गाउँबस्तीमा भेटिँदैनन् बालबालिका
गोरखा : चुमनुब्री गाउँपालिका-७ ङाक्यू गोरखाकी छिरिङ आङ्मो र भाइ छिरिङ लामा सदरमुकामको एक निजी विद्यालयमा पढ्छन्। घरमा बुवा, आमा मात्र छन्। वर्षमा एकपटक गाउँघर फर्कन्छन्। ‘वार्षिक परीक्षा सकेपछि वर्षमा एकफेर मात्र गाउँ जान्छौं। १०, १५ दिन बसेर फेरि स्कुल फर्कन्छौं’, छिरिङ भन्छिन्, ‘नर्सरीमा भर्ना भएर पढ्न थालेको हो। अहिले १० कक्षामा पुगेँ। गाउँमा धेरै बस्न पाएको छैन।’ गाउँमा, बा–आमासित बस्न मन लागे पनि पढाइका कारण नमिल्ने उनको पीडा छ।
चुमनुब्री २ ल्हीका निमा वाङ्ग्यालका ६ सन्तान छन्। १९ वर्षको एक सन्तान काठमाडौंमा १२ कक्षा पढ्दैछ। १० वर्ष र ८ वर्षका दुईजना पनि काठमाडौंमा पढ्दैछन्। १६ वर्ष, १३ वर्षका दुई सन्तान भारतमा पढ्छन्। तीन वर्षको काखे बालक मात्र साथमा छ।
‘इन्डियामा पढेका दुईजनालाई महिनावारी १८ हजारका दरले फिस पठाउनुपर्छ। अरू त नेपालमै स्पोन्सर खोजेर पढेका छन्’, उनी भन्छन्, ‘बालबच्चा काखमा नहुँदा नरमाइलो त हुन्छ नि। तर के गर्ने, छोराछोरी पढाउनुपर्छ भन्छन्। पढाउनका लागि गाउँमा स्कुल छैन।’ गाउँका सबैको अवस्था यस्तै रहेको उनको भनाइ छ।
शिक्षाको महत्त्वबारे जानकारी पाएपछि गाउँलेले दुःख सहेर पनि छोराछोरी पढ्न पठाउन थालेको उनको भनाइ छ। ‘पढेकाले राम्रो गरेका छन्। नपढेकाको जिन्दगी हाम्रैजस्तो भीरपाखामा ढुंगामाटो खेलाएर, याकचौंरीसित खेलेर बित्ने भयो’, उनी भन्छन्, ‘त्यसैले आफूले दुःख सहेर, ढुंगाको मुटु बनाएर पनि छोराछोरीलाई चार, पाँच वर्षको भएपछि सहरतिर लगेर पढ्न छाड्ने गरेका छौं।’
सहरमा पढाउन गुम्बाका लामाले विदेशी दाता (स्पोन्सर) खोजिदिने गर्छन्। ‘स्पोन्सर पाइयो भने आफूले पैसा तिर्नु परेन। नपाउञ्जेलसम्म त तिर्नु परिहाल्यो’, उनी भन्छन्, ‘स्पोन्सरको सहयोगमा पढेर भविष्यमा राम्रो प्रगति गरेकाहरूले फेरि अरू सानालाई स्पोन्सर गर्ने गर्छन्।’
गाउँमा विद्यालय नभएपछि चुमनुब्री गाउँपालिकाका अधिकांश बालबालिका पढ्नका लागि स्पोन्सर खोज्दै सहर जान बाध्य छन्। काखेबाहेक सबै बालबालिका सहर गएपछि गाउँहरू बालबालिकाविहीन भएका छन्। ‘गाउँमा बालबालिका नभएको १० वर्ष जति भयो’, अर्का स्थानीय ल्हाक्पो छेवाङ भन्छन्, ‘पहिले गाउँमा जुङ प्रावि भन्ने सरकारी स्कुल थियो। होप एलायन्स भन्ने संस्थाले भवन पनि बनाइदिएको थियो। केटाकेटीहरूलाई खाजा पनि खुवाउँथ्यो। पढ्ने उमेर कटेका तर, पढ्न नपाएकाहरूलाई साँझ बिहान पढाइदिन्थ्यो तर पछि के भयो कुन्नि, स्कुल पनि बन्द भयो, संस्था पनि गयो।’ गाउँमा स्कुले बालबालिका देख्न नपाइने उनको भनाइ छ। ल्हीमात्र होइन, चुमनुब्री १ साम्दो, वडा नं. २ ल्हो, स्यो, ल्ही, टोङ, राङ्च्यू, ङिन, छ्योकम, भर्जम, वडा नं. ४ को प्रोक, नाम्रुङ, क्वाक, छाक, वडा नं. ५ को बिही, क्य्राक, ड्याङ, राना, वडा नं. ६ को लोक्पा, सिम्चेत, चुम्चेत, खारगुम्बालगायतका दर्जनौँ गाउँमा बालबालिका छैनन्। ‘बुवा–आमा गुम्बामा छन्। छोराछोरी पढ्न सहर गएका छन्। घरमा त हामी लोग्नेस्वास्नी मात्र हो’, स्योका ४३ वर्षका नाम्ग्याल लामा भन्छन्, ‘हाम्रो मात्र होइन, सबैको त्यस्तै हो।’
चुमनुब्री गाउँपालिकाको शिक्षा शाखाको तथ्यांकमा पालिकाभरि २१ वटा विद्यालय सञ्चालनमा रहेको देखिन्छ। ‘ईसीडीसमेत गरी हाम्रो पालिकामा २१ वटा विद्यालय सञ्चालनमा रहेको देखिन्छ’, शाखा प्रमुख बलराम पाठक भन्छन् ।
प्रतिक्रिया दिनुहोस !