लुम्बिनीमा ‘डिभाइन ब्रदर’

लुम्बिनीमा ‘डिभाइन ब्रदर’

बुद्धभूमि लुम्बिनी जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थिएँ। त्यसका लागि ल्यान्ड गर्ने विमानस्थल पनि अन्तर्राष्ट्रिय नै थियो, भैरहवामा। अर्थात्, नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल। निर्धारित लक्ष्यभन्दा चार वर्षपछि यसले पूर्णता पाएको थियो। त्यसैले पनि जीवनमा विरलै पाइने संयोग जुरेको थियो पंक्तिकारलाई, त्यस विमानस्थलको पहिलो उडानको साक्षी बन्न। अलजजिराले पहिलो उडान भरेको थियो। अर्को साक्षी बनें, २५६६औं बुद्धजयन्तीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक आएको।

जेठ २ गते, २५६६औं बुद्धजयन्ती। बुद्ध एयरको ८५१ उडानबाट भैरहवा जान बोर्डिङ पास लिएर प्लेनमा छिरें। सिट नं. १४ डीमा थिए एक विदेशी। लामो कपाल पालेका अग्ला उनी हसिला। छेउमा बस्न खोज्दा मौन भावमै स्वागत गरे। ‘नमस्ते’ नेपाली अभिवादनबाट यात्राको बाटो खोलें। ‘नमस्ते ! तपाईंलाई स्वागत छ’, उनले नेपालीमै फर्काए। दिएँ एक पाएँ चार (शब्द)। कति मिठो भाव र शैली ! उनको हातमा गज्जबको पुस्तक देखें, हेर्दै लोभलाग्दो। ‘एन्सिन्ट सेक्रेट अफ अ मास्टर हिलर’। किताबको शीर्षक चयनले नै लोभ्यायो। त्यसको माथि क्लिन्ट जी. रोजर्स, पीएचडी र तल लेखिएको थियो, ‘अ वेस्टर्न स्केप्टिक, एन इस्टर्न मास्टर, एन्ड लाइफ’स ग्रेटेस्ट सेक्रेटस्’। पुस्तक उनकै रहेछ।

‘ह्वोवर आर यु फ्रम ?’ उनले भने, ‘अमेरिका, क्यालिफोर्निया’। अंग्रेजी लेखकसँग आफू नेपाली लेखक भएको परिचय दिएँ। ‘कति पुस्तक लेख्नुभयो ?’, अंग्रेजीमा सोधे। भनें, ‘१५।’ ‘वन्डरफूल !’ उनले फर्काए। उनको त्यो पहिलो खुसी थियो मसँग। क्लिन्टको जिज्ञासा मेट्दै आफू अन्नपूर्ण पोस्ट् दैनिकमा ओपेड, फुर्सद र शुक्रबारको डेस्कको जिम्मेवारीमा रहेको जानकारी दिलाएँ। ‘वाउ, ग्रेट’, उनको मुखबाट फुत्त निस्कियो। डा. क्लिन्टको मास्टर हिलरले उनको व्यापक परिचय ग्रहण गरिसकेको थिएँ। योग, ध्यानमा उनी डुबेका छन् भनेर सोध्नै परेन। आफ्नो पनि बिहानी दैनिकी योग र ध्यान भएकाले हामीलाई ‘पोजेटिभ भाइब्रेसन’ले आपसमा जोडिसकेको थियो। जहाज उड्नुअघिको ‘होल्ड’मा थियो। छेवैको अन्नपूर्ण पोस्ट्को नौ तले कर्पोरेट टावर देखाएँ। वरिपरि होचा र अन्नपूर्ण पोस्ट्को अग्लो कार्यालय देखेर सायद उनले दृश्य हेर्दै काम गर्न बडो आनन्द आउने भाव प्रकट गरे। बिहान ७.१५ को हाम्रो फ्लाइट ८.०३ मा उड्यो।

