सप्तरीमा जनमतको दोस्रो पालिकामा जीत

सप्तरीमा जनमतको दोस्रो पालिकामा जीत

राजविराज : सप्तरी जिल्लाको सबैभन्दा दक्षिण–पश्चिम रहेको बलान बिहुल गाउँपालिमा जनमत पार्टीले अध्यक्ष, उपाध्यक्ष जितेको छ।

    
सप्तरीको दोस्रो पालिकामा जीत निकालेको जनमत पार्टीका तर्फबाट खेमचन्द्र यादव अध्यक्ष र रेणु यादव उपाध्यक्षमा निर्वाचित भएका छन्। 

जीतका लागि खेमचन्द्र यादवले २ हजार ९९४ मत ल्याएका छन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नबीनकुमार झाले २ हजार २४७ मत ल्याए। यस अघि २०७४ मा कांग्रेसबाट टिकट नपाएपछि नेपाली जनता दलबाट उठेका झाले त्यसबेला १ हजार १२३ मत र झासँगै उपाध्यक्षमा उठेकी आशादेबी मण्डलले ९१४ मत ल्याएर चौथो स्थानमा रहेका थिए।  
    
त्यसपछि कांग्रेसमै सक्रिय रहेका नबिन झा र आशादेवी मण्डललाई पार्टी कार्यकर्ताबाटै असहयोग हुँदा पराजित हुनु परेको झाले बताए। गत निर्वाचनमा कांग्रेसले जितेन्द्र यादवलाई अध्यक्ष र अनितादेबी साहलाई उपाध्यक्षमा उम्मेदवारी दिएपछि झा र मण्डल जनता दलबाट टिकट लिएर उठेका थिए। 

गत निर्वाचनमा निर्वाचित जसपाका दयानन्द गोइत तेस्रो भएका छन्। मतदाता बढेकोमा उनले पुरानै मत सुरक्षित गर्न नसक्दा पराजय बेहोर्नुपरेको छ। दयानन्दले गत निर्वाचनमा २ हजार २३८ मत ल्याउँदा अध्यक्ष निर्वाचित भएका थिए। यसपटक उनले २ हजार २०३ मत मात्र ल्याए। 
    
एमालेबाट अरुणकुमार गोइतले २ हजार १७२ मत ल्याएर चौथो भए। गत वर्ष एमालेबाट उम्मेदवारी दिएका अशोककुमार यादवले एमालेबाट टिकट नपाएपछि मनोनयनको दिन एकीकृत समाजवादीमा प्रवेश गरेर उम्मेदवारी दिए। उनले गत निर्वाचनको भन्दा निकै कम ३१९ मत मात्र ल्याउन सके।

गाउँपालिकाको उपाध्यक्षमा जनमतकै रेणु यादवले २ हजार ६९० मत ल्याएर विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी आशादेवी मण्डलले २ हजार ३०४ मत ल्याइन्। 

वडा अध्यक्षमा कांग्रेसले ३, जनमतले २ र एमालेले १ वडा अध्यक्षमा जीत हासिल गरेको छ। कांग्रेसबाट वडा २ मा ५०५ मत ल्याएर इनद्रदेब यादव, वडा ४ मा ७४१ मत ल्याएर लक्ष्मीनारायण झा, वडा ५ मा ४३८ मत ल्याएर विन्देश्वर यादव वडा अध्यक्षमा विजयी भएका छन्। वडा अध्यक्ष झा अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी रहेका कांग्रेसका नबिन झाका भाइ हुन्।

जनमत पार्टीबाट वडा नम्बर १ मा ३९५ मत ल्याएर रामकुमार यादव र वडा नबर ३ मा ८१९ मत ल्याएर राजकिशोर यादव वडा अध्यक्ष निर्वाचित भएका छन्। एमालेबाट वडा ६ मा निर्वाचित वडा अध्यक्ष सुर्यकुमार दासले ६७१ मत ल्याए। गत स्थानीय तहको निर्वाचनमा समेत एमालेबाट दास ५६८ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका थिए।
    
सप्तरीमा हालसम्म घोषित ११ स्थानीय तहको परिणाम अनुसार कांग्रेसले ४, एमाले र जनमतले २-२, जसपा, लोसपा, नेकपा (एकिकृत समाजवादी)ले १/१ स्थानीय तहमा जित हासिल गरेको छ। बाँकी रहेको ७ स्थानीय तहमा मतगणना भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.