हमाल र ओडको त्यो अंकमाल...
धनगढी : राजनीति एउटा संस्कार हो । लोकतन्त्रमा कुनै व्यक्तिलाई चुन्नका लागि मात्रै चुनाव गरिन्छ । अथवा सत्ता कसले चलाउने भन्ने कुराको छिनोफानो नै चुनाव हो । तर चुनिएपछि, चुनिएको व्यक्ति त्यस पालिका, क्षेत्र वा मुलुकका सबै जनाको साझा व्यक्ति हुनुपर्छ । त्यही राजनीतिक संस्कारको नमुना आइतबार धनगढीमा पनि देखियो ।
मत परिणाम आए लगत्तै निवर्तमान मेयर नृपबहादुर ओड मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आए । थैलोमा माला र खादा बोकेका उनले, स्वतन्त्रबाट चुनाव जितेका गोपाल हमाललाई सयपत्रीको माला लगाए, अनि खादा पनि हाले र अंकमाल गरेर बधाई दिए । ‘तपाईको कार्यकाल सफल रहोस, समग्र धनगढीको विकासमा लाग्नुहोला, धेरै धेरै बधाई छ’ उनले भने ।
धनगढी उपमहानरपालिकामा यसपालि स्वतन्त्र पदका उमेदवार गोपाल हमाल ओडलाई १२ हजार ४८ मतको फराकिलो मतान्तरले पराजित भएर मेयरमा विजेता बनेका छन् । संयोग नै होला, २०७४ सालको निर्वाचनमा यिनै ओडले हमाललाई २७ सय ९७ मतले पराजित गरेर धनगढी उपमहानरको मेयर बनेका थिए । ओडले १४ हजार तीन सय २४ मत ल्याएर विजयी हुँदा हमालले ११ हजार पाँच सय २७ मत ल्याएका थिए ।
ओडले २०७४ सालको चुनावमा आएका जति भोट पनि पाएनन् । अझ यसपालि १७ हजार मतदाता थपिएर ९२ हजार पुगेका थिए । नेपाली कांग्रेस धनगढी उपमहानगरमा आफ्ना ३० हजार मतदाता रहेको दाबी गर्छ । तर नतिजा हेर्दा उनले भएका मतदाताको पनि आधा भोट पाएनन् । अझ नेकपा माओवादी केन्द्र र समाजवादीका मत थपिनुपर्नेमा सोचेअनुसारको भोट नआएको उनले बताए ।
धनगढी उपमहानगरमा यसपालि सत्ताधारी तीन दलहरुबीच गठबन्धन भएको थियो । नेपाली कांग्रेसले मेयर, नेकपा माओवादी केन्द्रले उपमेयर र वडाहरुमा भने मित्रवत निर्वाचन गर्ने (आ–आफ्नो उमेदवार लडाउने) सहमति भएको थियो । तर धेरै कांग्रेसका नेताहरुले धनगढीको गठबन्धनमा चित्त बुझाइरहेका थिएनन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेस एक्लैले मेयर, उमेयर र कार्यपालिकाको बहुमत पुग्नेगरी वडाहरुमा पनि जितेको थियो । त्यही गठबन्धनका कारण उसले उपमहानगरमा मेयर र उपमेयर दुबै गुमाएको छ । उसले केही वडा पनि गत चुनावको भन्दा गुमाएको छ ।