डा. क्लिन्टको नेपाल आगमन २०औं पटकको रहेछ तर लुम्बिनी पहिलो। भोलिपल्ट काठमाडौं फर्किएपछि मे १७ को मध्यरात (११.५९ बजे) ४१ हजार फलोअर्स भएको आफ्नो फेसबुकमा स्टाटस लेखे, ‘मिटिङ मोदी, माई क्वेस्ट’ र ब्राकेटमा ‘एन्ड अ न्यु टेक अन मिराकल्स...’ ‘... अन द प्लेन, अ म्यान स्याट नेक्स्ट टु मी, नेम्ड गोपीकृष्ण ढुंगाना।’ उनीसँगको भेटपछि मलाई जस्तो अनुभव भएको थियो, उनलाई त्यस्तै भएको रहेछ। प्लेनभित्रै मसँग सेल्फी लिएको फोटोसहित त्यस्तै स्टाटस लेखेको पाएँ। सोचेजस्तै लाइन भेटें, ‘वी डिस्कस्ड वी ह्याड मच इन् कमन एन्ड क्विक्ली बिकेम फ्रेन्डस्...।’

त्यसको १३ घण्टापछि ‘पार्ट–टु’ भन्दै नायिका मनिषा कोइरालासँगको फोटो राखेर क्लिन्टको अर्को फेसबुक स्टाटस आयो, ‘मिटिङ मनिषा’बाट सुरु गरेको। लेखेका रहेछन्, ‘मोदीलाई भेट्नेबाहेक मेरो कुनै चाहना थिएन। मसँग थियो त केवल लुम्बिनी पुग्ने एउटा टिकट।’ मोदीको जीवनी र व्यक्तित्व बुझेका उनलाई आफ्नो त्यो पुस्तक दिने तीव्र इच्छा रहेको बुझें। चर्चित भारतीय नायक अभिताभ बच्चनसँग भेट भएको त्यो किताबभित्रको तस्बिर उनले प्लेनमै देखाए। प्लेन उड्नुअघि नायिका मनिषासँग पुरानो परिचयलाई पुनर्ताजगी गरें, गराएँ। झन्डै दशकपछि भेट भएको थियो उनीसँग। करिब ३५ मिनेटको प्लेन यात्राभर क्लिन्टसँग गफिएँ। ‘केमेस्ट्री’ मिलेर होला, पहिलो भेटमै उनीसँग ‘नन्स्टप कन्भर्सेसन !’ भयो।

४१ हजार फलोअर्स भएको डा. क्लिन्टले आफ्नो फेसबुकमा स्टाटस लेखे, ‘मिटिङ मोदी, माई क्वेस्ट’ र ब्राकेटमा ‘एन्ड अ न्यु टेक अन मिराकल्स. . .’ ‘. . . अन द प्लेन, अ म्यान स्याट नेक्स्ट टु मी, नेम्ड गोपीकृष्ण ढुंगाना।’

प्लेनमा पुर्‍याउने बसमा एउटा विदेशी उस्तै कुर्तासुरुवाल लगाएका आमाछोरीसँग कुराकानी गर्दै थिए। आमा रचना र छोरी सदीक्षा। लुम्बिनी पुगेपछि चिनजान भयो, मिस नेपाल सदीक्षा श्रेष्ठ रहिछन्। प्लेनभित्र डा. क्लिन्टले आमाछोरीलाई एउटा र मलाई अर्को किताब उपहार दिए। ३३५ पृष्ठको उक्त पुस्तक ३० भाषामा अनुवादित रहेछ। दोस्रो पानामा लेखेका तीन लाइनले मन छोयो, ‘आई डिन्ट कम टु टिच यू। आई कम टु लभ यू। लभ विल टिच यू।’ उपहारका लागि सोही पानामा मेरो नाम लेख्दै थपे, ‘गोपी ! मे दिस बुक ब्लेस यू। एन्ड, मे लभ अलवेज गाइड यू।’ मास्टर हिलरभित्र १८ च्याप्टर जसका शीर्षक सर्सर्ती स्क्यान गरें, नभन्दै जीवन बदल्ने सूत्रहरू पाएँ। ३५ मिनेटपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदै गर्दा मनिषा कोइरालाको हातमा पनि त्यही किताब देखें। उनले डा. क्लिन्टतर्फ हेर्दै भनिन्, ‘आई थिंक, आई ह्याभ योर बुक !’ लेखक अपत्यारिलो विश्वाससँग आत्मसात् गर्दै थिए। उनले प्लेनमा भनेका थिए, ‘यो पुस्तक दुई दिनदेखि केही प्रति नेपालमा उपलब्ध छ।’ कसैले नायिका मनिषालाई उपहार दिएको रहेछ।

