‘सुरक्षित’पालिकामै पराजित

‘सुरक्षित’पालिकामै पराजित

राजविराज : सप्तरीमा मतगणनासम्पन्न ११ पालिकामा निवर्तमान प्रमुख र अध्यक्षहरू पराजित भएका छन्। २०७४ को निर्वाचनमा प्रतिद्वन्द्वी रहेकाहरूले नै शीर्ष नेताहरूको विरासत ढालेका हुन्। हनुमाननगर कंकालिनी नगरपालिकाका निवर्तमान प्रमुख शैलेशकुमार साह जनमत पार्टीका वीरेन्द्र माझीसँग १ सय ६१ मतान्तरले पराजित भए। यो पालिकालाई जसपाले सबैभन्दा सुरक्षित ठानेको थियो। साह मधेस प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साह सुडी ‘रामबाबु’का छोरा हुन्। यसअघि राष्ट्रिय जनता पार्टी नेपालबाट प्रमुखमा निर्वाचित उनी पार्टी विभाजनका बेला बुवासँगै जसपामा बसेका हुन्।

हनुमाननगर क्षेत्र र पार्टीमा नवलकिशोरको राजनीतिक वर्चस्वकै कारण गत निर्वाचनमा टिकट पाएर प्रमुखमा निर्वाचित भएका थिए। त्यसपछि उनको परिचय ‘रामबाबु’का छोराबाट मेयरमा परिणत भएको थियो। 
लोसपा वरिष्ठ नेता तथा राष्ट्रियसभा सदस्य शेखरकुमार सिंहका छोरा सतिशकुमार सिंहको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्षमा दोहोरिने इच्छा पूरा भएन। शेखरकुमार राजपा उपाध्यक्ष हुँदा सतिशकुमार गत चुनावमा टिकट हात पारेर अध्यक्ष निर्वाचित भएका थिए। यसपटक उनी कांग्रेसका अरुणकुमार मण्डलसँग १ हजार ४ सय ७८ मत अन्तरले पराजित भएका हुन्।

कांग्रेसका कृष्णप्रसाद ढकालले सप्तकोसी नगरपालिकाका निवर्तमान प्रमुख उत्तमकुमार शर्मालाई १ हजार ५ सय २ मत अन्तरले पराजित गरेका छन्। ढकाल गत निर्वाचनमा तेस्रो स्थानमा सीमित भएका थिए। शर्मा एमाले मधेस प्रदेश कमिटीका सदस्य हुन्।

अग्निसाइर कृष्णसवरन गाउँपालिकामा गत निर्वाचनमा तेस्रो स्थानमा मात्रै थिए एमालेका दीनानाथ चौधरी। उनले निवर्तमान गाउँपालिका अध्यक्ष कांग्रेसका परशुराम चौधरीलाई ९ सय ८६ मत अन्तरले पराजित गरेका छन्। बलान बिहुल गाउँपालिकाका निवर्तमान अध्यक्ष दयानन्द गोइत यो निर्वाचनमा तेस्रो स्थानमा झरेका छन्। जनमत पार्टीका खेमचन्द्र यादव २ हजार ९ सय ९४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका छन्।
राजगढ गाउँपालिकामा एमालेका ओमप्रकाश मण्डल निर्वाचित भएका छन्। निवर्तमान अध्यक्ष कांग्रेसका परमानन्द यादवले तेस्रो स्थानमा मात्रै मत पाएका छन्।

विष्णुपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष कांग्रेसका लीलाम्बर यादवलाई जसपाका उमेशप्रसाद यादवले ३ सय ४५ मतान्तरले पराजित गरेका छन्। तिरहुत गाउँपालिकामा भने कांग्रेसका विजयकुमार यादवले निवर्तमान अध्यक्ष जसपाका हेमन्तकुमार बहडखेरलाई ५ सय ७० मतान्तरले पराजित गरे। महादेवा गाउँपालिकामा लोसपाका सुनिलकुमार मण्डलले निवर्तमान अध्यक्ष दीपककुमार यादवलाई २ हजार ३ सय ६५ मत अन्तरले पराजित गरे। गत निर्वाचनमा संघीय समाजवादी फोरमबाट निर्वाचित यादव यसपटक जसपाले उम्मेदवार नबनाएपछि कांग्रेसबाट उठेका थिए।

सभासद सदरुल मियाँ हकका छोरा हेमायुँ हकले पनि दोहोर्‍याएर खडक नगरपालिका प्रमुख बन्न पाएनन्। उनी माओवादी केन्द्रका जयप्रकाश चौधरीसँग ८ सय १५ मतान्तरले पराजित भएका छन्। राजविराजका निवर्तमान नगर प्रमुख शम्भुप्रसाद यादव पनि अघिल्लै प्रतिद्वन्द्वी जसपाका भीमराज यादवसँग साढे ३ हजार मतान्तरले पराजित भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.