै कुरा छैन’, अन्नपूर्णपोष्टसित कुरा गर्दै डाक्टर भट्टराईले भने, ‘अरुलाई प्रभावित पो पार्नुहुन्न तर आफूले राजिखुशीका साथ मतदान गरेको कुरा कुनै अपराध गरेझै गरी लुकाउनु पर्छ भन्ने मलाई लाग्दैन।’ आफू सुरुदेखि नै खुल्ला मतदानको पक्षपाती रहेको तर्क गरे। ‘म सुरुदेखि नै खुल्लमखुल्ला हात ठड्याएर मतदान गर्नुपर्छ भन्ने मान्यताको मान्छे हुँ’, उनले भने।
साथै जसपा र एमालेबीच गठबन्धन गरेकाले आफूले गठबन्धनकै आधारमा मतदान गरेको दाबी गरेका छन्। ‘एमालेसित जुन सर्तमा गठबन्धन गरिएको थियो, त्यही इमान्दारिता पालना गरेको छु। बाहिर चर्चा गरेजस्तो गरेको छैन’, उनले भने।
सत्ता गठबन्धनमा रहेका दलसित मात्र चुनावी तालमेल गर्नुपर्छ भन्नेमा आफू ‘कन्भिन्स’ नरहेको उनले बताए। ‘स्थानीय तहको चुनाव भनेको वर्तमान नेपालको शासन व्यवस्थाको सबैभन्दा ठूलो आधारशीला हो’, उनले भने, ‘त्यसैले स्थानीय तहमा चुनावी गठबन्धन गर्दा स्थानीयस्तरको आवश्यकता र औचित्यताको आधारमा गर्नुपर्छ। केन्द्रले लाद्नु हुँदैन भन्दै आएको थिएँ। त्यसैले हाम्रो पार्टी जसपाले पालुङटारमा एमालेसित तालमेल गरेको हो।’
प्रतिक्रिया दिनुहोस !