लुम्बिनी वल्र्ड पिस फोरमका अध्यक्ष वासु गौतमको समूहले हामी सबैलाई स्वागत गर्‍यो र भीआईपी रुममा पुर्‍यायो। त्यहाँ पुग्दा क्लिन्टनले नसोचेको तेस्रो उपहार पाए। आफू जाने कारमै उनलाई लुम्बिनी पुर्‍याएँ। ४ नम्बर गेट प्रवेशलगत्तै प्रदर्शनीमा राखिएको चित्रकलामा आँखा पुगे। दर्जनौं पेन्टिङले भगवान् गौतम बुद्धलाई प्रतिनिधित्व गरेका थिए। १४ जनाको भारतीय कलाकारको समूह भेटियो। चार महिला एक पुरुषको उडान आर्टिस्ट ग्रुप रहेछ। इतिहास बनाइसकेको उडानकी नेतृ ममता राजपुत, डा. अनुपम राघव, अल्फी कुमार र भारती बर्मा क्षणभरमै क्लिन्ट र मसँग पारिवारिकजस्तै बने। अस्टे«लियाका एक कलाकार पनि सहभागी थिए। फोरमकै आयोजनामा प्रदर्शनी राखिएको रहेछ।

२०४६ सालमा बहुदलीय व्यवस्था आएपछि सिद्धार्थनगर नगरपालिकाभित्र सडक सञ्जाल विस्तार भयो। अर्थशास्त्रमा विद्यावारिधि गरेका डा. बलराम गौतम नगरप्रमुख बनेर सञ्जाल विस्तारदेखि बुद्धको जन्मस्थल नजिकै भएकाले लुम्बिनी र भैरहवालाई अन्तर्राष्ट्रियकरण गर्ने काममा लागि परे। उनले नगरपालिकाहरूको अन्तर्राष्ट्रिय सञ्जाल सिटीनेटको पहिलो नगर सदस्य सिद्धार्थनगरलाई दिलाएका रहेछन्। भैरहवामा बर्मेली टोलले चिनिएको मुख्य चोकमा बुद्धको प्रतिमा स्थापना गरी बुद्धचोक नामकरण र हालको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै बुद्ध प्रतिमा राख्ने काम पनि उनले गरेका रहेछन्। उनकै सन्तान वासु फोरममार्फत लुम्बिनीमा पर्यटन प्रवद्र्धनमा लागेका रहेछन्। ‘लुम्बिनीमा बुद्ध जयन्तीमा सरकारले औपचारिक कार्यक्रम गरेर कर्मकाण्ड पूरा गर्छ, यसले मात्र लुम्बिनी व्यापक मात्रामा अन्तर्राष्ट्रियकरण हुनेवाला छैन। हामी बुद्धसँग सम्बन्धित सन्देश, कला र संस्कृतिसँग जोडेर हबको रूपमा विकास गर्न चाहन्छौं।’

