गोरखाको बालकी मतदान केन्द्रमा माओवादी र कांग्रेसबीच झडप, मतदान रोकियो
गोरखा : गण्डकी गाउँपालिका ६ को बालकी आधारभूत विद्यालयमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा मतदान रोकिएको छ । आधा घण्टादेखि ढुंगा हाना हुँदा मतदान रोकिएको पालिकाका निर्वाचन अधिकृत बासुदेव रेग्मीले जानकारी दिए ।
‘बाहिर ढुंगा हानाहानको स्थिति छ । मतपत्र, मतपेटिका कोठाभित्र लगेर सुरक्षित राखिएको छ,' उनले भने, 'कर्मचारीहरु सुरक्षित हुनुहुन्छ । मतदान रोकिएको छ ।'
घटनास्थलमा थप सशस्त्र प्रहरी, नेपाल प्रहरी, सेनाको टोली आउँदै गरेको जानकारी पाएको उनले बताए । गण्डकी गाउँपालिकाको ज्ञानमार्ग मावि मतदान केन्द्रमा यसअघि पनि माओवादीले अवाञ्छित गतिविधि गरेपछि दोहोरो झडप भएको हो । झडपछि हवाई फायरिङ भएको थियो ।
ज्ञानमार्ग केन्द्र सुचारु भएलगत्तै बालकीमा झडप भएको हो ।गण्डकी गाउँपालिकाको तीनवटा मतदान केन्द्र विगतका चुनावदेखि नै माओवादी केन्द्रले कब्जा गर्ने गरेको थियो । ती केन्द्रहरुलाई जिल्ला सुरक्षा समितिले अति संवेदनशीलको सूचीमा राखेको छ ।
प्रतिक्रिया दिनुहोस !