चुमनुब्री गाउँपालिकाको अध्यक्षमा निमा, उपाध्यक्षमा लक्ष्मी विजयी
गोरखा : गोरखाको चुमनुब्री गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन्। माओवादी केन्द्रका तर्फबाट अध्यक्षका उम्मेदवार निमा लामाले १६ सय २४ मत प्राप्त गरी विजयी बनेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका धनबहादुर गुरुङले १३ सय ११ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ।
त्यस्तै उपाध्यक्षमा विजयी भएकी माओवादी केन्द्रकी उम्मेदवार लक्ष्मी गुरुङले १५ सय ६५ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मेतोक छोकी लामाले १३ सय ७ मत प्राप्त गरिन्।
तिब्बतसित सीमाना जोडिएको सो पालिकाको सातवटा वडामध्य पाँच वटा वडामा नेपाली कांग्रेसका अध्यक्षहरु प्यानलसहित विजयी भएका छन्। दुईवटा वडामा माओवादी केन्द्र विजयी भएका छन्।
चुमनुब्रीको मत परिणाम आएसंगै गोरखाको सबै पालिकाको नतिजा आइसकेको छ। ११ वटा पालिका रहेको गोरखाका नौवटा पालिकामा माओवादीले जीत हात पारेका छन्। दुईवटामा नेपाली कांग्रेसले जितेका छन्।
गोरखा नगरपालिका, पालुंटार नगरपालिका, अजीरकोट गाउँपालिका, बारपाक सुलीकोट गाउँपालिका, धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका, भीमसेनथापा गाउँपालिका, सहिदलखन गाउँपालिका र गण्डकी गाउँपालिकामा माओवादीले जितेका हुन्। आरुघाट गाउँपालिका र सिरानचोक गाउँपालिकामा कांग्रेसले जितेका हुन्।
प्रतिक्रिया दिनुहोस !