संसार हेर्न आँखा चाहिन्छ। ललितपुरको नेत्रधाम आई केयर सेन्टरले नि :शुल्क आई क्याम्प चलाएको रहेछ। आँखाको भिजन डिजिटल चेकिङ गर्ने बुझेपछि डा. सन्यम बजिमयसँग समन्वय गरेर परीक्षण गरें। क्लिन्टलाई पनि गराएँ, झनै खुसी भए। उनको उमेर थाहा भयो, ४५ वर्ष। दुइटा भोटो बढी फटाएको बुझेपछि उनले सोधे, ब्रदरको नेपाली अर्थ। अन्तत : उनले निचोड सुनाए नेपालीमा, ‘तपाईं मेरो दाजु। अबदेखि गोपी दाइ भन्छु।’ उनले मोबाइल नम्बर डायल गरेर सेभ गरे, ‘गोपी दाइ’।

भनाइ छ, साथी बदल्न सकिन्छ तर छिमेकी फेर्न सकिन्न। मित्रराष्ट्र भारतसँगको सम्बन्धलाई नेपालले सन्तुलित राख्नुपर्ने चुनौती छ, उसलाई पनि। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्धजयन्तीमा सोमबार लुम्बिनी भ्रमण गरे। पाँच हजार अटाउने नयाँ हलमा मनाइएको बुद्ध जयन्तीमा मोदीले भने, ‘दुई देशको सम्बन्ध हिमाल झैं अटल र पुरानो छ।’ सांस्कृतिक एवं धार्मिक समानताले धेरै कुरा मिल्छ भारतसँग। ‘बुद्ध वाज बर्न इन् नेपाल’ भनिहिँड्नु पर्ने नेपालीको बाध्यतालाई मोदीले विश्वलाई ‘बुद्ध जन्मस्थल लुम्बिनी, नेपालमा पर्छ’ भन्ने गतिलो सन्देश दिए। उनको लुम्बिनी भ्रमण पहिलो हो, प्रधानमन्त्रीका रूपमा नेपाल भ्रमण भने पाँचौंपटक। 

‘नेपाल आउँदा राजनीतिकभन्दा आध्यात्मिक भ्रमणकै अनुभूति बढी गर्छु’ भन्ने मोदीको अभिव्यक्तिले उनको धार्मिक कूटनीति स्पष्ट भयो। यो भ्रमणमा मोदीले नेपालसँग ६ वटा सम्झौता गरे। नेपाल र भारतबीच सीमा सम्बन्धमा अनेकौं विवाद छन्। हामीले चुच्चे नक्सा जारी गर्दासम्म उसले हाम्रो लिपुलेक, कालापानी र लिम्पियाधुरा मिचिराखेकै छ। नेपालले यसमा अडान लिएकै कारण सम्बन्ध चिसिएकै छ। उनले धार्मिक कूटनीति प्रयोग गरेर तताउन खोजेको स्पष्ट देखिन्छ। नेपालका दर्जन मन्त्री उपस्थित मोदी र प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रम सकेपछि फोरमको ‘लुम्बिनी वल्र्ड पिस फेस्टिभल २०२२’ मा सहभागी भयौं।
क्लिन्ट फेस्टिभलमा पनि रमाए। नायिका उषा रजकलगायत थुप्रै विशिष्ट र व्यक्तित्व बनाएका कैयौंसँग उनी नजिक बने प्लेनमा चिनिएको मित्रमार्फत। मोदीलाई पुस्तक दिन पाएनन्, उनको मूल मिसन पूरा हुन पाएन। एउटा टिकट बोकेर अन्धधुन्ध हिँडेका उनको ‘लुम्बिनी संसार’ व्यापक बन्यो । भोलिपल्ट नायिका मनिषासँग मायादेवी मन्दिरलगायतको भ्रमण भयो। यसबीच उनीसँग अन्तरंग थुप्रै कुरा भए। अन्तमा, दुई दिनको साथसम्बन्धले सायद डा. क्लिन्टले यसो भने, ‘डियर गोपी, यु आर माई डिभाइन ब्रदर।’ लुम्बिनीमा मेरा लागि योभन्दा ठुलो उपहार अरू के होला !
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.