उत्तरी गोरखाका चार केन्द्रमा मतदान सकियो, औपचारिक घोषणा पाँच बजे मात्रै
गोरखा : उत्तरी गोरखाका चार केन्द्रमा मतदान कार्य सम्पन्न भएको छ। चुमनुब्री गाउँपालिका वडा १ र वडा नं. ४ का चार मतदान केन्द्रमा मतदान सकिएको स्थानीयबासीले बताएका छन्।
वडा नं. १ को साम्दो आधारभूत विद्यालय मतदानकेन्द्रमा ७४ मत खसेको बताइएको छ। त्यस्तै वडा नं. ४ को नाम्रुङगुम्बा मतदानकेन्द्रमा रहेका ८२ मतदाता मध्ये ७५ मत खसेको स्थानीय छिरिङ लामाले जानकारी दिए। ‘अरु बाँकी मतदाता नआउने निश्चित भएको छ’, उनले भने, ‘मतपेटिका बाँध्ने तयारी गरिएको छ।’
त्यस्तै, १०५ जना मतदाता रहेको सोही वडाको हिमचुली प्रावि मतदानकेन्द्र छाकको पनि मतदान कार्य सम्पन्न भएको छ। त्यहाँ ३० महिला र २८ पुरुष गरी ५८ मत खसेको स्थानीय पेमा लामाले जानकारी दिएका छन्। सोही वडा अन्तर्गत १८२ मतदाता रहेको वुद्ध आधारभूत मतदानकेन्द्रको पनि मतदान सकिएको छ। त्यहाँ जम्मा ५५ महिला र ६५ पुरुष गरी एकसय २० मत खसेको उनले बताए।
मतदान कार्य सम्पन्न भएपनि औपचारिक घोषणा गर्न पाँच बजेसम्म कुर्नुपर्ने उनीहरुले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !